प्रहरीमा विशिष्ट श्रेणी कटौती: ‘वृत्तिविकास खुम्चियो’

जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरीमा विशिष्ट श्रेणीका एआईजीको संख्या घटाउनु ठीक थियो कि थिएन भन्ने बहस सुरु भएको छ । साताअघि मन्त्रिपरिषदको बैठकले एआईजी संख्या १६ बाट ३ मा झार्ने निर्णय गरेको हो । विशिष्ट श्रेणीको दरबन्दी कटौतीले संगठनभित्र वृत्ति विकासको अवसर खुम्च्याएको टिप्पणी केही पूर्वप्रहरी अधिकारीले गरेका छन् ।

प्रहरीमा विशिष्ट श्रेणी कटौती: ‘वृत्तिविकास खुम्चियो’

निजामती कर्मचारी र सेनामा ठूलो संख्यामा विशिष्ट श्रेणीका कर्मचारी रहेको अवस्थामा प्रहरीमा घटाइँदा वृत्तिविकासमा असर पर्न सक्ने उनीहरूको तर्क छ ।

८६ हजार जनशक्ति रहेको निजामती प्रशासनमा ७१ जना, ९५ हजार जनशक्ति रहेको सेनामा प्राविधिक, लेखा, चिकित्सक, हवाई र कानुन शाखामा गरेर २७ जना, ३७ हजार १ सय १९ जनशक्ति रहेको सशस्त्र प्रहरी बलमा ३ जना विशिष्ट श्रेणीमा कार्यरत छन् । तर ७८ हजार जनशक्ति रहेको प्रहरीमा भने विशिष्ट श्रेणीको पद चारवटा मात्रै छ ।

पूर्वएआईजी सुरेन्द्र शाहले एआईजी संख्या कटौतीले प्रहरीभित्र करिअर बनाउने सपना देखेकालाई निरुत्साहित गर्ने बताए । उनले भने, ‘कि सरकारका अन्य अंगमा पनि घटाउनुपर्‍यो, होइन भने प्रहरीमा मात्रै घटाउँदा त्यसको सन्देश के हुन्छ ?’ उपल्लो पद कटौती हुँदा राम्रा मान्छेले प्रहरीलाई करिअरको गन्तव्य नबनाउने खतरा रहने उनले बताए । ‘यसले वृत्ति विकासमा संकुचन ल्याउँछ,’ उनले भने ।

राजनीतिक र केही व्यक्तिको स्वार्थका आधारमा यसअघि एआईजी संख्या बारम्बार थपघट गरिँदै आएको थियो । गृहमन्त्री जनार्दन शर्माका पालामा २०७४ असार २६ को मन्त्रिपरिषद् बैठकले एआईजी दरबन्दी सातबाट बढाएर ११ पुर्‍याएको थियो । कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिनाविभागीय बनाएर गृह मन्त्रालय सम्हालेपछि एआईजी संख्या फेरि बढाइएको थियो । देउवाले कात्तिक २७ गते प्रहरीमा चार एआईजी थपेर १५ पुर्‍याएका थिए । यससँगै प्राविधिकसमेत गरी एआईजी दरबन्दी १६ पुगेको थियो ।

प्रदेशमा डीआईजीको कमान्ड रहने गरी प्रहरी संरचना बनेपछि ठूलो संख्यामा रहेका एआईजी कामविहीन भएका थिए । हचुवाका भरमा थपिएका एआईजीको व्यवस्थापन गर्न पछिल्लो समय प्रहरीलाई हम्मे परेको थियो । आर्थिक भार बढ्ने र व्यवस्थापन गर्न गाह्रो हुने बहस प्रहरीभित्र पछिल्लो समय चलेको थियो ।

पूर्वगृहसचिव एवं लोकसेवा आयोग अध्यक्ष उमेश मैनाली संगठनले एआईजीको संख्या अनावश्यक भएरै कटौती गरेको हुन सक्ने बताउँछन् । उनको बुझाइमा पछिल्लो समय प्रहरीमा एआईजी संख्या आवश्यकताभन्दा बढी नै थियो । ‘करिअरको एउटा प्रश्न होला तर त्योभन्दा पनि संगठनलाई कमान्ड कन्ट्रोल गर्न कति संख्या चाहिन्छ भन्ने अर्को पाटो हुन्छ,’ उनले भने ।

पूर्वडीआईजी हेमन्त मल्लले एआईजीको संख्या कति र किन राख्ने भन्ने तथ्यगत कारणमाथि गम्भीर बहस नहुँदा घटबढको अभ्यास निरन्तर चलिरहेको बताए । ‘अहिले संख्या किन घटाइयो र पहिले थपेर १६ सम्म किन पुर्‍याइएको थियो,’ उनले भने, ‘यी दुवै निर्णयका आधार के थिए भन्नेबारे छलफल जरुरी छ ।’ प्रहरीलाई जिम्मेवारी र कामको चाप कति छ, वृत्ति विकासमा संख्या थपघटले के असर पार्छ भन्नेबारे प्रस्टताको खाँचो देखिएको पूर्वडीआईजी मल्ल बताउँछन् । ‘तल्लो तहका पदको संख्या बढ्ने, माथिल्लो तहको संख्या घट्ने गर्दा समानुपातिक वृत्ति विकास अवरुद्ध हुन्छ कि भनेर पनि लेखाजोखा गर्नुपर्ने हुन्छ ।

कहाँ कति जनशक्ति
संगठन जम्मा विशिष्ट
निजामती ८६,००० ७१
नेपाली सेना ९५,००० २७
नेपाल प्रहरी ७८,००० ४
सशस्त्र प्रहरी ३७,११९ ३

प्रकाशित : असार ५, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?