१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीन जाने अघिल्लो दिन प्रधानमन्त्रीको भनाइ– स्वाभिमानलाई केन्द्रमा राखेर समझदारी गर्छु

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर चीनसँग सहमति र समझदारी हुने स्पष्ट पारेका छन् । पाँच दिने चीन भ्रमणमा जाने अघिल्लो दिन सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणमा नेपालको हित र स्वार्थका पक्षमा आफ्नो दृष्टिकोणा राख्ने पनि बताए ।

चीन जाने अघिल्लो दिन प्रधानमन्त्रीको भनाइ– स्वाभिमानलाई केन्द्रमा राखेर समझदारी गर्छु

‘सबै सम्झौता, समझदारी मुलुकको बृहत्तर हित र राष्ट्रको स्वाभिमानलाई केन्द्रमा राखेर हुनेछ,’ उनको भनाइ थियो, ‘मुलुकको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर गर्नेछु ।’


प्रधानमन्त्रीले एक चीन नीतिमा मुलुकको प्रतिबद्धता दोहोर्‍याउँदै चीनविरुद्धका कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर गर्न नदिने बताए । ‘भ्रमणमा छिमेकीका जायज चासो चिन्ताबारे ध्यान दिनेछौं,’ उनले भने ।


चिनियाँ राष्ट्रपति, चिनियाँ प्रधानमन्त्रीलगायतसँगको भेटमा नेपालको हित र दृष्टिकोणा राख्ने जानकारी दिंदै प्रधानमन्त्री ओलीले चिनियाँ लगानी नेपालमा भित्र्याउनेबारे, नेपालमा पर्यटन प्रबद्र्धन गर्नेबारे पनि छलफल हुने जानकारी दिए ।


चीन लामो समयदेखिको पुरानो मित्र भएको उल्लेख गर्दै ओलीले समस्यारहीत सम्बन्ध रहेको चीनले नेपाललाई सम्मान गरेको बताए । उनले आफ्नो भ्रमणले तीन वर्षअघिको भ्रमणमा भएको मित्रतालाई थप गाढा बनाउने जिकिर गरे । आफ्नो भ्रमणमा सहयोग, सहकार्य र लगानीको विषयमा कुरा जानकारी दिए ।


प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व लिएपछि छिमेकीसँगको सम्बन्धलाई विशेष जोड दिइरहेको स्पष्ट पारे । ‘यसैकारण सरकार बन्नेवित्तिकै भारत भ्रमणमा गएँ,’ छिमेकीसँगको सम्बन्ध सकारात्मक ढंगले विकास हुनेक्रममा तीब्रता आएको बताउँदै भने, ‘सुदृढ सम्बन्ध बनेको छ, लक्षणहरु देखिएका छन् ।’


भ्रमणमा भएको सहमतिबमोजिम तराईको डुबानको समस्यालाई लिएर संयुक्त टोली तराईमा जाने तयारी रहेकाले त्यसले समाधान गर्ने अपेक्षा राखेको प्रधानमन्त्रीको भनाइ थियो । प्रबुद्ध समूहले १९५० को सन्धि पुनरावलोकनको गृहकार्य तीब्र बनाएको, विराटनगरको भारतीय फिल्ड कार्यालय हटेको, एयर रुट ४ वटा थपिएको, काठमाडौं–वीरगन्ज रेल वे लाइन अध्ययनका लागि भारतीय टोली काठमाडौं आएको प्रधानमन्त्रीले जानकारी दिए । ‘माननीय सदस्यहरुलाई अनौठो लाग्ला सरासर कसरी भइरहेको छ, पारस्पिरक लाभ बढाउने कुरामा भइरहेको छ,’ उनले भने ।

भारतीय प्रधानमन्त्री नेपाल आउदा भारतीय सुरक्षाकर्मी ल्याएको विषयलाई गलत ढंगले उठाएको उल्लेख गर्दै ओलीले आफू भारत जाँदा पनि सादा पोसाकमा सुरक्षाकर्मीहरु लगेको जानकारी दिए ।

प्रकाशित : असार ४, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?