कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रतिनिधिसभा नियमावली कार्यान्वयनमा आलटाल, विपक्षी दलको विरोध

कांग्रेस सांसद रिजालले भने, 'हामीले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न कहिले गर्न पाइन्छ ?' 
मकर श्रेष्ठ

काठमाडौँ — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाले आफ्नै नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न आलटाल गरेको छ । प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न सकिने व्यवस्था भएपनि प्रतिनिधिसभाको आइतबारको बैठकमा उक्त विषयको कार्यान्वयन नभएको हो ।

प्रतिनिधिसभा नियमावली कार्यान्वयनमा आलटाल, विपक्षी दलको विरोध

प्रधानमन्त्री वा उनका कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा सांसदले प्रश्न सोध्नका लागि सभामुखले समय दिने नियमावलीमा व्यवस्था छ ।


नियमावलीको नियम ५६ कुल्चँदै सभामुख कृष्णबहादुर महराले शून्य समय सकाएर विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीसँग प्रश्न गर्ने नियमावलीको व्यवस्था कार्यान्वयन नगरेको भन्दै प्रमुख विपक्षी दलका सांसद् मिनेन्द्र रिजालले विरोध जनाए । 'आज असारको पहिलो बैठक बसिरहेको छ, नियममावली अनुसार आजको बैठकमा हामीले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्न सकिन्थ्यो । खोइ नियमावली कार्यान्वयन भएको ?' उनले भने, 'हामीले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न कहिले गर्न पाइन्छ ? जनताको अधिकार संसद्ले प्रयोग गर्न पाउनुपर्छ ।'


सभामुख महरालेले उनको प्रश्नको जवाफ दिँदै 'यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण भएको हुनुपर्छ । कार्यव्यवस्था समिति बैठक राखेर छिटोभन्दा छिटो नियमावलीमा भएको व्यवस्था अघि बढाइने छ ।'


हेर्नुहोस् नियमावलीको व्यवस्था

आजको शून्य समयमा काठमाडौं महानगरपालिकाले साइकलमा तरकारी र फलफूल बिक्री गर्ने व्यक्तिहरुको साइकल जफत गरेको भन्दै सांसदले विरोध जनाएका छन् । 'काठमाडौं महानगरपालिकाले २५ हजार मधेसीलाई खेदिरहेका छन्, जो गल्ली गल्लीमा तरकारी बेच्थे । उनीहरुका साइकल जफत गरिरहेका छन्' फोरमका सांसद प्रदीप यादवले भने, 'मधेसका गरिब जनता आफ्नो जीविका चलाउन काठमाडौंमा आएका हुन्, लखेट्ने काम नहोस् ।'


अन्य सांसदले प्रधानमन्त्रीको चीन भ्रमणको बेला विभिन्न नाका खोल्ने सम्झौता गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी ओली मंगलबार चीन भ्रमणमा जाने कार्यक्रम छ ।

प्रकाशित : असार ३, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?