१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गौतम बुद्ध विमानस्थलकाे मुअाब्जा नपाएकाे भन्दै स्थानीय आन्दोलित 

माधव ढुंगाना

भैरहवा — समयमै मुअब्जा उपलब्ध नगराईएको भन्दै भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहणमा परेका स्थानिय वासिन्दा आन्दोलित भएका छन् ।

गौतम बुद्ध विमानस्थलकाे मुअाब्जा नपाएकाे भन्दै स्थानीय आन्दोलित 

आयोजनाको निर्माणाधिन धावनमार्गमा सोमबार बिहान सयौको संख्यामा जुटेका स्थानियले निर्माण कार्यमा प्रयोग गरिएका सबै उपकरण सञ्चालनमा रोक लगाएर आयोजनाको काम ठप्प पारेका छन् । मुअब्जा वितरणको कार्य सुरु नभएसम्म आयोजनाको काम अघि बढ्न नदिने चेतावनी उनीहरुले दिएका छन् ।


आन्दोलनमा सरिक सिद्धार्थनगर नगरपालिका १० का वडा अध्यक्ष विजयनाथ धवलले सरकारले तीन वर्षअघि जमिन अधिग्रहण गरेपनि सबैलाई मुअब्जा उपलब्ध नगराएको र मुअब्जा उपलब्ध गराउने प्रकृया झन्झटिलो भएकाले किसानले सास्ती व्यहोर्नु परेको आरोप लगाए ।


उनका अनुसार, अधिग्रहणमा परेको जमिनको सरकारले सबैजनालाई एकै पटक मुअब्जा नदिएर थोरै थोरै संख्यामा दिदा मुअब्जा पाउनका लागि पालो कुरेर वर्षौंदेखि पर्खिरहनु परेको छ । मुअब्जा पाउनका लागि पालो आएपछिपनि नापी, मालपोत लगायतका निकायमा किसान आपैँmले कागजी प्रकृया गराउनु पर्ने बाध्यता छ ।


तीन वर्षसम्मपनि मुअब्जा नपाउँदा त्यसबेला निर्धारण गरिएको जग्गाको मूल्यले अन्यत्र जमिनको मूल्य बढेकाले खरिद गर्न नसक्ने अवस्थामा पुगिएको जनाउदै उनीहरुले तीन वर्षअघि कायम गरिएको जग्गाको मूल्यमा पुर्नमुल्यांकन गरिनुपर्ने माग गरेका छन् ।


यसैगरी मुअब्जा उपलब्ध गराईदा सरकारले असुल्ने गरेको लाभकर खारेज गरिनु पर्ने माग उनीहरुको छ । किसानले कुनै लाभका लागि आफ्नो जमिन विक्री गरेको नभएर सरकारको आवश्यकताले जमिन अधिग्रहण गरिएपछि लाभकर लिनु न्योचित नभएको भनाई आन्दोलित किसानको छ ।


गौतमबुद्ध अन्तर्राष्ट्रि्रय विमानस्थल आयोजना प्रमुख ओम शर्माले मुअब्जाका लागि अर्थ मन्त्रालयबाट पछिल्लो पटक निकासा भएको ५ अर्ब रुपैयाँ आयोजनाको खातामा अझै नआएकाले मुअब्जा उपलब्ध गराउन नसकिएको बताए । उक्त रकम उपलब्ध हुनासाथ ४ सय २५ जनालाई मुअब्जा वितरण गर्ने तयारी पुरा गरिएको उनले जनाए ।


आयोजनाका अनुसार, जग्गा अधिग्रहणमा परेका २ हजार २ सय घर परिवारमध्ये अहिलेसम्म ८ सय जति घरपरिवारलाई मुअब्जा वितरण गरिएको छ । कूल २३ अर्ब रुपैयाँ मुअब्जा उपलब्ध गराईनु पर्नेमा ६ अर्ब रुपैयाँ उपलब्ध गराइएको छ । ५ अर्ब रुपैयाँ आउने क्रममा छ । मुअब्जाका लागि उपलब्ध गराईएको रकम सकिएपछि मुअब्जा वितरण कार्य गत फागुनदेखि रोकिएको छ ।

प्रकाशित : असार ४, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?