३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चीन भरपर्दाे छिमेकी : ओली

प्रधानमन्त्री बेइजिङमा
चेतनाथ आचार्य

बेइजिङ — प्रधानमन्त्री केपी ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् । मंगलबार साँझ बेइजिङ पुगेलगत्तै दूतावासले गरेको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

चीन भरपर्दाे छिमेकी : ओली

प्रधानमन्त्री केपी ओलीले हिमालवारि र पारिबीचको सञ्जाल (कनेक्टिभिटी) बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने उद्घोष गरेका छन् । चीनको ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार साँझ बेइजिङ आइपुगेलगत्तै नेपाली दूतावासले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो धारणा राखेका हुन् ।


सम्बोधनको पहिलो वाक्य चिनियाँ भाषामै वाचन गरेर उपस्थित चिनियाँको ध्यान खिच्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूलाई भेट्न पाउँदा म अत्यन्त प्रसन्न छु ।’ उनले यो वाक्यलाई अंग्रेजी भाषामा पनि दोहोर्‍याएका थिए । विकसित प्रविधिबाट रेल र सडक सञ्जालमार्फत दुईपक्षीय सहकार्य मजबुत बनाउँदै नयाँ युगको सहकार्य अघि बढाउनुपर्ने उनले बताए ।

चीनलाई नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भन्दै प्रधानमन्त्रीले अघिल्लो (२०७२ चैत) प्रधानमन्त्रीकालमा आफूले पहिलोपटक गरेको चीन भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय खोलेको स्मरण गरे । ‘नयाँ युगमा नेपाल–चीन सम्बन्धको नयाँ दृष्टिकोणसहित दुई देशबीचको गहिरो विश्वास र समझदारीको विशाल भण्डार लिएर म फेरि चीन आएको छु,’ उनले भने । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनपछि राष्ट्रपति सी चिनफिङले चीन नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । उनको यही सन्दर्भलाई आफ्नो भ्रमणसँग जोडेर द्विपक्षीय सम्बन्धमा ‘क्यास’ गर्नेतर्फ लक्षित थियो । नयाँ युगमा उज्ज्वल भविष्यका लागि आफ्ना जनतालाई शान्ति र समृद्धि बाँड्न चाहेको उनले बताए ।


‘एक चीन नीति’ मा नेपालको सदा समर्थन रहने दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले चीनको तीव्र विकासबाट लाभ लिन चाहेको बताए । उनले नेपाल ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)’ मा आबद्ध भइसकेकाले अब ठूला लगानी र हिमालपारिको कनेक्टिभिटीमा जोड दिनुपर्ने पनि स्पष्ट पारे ।


आफ्नो अघिल्लो भ्रमणका क्रममा भएका सन्धि–सम्झौता कार्यान्वयन र थप नयाँ सम्झौतामा भ्रमण केन्द्रित रहने जानकारी प्रधानमन्त्रीले दिए । मुलुक र जनताको हितमा नै नयाँ सन्धि र सम्झौता हुने पनि उनले उल्लेख गरे । सम्मान कार्यक्रममा चिनियाँ उच्च अधिकारी, नेपालबारे चासो राख्ने चिनियाँ, व्यापारी, लगानीकर्ता, चीन भ्रमणमा आएका नेपाली र यहाँ अध्ययनरत विद्यार्थीको उपस्थिति थियो । ‘आत्मामा प्रकाश छ भने व्यक्तिमा सौन्दर्य हुन्छ । व्यक्ति सुन्दर भयो भने घरमा सद्भाव हुन्छ । घरमा सद्भाव भयो भने राष्ट्रमा थिति बस्छ र राष्ट्रमा थिति बस्यो भने संसारमा शान्ति छाउँछ,’ चिनियाँ भनाइ उद्धृत गर्दै ओलीले यस क्षेत्रमा थिति बसाउन सहकार्य आवश्यक रहेको औंल्याए ।


नेपाल र चीनबीच सहकार्यको खाकासमेत अघि सार्दै प्रधानमन्त्रीले यातायात सञ्जाल, पर्यटन र संस्कृति, व्यापार र लगानी, कृषिमा आधुनिकीकरण, उद्योग र प्रविधि हस्तान्तरण, मानव जनशक्ति र प्राकृतिक स्रोतसाधन तथा वातावरणका क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । नेपालमा अब राजनीतिक स्थिरता कायम रहने भन्दै अब विकास र समृद्धिको अभियानमा छिमेकको साथ चाहिएको पनि उनले स्पष्ट पारे । समृद्धिका लागि कनेक्टिभिटी आवश्यक रहेको भन्दै यसमा चीनले सहयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीले राखे ।


