कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाले भने,'अन्तरघातिलाई कारबाही गर्छु'

रमेशकुमार पौडेल

चितवन — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रकै घात अन्तरघातका कारण कांग्रेसले २५ सिटमा जित्दा जित्दै पनि हारेको बताएका छन् । सोमबार भरतपुरमा नेपाल दलित संघ चितवनले राखेको प्रशिक्षण कार्यक्रममा देउवाले भने,‘यस्ता अन्तरघातिलाई पार्टीमा कहिलेसम्म राख्ने, सधै अन्तरघात भए पार्टीले कसरी जित्छ ? ’ 

देउवाले भने,'अन्तरघातिलाई कारबाही गर्छु'

संघीय संसद र प्रदेशसभाको चुनावमा तत्कालीन एमाले र माओवादी दुई पार्टी एक भएर चुनावमा भिडेको तर कांग्रेस पार्टी एउटै भएपनि दुई पार्टी जसरी चुनाव लडेको देउवाले बताए । ‘अनि यसरी पनि चुनाव जितिन्छ त ? मान्छेहरु आफू चुनाव जित्न सक्दैनन् दोष मलाई दिन्छन् । के कारणले चुनाव हारे भनेर पत्तो नपाइ दोष मलाई दिने ? यो त हद हुन्छ नि यार’ देउवाले भने ।


आफूलाई मात्रै दोष दिएर पार्टी चल्नेवाला छैन भन्ने भनाइ देउवाको थियो । ‘अब अन्तरघातिलाई कारबाही गर्छु । पार्टीलाई एक बनाउँछु र आउँदो चुनावमा पहिलो स्थानमा पार्टीलाई पुर्‍याएरै छाड्छु’ सभापति देउवाको प्रतिज्ञा थियो ।


सोही कार्यक्रममा सहभागि पार्टीका महामन्त्री शसांक कोइरालाले पनि पार्टी एक हुनुपर्ने कुरामा जोड दिए । पार्टी भित्रको तिक्तता मेटिए कुनै पनि शक्तिले कांग्रेसलाई हराउन नसक्ने उनले बताए ।


‘जे जसरी हुन्छ अब पार्टीलाई एक बनाउनु आवश्यक छ । भगवान् अगाडि आएर तेरो के इच्छा छ भनेर मलाई सोधे भने पनि म अरु कुरा भन्दिनँ, यो सम्वृद्धि पनि माग्ने छैन । म भगवानालाई यो पार्टी एक बनाइदेउ भन्ने पक्षमा छु’ महामन्त्री कोइरालाले भने ।


दुई पार्टी एक भएर चुनाव लडेका बेलामा शेरबहादुर नभएर अरु जो सुकै व्यक्ति पार्टीको नेता भएको भए पनि चुनावी नतिजा यस्तै हुने पार्टीका सहमहामन्त्री प्रकासशरण महतले बताए ।


‘अलि तयारी गरेको भए संघीय संसद र प्रदेशको चुनावमा पनि हाम्रो पार्टीको माओवादीसँग चुनावी तालमेल हुने अवस्था थियो । स्थानीय चुनावमा भरतपुरमा भएको तालमेलको विषय उठाएर गठबन्धन गर्नै हुँदैन भनेर राष्ट्रिय बहस केही नेताले चलाए । त्यसपछि प्रचण्ड एमालेसँग गए । मिलेर चुनाव लडेपछि हाम्रो अवस्था यही हुनेवाला थियो’ महतले भने ।

प्रकाशित : असार ४, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?