दशगजामा बाक्लो वस्ती

विनोद भण्डारी

सिक्टी(मोरङ) — भारतसँग जोडिएको पूर्वी मोरङको सिक्टी नाकाको दशगजामा बाक्लो वस्ती छ । त्यहाँ नेपाल र भारत छुट्याउने १६० नम्बरको सीमा स्तम्भ वस्तीको बीचमा छ । वस्तीका अधिकांश टहरामा पसल राखिएको छ ।

दशगजामा बाक्लो वस्ती

ती पसलमा सामन खरिद गर्न ३ किलोमिटर उत्तर डाईनिया आसपासका उपभोक्ता दिनहुँ पुग्ने गर्छन् ।


दशगजामा यसअघि ६१ परिवारको बसोबास थियो । अहिले घटेर करिब तीन दर्जनमा झरेको छ । स्थानीय इक्दु आलमले भने त्यहाँ बसोबास गर्ने सबै भारतीय नागरिक हुन् । यहाँका अधिकांश टहरामा पसल छ । पसल नभएका टहराका वासिन्दा दिनभर नेपालतर्फ मजदुरी गरेर परिवारको गुजरा चलाउँदै आएका छन् ।


दशगजा क्षेत्रको बाक्लो वस्तीका कारण छिमेकका वस्तीका सर्वसाधारणको दैनिकीमा प्रभाव परेको उनको गुनासो थियो ।


दशगजामा दशकदेखि भारतीय नागरिक आरिफ मियाँ टहरो बनाएर बस्दै आएका छन् । उनी हरेक दिन विहान मजदुरी गर्न नेपालका सीमावर्ती गाउँ पुग्छन् र साँझमा टहरामा पुग्छन् । म मात्र होइन वस्तीमा बस्ने सबै भारतीय नागरिक हुन् । मियाँले भने,‘सबैको दैनिकी विहान मजदुरी गर्न सीमावर्ती गाउँ पसेर साँझ वस्तीमा फर्कनु ।’


सिक्टी मात्र नभई सोनापुर, केराबारी, मधुबनी, तरिगमा, जोगबनी, आमगाछी, डुवाटोली, पत्थरदेवा, तेलीयारी लगायतका स्थानमा दशगजा क्षेत्र छुट्याउनै गाह्रो छ । बुधनगरको तरिगमा दशगजा क्षेत्रमा पर्ने १७४ नम्बरको सीमा स्तम्भ वस्तीको माझमा छ । दशगजाको बाक्लो वस्तीका कारण झट्ट हेर्दा त्यहाँ कता नेपाल कता भारत छुट्याउन गाह्रो पर्छ ।


भारतसँग जोडिएका मोरङको अधिकांश दशगजा क्षेत्र बाक्लो वस्तीका कारण छुट्याउनै गाह्रो छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को तथ्याङ्क अनुसार नेपाल र भारततर्फ २८ हजार ७ सय ७ वर्ग मिटर दशगजा क्षेत्र अतिक्रमण गरेर बाक्लो बस्ती बसेको छ ।

एसएसबी बथनाहा ५६ ‌औँ बटालीयनको तथ्याङ्क अनुसार भारतर्फ १४ हजार ७ सय ८५ र नेपालतर्फ १३ हजार ९ सय २२ वर्ग मिटर दशगजा क्षेत्र अतिक्रमण गरेर बस्ती बसेको छ ।


मोरङ र सुनसरीमा मुख्य र सहायक गरी २ सय ४४ वटा सीमा स्तम्भ छन् । ती मध्ये बेपत्ता भएका ३१ र क्षेत्रीग्रस्त २३ स्तम्भको पुर्ननिर्माण भइसकेको छ ।

तरिगामा नाकाको दशगजा क्षेत्रको वस्तीको बीचमा रहेको १७४ नम्बरको सीमा स्तम्भ । तस्बिर– विनोद/कान्तिपुर

तरिगामा नाकाको दशगजा क्षेत्रको वस्तीको बीचमा रहेको १७४ नम्बरको सीमा स्तम्भ ।

६३ दशमलव २ किलोमिटर भारतसँग सीमा जोडिएको मोरङका ठुला, सहायक, साना र रिफरेन्स गरी १ सय २४ वटा सीमा स्तम्भ सहिसलामत रहेको सशस्त्र सीमा सुरक्षा प्रहरीका उपरिक्षक मनिष थापाले वताए । मोरङमा पर्ने सबै सीमा स्तम्भ सुरक्षित छन् । उनले भने,‘तर अधिकांश दशगजा क्षेत्रको दुवैतर्फ बसेको बाक्लो वस्ती हटाउन भारतीय पक्षसँग सहकार्य भइरहेको छ । ’


जोगबनी नाकाको दशगजा क्षेत्रको वस्ती हटाउने काम भइरहेको उल्लेख गर्दै थापाले भने, ‘अन्य स्थानको दशगजा क्षेत्रको वस्तीपनि हटाउन भारतीय पक्षसँग आवश्यक छलफल भइरहेको छ । ’ उनका अनुसार दशगजा क्षेत्रको बासका कारण सीमावर्ती क्षेत्रमा अपराधिक गतिविधि नबढोस् भन्नका लागि संयुक्त सीमा सुरक्षा गस्तीपनि परिचालन गरिएको छ ।


त्यसैगरी करिब ६२ किलोमिटर भारतसँग जोडिएको सुनसरीको ३८ स्थानमा दशगजा क्षेत्र अतिक्रमण गरेर बसोवास भएको सशस्त्र सीमा सुरक्षा प्रहरी सुनसरीको तथ्याङ्क छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुधिर सुवेदीका अनुसार त्यसमध्ये भारतीय पक्षबाट २० र नेपाल पक्षबाट १३ स्थानमा र दुवै पक्षबाट ५ स्थानमा अतिक्रमण गरेर बसोबास गरिएको छ ।

नायब उपरीक्षक सुवेदीका अनुसार भारतीय पक्षसँग सहकार्य गरेर केही स्थानको दशगजाको वस्ती हटाएको र केही स्थानको हटाउने प्रयास भइरहेको छ । सुनसरीमा ठुलो, सहायक, साना र रिफरेन्स गरी २ सय ९० वटा सीमा स्तम्भ छन् । ती सबै सीमा स्तम्भ सलामत रहेको सुवेदीले बताए ।

प्रकाशित : असार ५, २०७५ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?