एसआईपीले सुधारिए सामुदायिक विद्यालय

काठमाडौँ — पाँच वर्षअघिसम्म कालीकोटको तिलागुफा नगरपालिका–१ स्थित जगनाथ आधारभूत विद्यालय नाम मात्रको थियो । शिक्षा मन्त्रालयले विद्यालय सुधार परियोजना (एसआईपी) लागू गरेपछि अहिले सबैले यो विद्यालयको तारिफ गर्न थालेका छन् ।

एसआईपीले सुधारिए सामुदायिक विद्यालय

‘हामी शिक्षक, अभिभावक, विद्यार्थी मिलेर विद्यालय सुधार योजना निर्माण गर्‍यौं,’ प्रधानाध्यापक विमला ढुंगानाले भनिन्, ‘आफैंले बनाएको योजना लागू भएपछि निकै सुधार आएको छ, महिलाको नेतृत्वमा रहेको नमुना विद्यालय भनेका छन् ।’ विद्यालय सेवा क्षेत्रभित्र अधिक दलित समुदायको बसोबास छ । उक्त विद्यालयमा १ सय १० विद्यार्थी छन्, तीमध्ये ५१ जना दलित समुदायका छन् । शिक्षक ४ जना छन् ।

प्रधानाध्यापक ढुंगानाका अनुसार विद्यार्थीलाई दैनिक खाजाको व्यवस्था गरेपछि पढाइप्रति चासो बढेको हो । ‘हामीले स्थानीय उत्पादनका खाद्य तथा फलफूललाई लिएर दैनिक फरक खाजा खुवाउने गरेका छौं,’ उनले भनिन् । विद्यार्थीको अगुवाइमा कक्षा कोठा व्यवस्थापन, कुहिने र नकुहिने फोहोरमैला व्यवस्थापन, शिक्षकले निर्माण गरेको शैक्षिक सामग्री प्रदर्शनी, बाल विकास व्यवस्थापन, अभिभावकबाट अनुगमन तथा विषयगत समस्यालाई सम्बोधन गर्न व्यक्ति ‘फोकल पर्सन’ तोकेपछि शैक्षिक गुणस्तर बढ्न थालेको उनले जनाइन् ।

विद्यालय सुधार योजना निर्माण र कार्यान्वयनसँगै संखुवासभाको अमरुवा मावि आँखीभुईंमा विद्यार्थी टिक्न थालेका छन् । ‘विद्यार्थीको औसत उपस्थितिका साथै सिकाइ उपलब्धि बढेको छ,’ पाँच वर्षयताको उपलब्धि सुनाउँदै प्रधानाध्यापक राजकुमार खनालले भने, ‘योजनाबद्ध शिक्षण गर्दा बढी प्रभावकारी भएको छ ।’ मल्टिमिडियाको माध्यमबाट पठनपाठन, विज्ञान प्रयोगशाला तथा पुस्तकालय, खेलकुद, शैक्षिक सामग्री पर्याप्त भएकाले विद्यार्थी आकर्षित भएको उनले बताए । त्यहाँ ५ सय ६४ विद्यार्थी र १९ शिक्षक छन् ।

भक्तपुरको चुनादेवी मावि सुधार योजनापछि फडको मार्न सफल बनेको प्रधानाध्यापक नानुमाया गिरी बताउँछिन् । ‘सरकारी स्कुलप्रति समुदायको ध्यान नपुगेको स्थितिमा हामीले सुधार योजना लागू गरेपछि सकारात्मक नतिजा पाएका छौं,’ उनले भनिन् । अहिले २ सय ११ विद्यार्थी र ११ शिक्षक छन् ।

शिक्षकलाई आवश्यक शैक्षिक सामग्रीसहितको झोला, खेलकुद, कम्प्युटर, छात्रालाई महिनावारीको बेला प्याड वितरण, छात्र र छात्रालाई अलग शौचालय, गाडीको व्यवस्था, विद्यार्थीलाई खाजाको व्यवस्था गरेपछि आकर्षण बढेको हो ।

प्रकाशित : असार ५, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?