कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वसूचना प्रणाली जडान

दोलखा — जब बर्खा लाग्छ, उत्तरी दुर्गम भेग सुन्द्रावतीका सीमान्तकृत थामी समुदायका अगुवा बाढीपहिरोको जोखिम टर्ने विश्वासमा भूमे देउताको पूजा गर्छन् । पिठोका मूर्तिलाई बारीको डिलमा राखेर भूमेपूजा गरिँदा पहिरोको विपत् टर्ने जनविश्वास छ । तर, करिब सवा सय थामी परिवारलाई बर्सेनि पहिरोले सताउन छाडदैन ।

पूर्वसूचना प्रणाली जडान

दु:ख पर्दा कुलदेउता सम्झने परम्परागत मान्यताबमोजिम बर्खामा भूमेपूजा गर्ने गरिएको अगुवा मंगले थामी बताउँछन् । ‘भूमेपूजामा भाले पनि बलि दिइन्थ्यो, भूकम्पपछि भने पैसा अभावले त्यसो गर्न छाड्यौं,’ अर्का स्थानीय हस्तबहादुर थामीले भने ।

कतिपयले पहिरोको पिरलोले बस्ती नै छाडिसके । तर, बसाइँ जाने उपाय नभएकाहरूले पहिरो रोकथामको आधुनिक विकल्प सोधखोज गर्न थाले । लामो हारगुहारपछि उनीहरूले एउटा नमुना परियोजना पाएका छन् । अध्ययनले उक्त क्षेत्रको बस्ती जोखिममा रहेको देखाएपछि यसै वर्षदेखि पहिरोको पूर्वसंकेत दिने सूचना प्रणाली जडान गरिएको हो । यो प्रणालीले स्थानीयलाई पहिरो आउनुअगावै सुरक्षित स्थलमा जान पूर्वसूचना दिने भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक अखिलेश्वरलाल कर्णले बताए । ‘पहिरोको पूर्वसूचना दिने यो अभ्यास देशमै पहिलोचोटि लागू गरिएको हो,’ उनले भने, ‘जमिनभित्र पानी चलेको, भूक्षय हुन लागेको र पहाड खस्न लागेको सूचना पहिले नै दिन सक्ने प्रविधि यहाँ सफल भए देशभर लागू गरिनेछ ।’

यो प्रणाली जडानपछि थामी बस्तीका १ सय १४ घरका करिब ५ सय व्यक्तिलाई पहिरोको जोखिमबाट बचाउन सक्ने विश्वास राखिएको छ । भूकम्प गएको वर्ष २०७२ को असारमा पहिरोले तीनवटा टहरा बगाएपछि गाउँलेले सुरक्षा खोज्दै हारगुहार थालेका थिए । टहरा पुरिए पनि बाँच्न सफल डुकुमाया थामी भन्छिन्, ‘पहिरो आइरहन्छ, दु:ख दिइरहन्छ । तर जाने ठाउँ नभएकाले यहीँ बस्दै आएका छौं ।’ ठूलो पानी पर्नासाथ पहिरो जाने डरमा रातभर बाहिर निस्केर हेर्ने गरेको सम्झन्छन् गणेश थामी । ‘अब भने मेसिन जडान गरिएकाले ढुक्कले निदाउन पाइएला,’ उनले भने, ‘साइरन बज्नासाथ भाग्नु भनेका छन् ।’

वन मन्त्रालयअन्तर्गत जलाधार तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको साझेदारीमा सुरु भएको कार्यक्रमलाई पाइलट प्रोजेक्ट भनिएको छ । संगठनका अधिकृत सुवासचन्द्र दाहालले पहिरोको सूचना दिने प्रणाली सुन्द्रावती क्षेत्रमा देशमै पहिलोपटक जडान गरिएको दाबी गरे । यसअघि देशमा बाढीको पूर्वसूचना प्रणाली जडान गरिए पनि पहिरोको थिएन । यस्तै प्रणाली यूएसएडको सहयोगमा नुवाकोटमा पनि सञ्चालन गर्न लागिएको छ ।

उक्त प्रविधिअन्तर्गत सुन्द्रावतीका पहिरोको जोखिम रहेका चार स्थानमा सेन्सर उपकरण जोडिएका छन् । सेन्सरले जमिन चल्ने अवस्थाबारे मुख्य उपकरणलाई अलर्ट गराउँछ । त्यसपछि कति जमिन चलमलायो त्यसका आधारमा साइरन बज्छ । पहिलो साइरनले जमिन कति चल्यो भनेर ‘अलर्ट’ रहन सूचना दिन्छ । दोस्रोपटक बजेपछि सुरक्षित स्थानमा जानुपर्छ । साथै, उपकरणमार्फत जमिनको चाल, वर्षा मापन र पहिरोको गतिबारे वडापालिका, स्थानीय जिम्मेवार व्यक्ति, प्रहरी–प्रशासनलगायतलाई एसएमएस पठाइन्छ । कार्यक्रमअन्तर्गत बस्ती जोगाउन झन्डै डेढ किलोमिटरजतिमा धाँजा पुरिएका छन् ।

प्रकाशित : असार ४, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?