३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रियसभा सांसदको कार्यकाल भोलि गोलाप्रथाबाट निर्धारण हुने  

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रियसभाका ५९ जना सांसदको कार्यकाल सोमबार हुने गोलाप्रथाबाट निर्धारण हुँदैछ । गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो ।

राष्ट्रियसभा सांसदको कार्यकाल भोलि गोलाप्रथाबाट निर्धारण हुने  

राष्ट्रियसभामा सदस्यको पूर्ण कार्यकाल छ वर्षको हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा स्थायी सदन भएकोले पदावधि सकिने सदस्यको स्थानमा पुन: निर्वाचन भई सदस्य थपिँदै जानेछन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको भाग्य पनि गोलाप्रथापले निर्धारण गर्नेछ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले प्रतिनिधित्व गरेका ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीन सदस्य छन् ।

प्रदेशबाट प्रतिनिधित्व गरेका आठमध्ये खुला तीन, महिला तीन, दलित एक र पिछडिएका वा अपाङ्गता भएका मध्येवाट एक जनाको प्रतिनिधित्व छन् । राष्ट्रियसभा नियमावली अनुसार राष्ट्रियसभामा प्रतिनिधित्व हुने सबै क्लस्टरको समान प्रतिनिधित्व कायम हुने गरी गोलाप्रथा हुनेछ । क्लस्टरअनुसार नै चरणबद्ध रूपमा गोला हुनेछ । राष्ट्रियसभाले गोलाप्रथाको प्रक्रियाको जानकारी दिन आइतबार पत्रकार सम्मेलन गरेको थियो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले गोलाप्रथा गर्दा क्लस्टरमा रहेका सदस्यको वर्णानुक्रमअनुसार गोला तान्ने व्यवस्था गरेको जानकारी दिए । ‘यो निर्वाचनको एउटा अंग हो । पारदर्शी रुपमा गोलाप्रथा हुनेछ,’ उनले भने, ‘गोलाप्रथालाई त्रुटिरहित बनाउने लागि परेका छौं ।’

गोला तान्न सदस्य आफैं उपस्थित नभएपनि उसले जिम्मेवारी दिएको व्यक्ति उपस्थित हुन सक्ने छन् । त्यस्ता व्यक्ति पनि नभएमा संसद् सचिवालयले सचिवालयकै कर्मचारी मार्फत गोला तानेर कार्यकाल यकिन हुने उनले बताए ।

प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना महिला सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना दलित सदस्यको अर्को समूह बनाइएको छ । त्यस्तै सबै प्रदेशबाट निर्वाचित सातजना अपांगता भएका वा अल्पसंख्यक सदस्यको समूह छ ।

प्रत्येक प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको एउटा समूह र राष्ट्रपतिबाट मनोनीत तीनजना सदस्यलाई अलग–अलग समूहमा विभाजन गरिएको छ ।

संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार सोमबार साढे ११ बजे हुने गोलाप्रथाको सुरुवात महिला सदस्यको समूहबाट हुनेछ । महिला समूहका तीनमध्ये एकजनाको पदावधि २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ ।

दलितका सातमध्ये २ जनाको दुई वर्ष, २ जनाको चार वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष कायम हुनेछ । अपांगता भएकाहरूमध्येबाट पनि २ जनाको दुई वर्ष, २ जनाको चार वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष पदावधि कायम हुनेछ । शून्य वर्षको गोला तान्ने अपांगता र दलित समूहका दुईको पुन: गोलाप्रथा गरेर एक जनाको चार र अर्कोको ६ वर्ष पदावधि कायम हुनेछ ।

हरेक प्रदेशबाट निर्वाचित तीनजनाको अन्य सदस्यको समूहबाट एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ । राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यमध्ये एक जनाको २, एक जनाको ४ र एक जनाको ६ वर्ष कायम हुनेछ ।

प्रकाशित : असार ३, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?