गाउँ डुल्दै चित्रबहादुर

‘संघीयता ठूला दललाई भालुको कन्पारो भएको छ । कुन दिन मिलाएर विघटन गर्छन्’
प्रकाश बराल

बागलुङ — मुलुकले संघीयता धान्दैन भन्दै फरक मत राख्ने जनमोर्चाका नेता चित्रबहादुर केसी संसद् बाहिरै छन् । फुर्सदिला बनेपछि उनी गृहजिल्ला बागलुङमा संगठन सुदृढीकरण अभियानमा जुटेका छन् ।

गाउँ डुल्दै चित्रबहादुर

संसद्‌मा रहँदा जिल्लामा कमै झुल्किने केसी पत्रकार सम्मेलन, आमसभा र कार्यकर्ता भेटघाटमार्फत आफ्ना पुराना अडान दोहोर्‍याउँदै संगठन विस्तारमा लागेका हुन् ।


प्राय: उनी राष्ट्रिय जनमोर्चाको भोट बैंक मानिने बागलुङका बरेङ, जैमिनी र गलकोट पुगिरहन्छन् । ‘स्वास्थ्यका कारण पैदल हिंड्ने ठाउँमा हामीले पठाएका छैनौं । सम्भव हुने स्थानमा आइरहनुहुन्छ,’ जनमोर्चाकै जिल्ला नेता थानेश्वर सुवेदीले भने, ‘जिल्ला सम्मेलनका बेला भएकाले अहिले जिल्ला दौडाहामा व्यस्त हुनुभएको हो ।’


राजनीतिक अंक गणितमा सानो आकारको भए पनि देशव्यापी रूपमा अझै केसीको विचार सुन्न खोज्ने धेरै छन् । संघीयताले देशलाई आर्थिक रूपमा संकटमा पुर्‍याउँछ भन्ने विचार राख्नेहरू केसीको वकालत गर्छन् । संघीयता कार्यान्वयनमा गइसके पनि ठूला दलका नेताहरू नै केसीको विचारमा सहमति राख्छन् । ‘भन्न मिलेन दाइ, हामी तपार्इंकै पक्षमा छौं भन्दै मलाई फोन गर्छन्,’ केसीले भने, ‘राजनीतिक रूपमा अप्ठ्यारो परेकाहरूले व्यक्तिगत रूपमा संघीयता खारेजीको कुरा गरिरहेका छन् ।’

नेपालमा प्रशासनिक विकेन्द्रीकरण बनाएर छरितो काम गर्न सक्ने सरकार र संसद् चाहिएको उनले बताए । कम्युनिस्ट पार्टीहरू एकता गरेर अगाडि बढ्ने बहस चले पनि केसीले यही अवस्थामा नमिल्ने बताए ।


आफू कार्यकारी राष्ट्रपतिको विपक्षमा उभिनेसमेत प्रस्ट्याए । ‘सरकार चलाउन समर्थन दिए पनि सरकारमा भने जाँदैनौं,’ उनले भने, ‘गहतको झोलमा जात फाल्ने काम हुँदैन ।’ भारतको नाकाबन्दीका विरुद्धको आन्दोलनमा साथ दिन एकपटक उपप्रधानमन्त्री भएको उनले बताए ।


‘लाज छोप्न नेताहरूले संघीयता कार्यान्वयनको कुरा गरेका हुन्, मनको कुरा मैले बुझेको छु,’ उनले भने, ‘आफ्नो चाहनाले संघीयता ल्याएका होइनन् । कसैले भारी बोकाइदिएको हो ।’ नेपालमा सधैं अस्थिरता र आर्थिक संकट उत्पन्न गराएर सहयोगको नाउँमा ब्रह्मलुट गर्न खोज्नेले संघीयताको लगाइदिएको भारी नेताहरूले भिरेको उनको आरोप छ ।


संघीयताको कार्यान्वयनमा देश अगाडि बढिसके पनि केसीको कटाक्ष उस्तै छ । ‘संघीयता ठूला दललाई भालुको कम्पारो भएको छ । कुन दिन मिलाएर विघटन गर्छन्,’ उनले भने । उनले संघीयताले नेपालको अर्थतन्त्र धराशायी भएको आरोप लगाए ।


बागलुङमा केसीको आफ्नै घर छैन । गलकोटस्थित भाइ टंकको घरमा बस्छन् । अन्य स्थानमा पुग्दा पार्टीले बासको व्यवस्था गरिदिन्छ । राजनीतिक दलले चुनाव लडा करोडौं खर्चने संस्कृतिले उनी पीडित छन् । खर्च धान्न नसकेर उनले २०७० को संविधानसभा निर्वाचन लडेनन् । ‘करोड खर्चनेहरूको जमाना आयो । हामीले कसरी चुनाव जित्ने ?,’ उनले भने ।

प्रकाशित : असार ५, २०७५ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?