कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

राष्ट्रिय सभा सदस्यको पदावधि आज तोकिँदै

सबै क्लस्टरको समान प्रतिनिधित्व कायम हुने गरी चरणबद्ध रूपमा गोलाप्रथा गरिने
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहाल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको पनि सांसद पदको कार्यकाल आजै निर्धारण हुने
मकर श्रेष्ठ

काठमाडौँ — संघीय संसद्अन्तर्गत पहिलो राष्ट्रिय सभाका सदस्यहरूको पदावधि सोमबार गोलाप्रथाद्वारा निर्धारण हुँदै छ । सभाका ५९ सांसदमध्ये गोलाप्रथाबाट १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्ष पदावधि निर्धारण गरिनेछ ।

राष्ट्रिय सभा सदस्यको पदावधि आज तोकिँदै

राष्ट्रिय सभाका सदस्यको पूर्ण कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था भए पनि यो स्थायी सदन भएकाले अविच्छिन्न राख्न संविधानले पदावधि सकिने सदस्यको स्थानमा पुन: निर्वाचन भई सदस्य थपिँदै जाने व्यवस्था गरेको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहाल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडासमेतको सांसद पदको कार्यकाल सोमबार निर्धारण हुनेछ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले प्रतिनिधित्व गरेका ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्य छन् । प्रदेशबाट प्रतिनिधित्व गरेका ८ मध्ये खुला ३, महिला ३, दलित १ र पिछडिएका वा अपांगता भएकामध्येबाट एक जनाको प्रतिनिधित्व छ ।

राष्ट्रिय सभा नियमावलीअनुसार सभामा प्रतिनिधित्व हुने सबै क्लस्टरको समान प्रतिनिधित्व कायम हुने गरी गोलाप्रथा गरिनेछ । क्लस्टरअनुसार नै चरणबद्ध रूपमा गोला तान्ने काम हुनेछ । गोलाप्रथाबारे जानकारी दिन राष्ट्रिय सभाले आइतबार गरेको पत्रकार सम्मेलनमा सभाका सचिव राजेन्द्र फुयालले गोलाप्रथा गर्दा क्लस्टरमा रहेका सदस्यको वर्णानुक्रमअनुसार गोला तान्ने व्यवस्था गरिएको बताए । उनले गोलाप्रथाको प्रत्यक्ष प्रसारण गरिने जानकारी पनि दिए ।

गोला तान्न सदस्य आफैं वा उपस्थित हुन नसके उसले जिम्मेवारी तोकेको व्यक्ति उपस्थित हुन सक्छन् । त्यस्ता व्यक्ति पनि नभए संसद् सचिवालयले सचिवालयकै कर्मचारीमार्फत गोला तानेर कार्यकाल यकिन गर्न सक्छ । गोलाका लागि पाँच समूह बनाइएको छ । प्रत्येक प्रदेशबाट निर्वाचित ३ जना महिला सदस्यको एउटा समूह, सबै प्रदेशबाट निर्वाचित ७ जना दलित सदस्यको अर्को समूह, सबै प्रदेशबाट निर्वाचित ७ जना अपांगता भएका वा अल्पसंख्यक सदस्यको अर्को समूह छ । प्रत्येक प्रदेशबाट निर्वाचित ३ जना अन्य सदस्यको एउटा समूह र राष्ट्रपतिबाट मनोनीत ३ जना सदस्यको एउटा गरी अलग–अलग समूह विभाजन गरिएको छ ।

पदावधि निर्धाण कसरी हुन्छ ?
सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार सोमबार साढे ११ बजे हुने गोलाप्रथाको सुरुवात महिला सदस्यको समूहबाट हुनेछ । महिला समूहका ३ मध्ये एक जनाको पदावधि २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ । त्यस्तै, ७ जना दलित सांसदमध्ये २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष कायम हुनेछ । अपांगता भएकामध्येबाट पनि २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष पदावधि कायम हुनेछ । शून्य वर्षको गोला तान्ने अपांगता र दलित समूहका २ जनाको पुन: गोलाप्रथा गरेर एक जनाको ४ र अर्कोको ६ वर्ष पदावधि कायम हुनेछ ।

हरेक प्रदेशबाट निर्वाचित ३ जनाको अन्य सदस्यको समूहबाट एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ । राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये एक जनाको २, एक जनाको ४ र एक जनाको ६ वर्ष कायम हुनेछ । गोलाप्रथा व्यवस्थित गर्न निर्वाचन आयोग, कानुन मन्त्रालयका प्रतिनिधिसमेत सहभागी छुट्टै समिति बनाइएको छ ।

कसरी तानिन्छ गोला ?
गोलाप्रथा गर्न प्लास्टिकका भाँडा र दुई टुक्रा पार्न मिल्ने हरियो रङको बलको व्यवस्था गरिएको छ । बलभित्र राखिने सेतो रङको कागजको चिटमा राष्ट्रिय सभा सदस्यको पदावधि कम्प्युटर टाइप गरेर शून्य, दुई, चार र छ वर्ष लेखिएको हुन्छ । प्रिन्ट गरिएको कागजलाई बलभित्र राखिन्छ । उक्त बललाई समूहअनुरूपको छुट्टाछुट्टै बाकस वा बट्टामा राखिन्छ ।

एउटा समूहमा कति जना सदस्य छन्, त्यति नै संख्यामा पदावधि लेखिएको गोला बाकसमा राखिन्छ । त्यसपछि कर्मचारीले बाकस बेस्सरी हल्लाउँछन् । बाकसमा भएको बल एउटा समूहमा रहेका सदस्यहरूलाई वर्णानुक्रमअनुसार पालैपालो तान्न लगाइन्छ । आफूले तानेको बल महासचिव वा उनले तोकेको व्यक्तिलाई दिनुपर्ने हुन्छ । गोलामा भएको चिटलाई सबैका अगाडि प्रदर्शन गरिन्छ । प्रदर्शनपछि गोला टिप्ने सदस्यको नाम त्यही चिटमा लेखिन्छ । सबै सदस्यले यसरी नै गोला तान्नेछन् ।

गोलाप्रथा सकिएपछि संसद् सचिवालयले सबै सदस्यको पदावधि कायम भएको विवरण सार्वजनिक गर्नेछ । सचिवालयका महासचिवले यसको जानकारी मन्त्रिपरिषद् तथा निर्वाचन आयोगलाई दिनेछन् ।

प्रकाशित : असार ४, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?