कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विख्यात स्नायु शल्य चिकित्सक डा. देवकोटाको निधन

अतुल मिश्र

काठमाडौँ — प्रख्यात स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको सोमबार निधन भएको छ । केही समयदेखि पित्त नलीको क्यान्सरबाट पीडित ६५ वर्षीय देवकोटाको उपचारका क्रममा सोमबार साँझ ५.३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उक्त अस्पताल डा. देवकोटा आफैंले स्थापना गरेका हुन् । 

विख्यात स्नायु शल्य चिकित्सक डा. देवकोटाको निधन

डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचारपछि स्वदेशमै देहत्याग गर्ने इच्छाअनुसार गत वैशाख १५ गते मुलुक फर्किएका थिए । उनको पार्थिव शरीरलाई श्रद्घाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि १ वजेसम्म न्युरो अस्पतालमा राखिने छ ।


त्यसपछि नारायण गोपालचोक, रिंगरोड हुदै पशुपति आर्यघाट पुर्‍याई विद्युतीय माध्यमवाट दाहसंस्कार गरिने न्यूरो अस्पतालले जनाएको छ । उनको काजकिरिया हेपाली हाइटस्थित निवासमा श्रीमती मधु दीक्षित देवकोटा र छोरीहरु मेघा, वसुधा र मञ्जरीले गर्नेछन् । परिवारका अनुसार काजकिरिया ७ दिनमा सकिने छ ।


डा. देवकोटाको जन्म २०१० साल पुस ४ गते शुक्रवार गोर्खाको लिगलिग पण्डित गाउँमा भएको थियो । भारतको आसाम मेडिकल कलेजवाट एमबीबीएस गरेका देवकोटा वीर अस्पतालमा ५ वर्ष मेडिकल अफिसरका रुपमा शल्यक्रिया विभागमा काम गरे । यसपछि उनी बेलायतवाट शल्य चिकित्सामा एफआरसिएस गरेर स्नायु शल्यचिकित्साको लामो अनुभव वटुलेर मुलुक फर्किए । करिब २५ वर्ष वीर अस्पतालमा विताएका उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा विधिवत स्नायु शल्यचिकित्सा विभाग निर्माण भएको हो ।


डा. देवकोटासंगै १३ वर्ष काम गरेका वीरका स्नायु शल्यचिकित्सा विभागका पुर्व प्रमुख प्रा.डा. पवन सुल्तानिया भन्छन्, ‘मुलुकमा स्नायु शल्यचिकित्सा वीर अस्पतालवाट डा. डिएन गंगोलले शुरुवात गरे तर पूर्णकालिन न्युरोसर्जनको हैसियतले डा.देवकोटाले यो विधालाई वीर अस्पतालको माध्यमले मुलुकमा स्थापित गरे ।’ डा.देवकोटाले ३४ वर्षे चिकित्सकीय अभ्यासका दौरान करिव लाखौ विरामीको परीक्षणसंगै हजारौं मानिसको शल्यक्रिया गरेको डा.सुल्तानिया बताउँछन ।


‘मुलुकमा आज जे–जति स्नायु शल्यचिकित्सा छ, वास्तविक रुपमा भन्ने हो भने सबै सर (डा.देवकोटा) कै देन हो, उहाँको तुलना गर्न सकिदैन’, राष्ट्रिय ट्रमा सेन्टर न्युरो सर्जरी विभागका प्रमुख डा.राजिव झाले कान्तिपुरसंग भने, ‘म न्युरोसर्जन बन्ने कुरा सोचेको पनि थिइन, उहाँकै प्रेरणा र सहयोगले आज यहाँ छु ।’


वीरको इमर्जेन्सी विभागमा डा. झाले गरिरहेको कामलाई हेरेपछि डा. देवकोटाले उनलाई पनि थाहा नदिइ स्नायु शल्यचिकित्सा विभागमा सरुवा गराएका थिए ।


डा.देवकोटा शाही शासनकालका दौरान ७ महिना स्वास्थ्य मन्त्रीसमेत भएका थिए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) समेत बनाए । डा.झाका अनुसार आफूसंग काम गर्ने मिहिनेती चिकित्साकर्मीका पक्षमा डा.देवकोटा सदैव एउटा ढालका रुपमा प्रस्तुत हुने गरेका थिए ।


प्रकाशित : असार ४, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?