१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानमन्त्रीको पुर्ख्यौली गाउँ विकासमा पछि

चन्द्र कार्की

तेह्रथुम — केन्द्रमा पहुँच नहुँदा विकासमा पछि परेको गुनासो गरिरहने जिल्लावासी आफ्नै जिल्लामा जन्मिएका केपी ओली दुई पटकसम्म प्रधानमन्त्री भइसक्दा पनि उत्साहित हुन सकेका छैनन् ।

प्रधानमन्त्रीको पुर्ख्यौली गाउँ विकासमा पछि

ओली देशको प्रमुख कार्यकारी प्रधानमन्त्री भएयता एकपटक पनि आफ्नो जन्म थलो तेह्रथुम टेकेका छैनन् ।


ओली प्रधानमन्त्री बनेपछि उनी जन्मे हुर्केको गाउँ इवासँगै समग्र जिल्लाको विकास हुनेमा जिल्लावासी आशावादी थिए । तर प्रधानमन्त्री भएयता ओलीले एकै पटक पनि जिल्ला टेकेका छैनन् । तत्कालीन आठराई पोखरी गाउँ पञ्चायत वडा ५ हाल आठराई गाउँपालिका इवा खानीगाउँमा २००८ साल फागुन ११ गते जन्मिएका ओली पहिलोपटक प्रधानमन्त्री हुँदा जिल्लाभर खुसियाली छाएको थियो ।


नागरिक समाज तेह्रथुमका अध्यक्ष तथा तत्कालीन इवा गाविसका निवर्तमान उपाध्यक्ष तुलसी संग्रौला ओलीले जिल्लाको विकासमा खासै ध्यान नदिए पनि आशचाहिं अझै नमरी सकेको बताए ।

राजनीतिको केन्द्रभागमा रहेका ओली देशको दुईपटकसम्म प्रमुख कार्यकारी प्रधानमन्त्री बने पनि आफू जन्मिएको जिल्लालाई भने फर्किएर समेत नहेरेकोमा आफू निकै दुखित भएको संग्रौलाले बताए । ओलीले जिल्लालाई नहेरे पनि देशले झेलिरहेको वर्तमान समस्याबाट निकास पाउनेमा उनी ढुक्क छन् ।


ओली देशको प्रधानमन्त्री बन्दै गर्दा जिल्लावासीले तेह्रथुमको नाता काठमाडौंसँग पहिलेको तुलनामा नजिकिने आशा गरेका थिए । केन्द्र सँग बलियो र सीधा पहुँच नहुँदा जिल्लाको विकास धिमा गतिमा हुने गरेको जिल्लावासीले जहिल्यै पनि गुनासो गरिरहन्थे ।

ओली प्रधानमन्त्री भएसँगै त्यो दूरी समेत नजिकिने आशा जिल्लावासीको थियो ।


आफ्नै जिल्लाका प्रभावशाली कम्युनिस्ट नेता ओली प्रधानमन्त्री भएपछि देशको विकासले गति लिने धेरैले आशा गरेका थिए । तर आफू जन्मिएको ठाउँलाई प्रधानमन्त्री ओलीले चटक्कै माया मारेको आठराई क्षेत्रका अगुवा भोला काफ्लेले बताए ।

‘प्रधानमन्त्रीज्युको जिम्मेवारी धेरै भए पनि आफू जन्मिएको ठाउँको विकासमा त पक्कै ध्यान दिनुुपर्ने हो,’ पेसाले शिक्षक रहेका छथर गाउँपालिका फाक्चामाराका भुपाल कार्कीले भने ।


अत्यन्त चलाख र हक्की स्वाभावका ओलीसँग देशमा रहेका सबै राजनीतिक शक्तिलाई मिलाएर लैजाने क्षमता भने रहेको उनले बताए । देशले आवश्यकता महसुस गरेका ओली प्रधानमन्त्री भएकाले देशले अब विकासको गति लिने उनको भनाइ छ ।

ओली दुई पटकसम्म प्रधानमन्त्री भए पनि उनी जन्मीहुर्केको आठराई क्षेत्र र उनले प्रारम्भिक शिक्षा आर्जन गरेको तत्कालीन प्रणामी मिडिल स्कुलको स्वरूप कत्ति पनि फेरिन सकेको छैन । हाल उक्त विद्यालय प्रणामी मावि भएको छ ।


जिल्लाका एक जना नेकपाका नेताका अनुसार ओली र जिल्ला तहका पार्टीकै नेताहरू बीचको ‘दुई लाइन संघर्ष’ का कारण ओलीको तेह्रथुम साइनोको टाढिएको हो । यहाँबाट प्रतिनिधित्व गर्ने अधिकांश तत्कालीन एमालेका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर थिए ।

पछिल्लोपटक उनी पार्टीको अध्यक्ष बन्दै गर्दा प्रतिनिधिका रूपमा तेह्रथुमबाट गएका धेरै नेताले उनलाई मत नहालेको तत्कालीन एमालेका एक नेताले नाम नबताउने सर्तमा वताए । ओलीको राजनीतिक साइनो झापामा बढी भएकाले पनि तेह्रथुमलाई नहेरेको ती नेताले दाबी छ ।

प्रकाशित : असार ३, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?