सडक र रेल सञ्जालले नयाँ युगको सहकार्य झल्किने भनाइ उनको थियो । ‘चिनियाँ रेल नेपाल भित्र्याउने कार्य पूरा भए नेपालका साथै चीनको पनि हित हुनेछ,’ ओलीले थपे, ‘यसमा हाम्रो सहकार्यले भविष्य थप उज्यालो बनाउनेछ ।’ उनले त्यहाँ उच्चारण नगरे पनि भारतका तर्फबाट पनि रेलमार्ग बनिरहेका कारण नेपाल भएर भारत जोडिँदा चीनलाई फाइदा पुग्ने संकेत गरेका थिए ।


उनले परम्परागत सिल्क रोडले नेपाल र चीनलाई जोडेको बताउँदै चीन र दक्षिण एसियाबीच नेपालले महत्त्वपूर्ण पुलको काम गर्न सक्ने बताए । दुवै राष्ट्रले सिल्क रोडलाई पुनर्जागरण गर्ने भन्दै आर्थिक समृद्धिमा नेपाल र चीनले सहकार्य गर्दै अगाडि बढ्न नेपाल तयार रहेको धारणा प्रधानमन्त्रीको थियो । उनले नेपालमा लगानी गर्नसमेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।


‘समृद्ध नेपाल सुखी नेपाली’ आफ्नो एक मात्र उद्देश्य रहेको औंल्याउँदै ओलीले यसलाई साकार बनाउन आफू लागिपरेको बताए । ‘म सम्पूर्ण चिनियाँ व्यापारी तथा उद्योगपति साथीहरूलाई हातमा हात मिलाएर साझा विकास र समृद्धि बाँडफाँटको यात्रामा जोडिन आहवान गर्दछु,’ उनले भने ।


चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रधानमन्त्रीलाई स्वागत गर्दै नेपालको चासो स्पष्ट पारेका थिए । कार्यक्रममा प्रधानमन्त्रीले ‘लुक वी’ नामक अंग्रेजी पत्रिका विमोचन र दूतावासको विच्याट शुभारम्भ गरेका थिए ।


एक सय २० जनाको भ्रमण टोलीको नेतृत्व गर्दै बेइजिङ पुगेका प्रधानमन्त्रीका साथ पत्नी राधिका, चार मन्त्री, विषयगत मन्त्रालयका उच्च अधिकारी, सचिवालयका सदस्य, सल्लाहकारहरू, सुरक्षा सम्बन्ध अधिकारी, उद्योगी, व्यापारी, पत्रकार तथा अन्य विशिष्ट व्यक्तित्व सहभागी छन् ।


भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । उनले चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्ने कार्यक्रम छ । यस अलावा उनले बेइजिङमा हुने विविध कार्यक्रममा सहभागिता जनाउने छन् ।


प्रधानमन्त्रीको भ्रमण क्रममा आर्थिक करिडोर घोषणालाई सम्झौतामा रूपान्तरण गर्नेदेखि रेलमार्ग अध्ययन, तिब्बतको राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा नाकासम्म पुर्‍याउने, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, रसुवागढी र तातोपानीमा ‘नेपाल–चीनमैत्री पुल’ निर्माण, परराष्ट्र मन्त्रालय संयन्त्र स्थापनालगायत समझदारीमा हस्ताक्षर हुने बताइएको छ । ओलीले बुधबार राष्ट्रपति सीसँग राजनीतिक छलफलका साथै दुईपक्षीय सहमति हुने विषय राख्ने बताइएको छ । बुधबार बिहान दूतावासमा नेपाली समुदायसँग छलफल गरेर दिनचर्या आरम्भ गर्नेछन् । त्यसलगत्तै चीन–नेपाल व्यापारिक फोरममा छलफल गर्ने कार्यक्रम छ । त्यसपछि टियनमिन स्क्वायर घुम्ने कार्यक्रम छ । राष्ट्रपति सीसँग भेट र चिनियाँ टीभीलाई अन्तर्वार्ता, पूर्वाधार लगानी विकास बैंकका अध्यक्षसँग भेट पनि बुधबारकै लागि तय भएको छ ।


बिहीबार डेलिगेसन स्तरमा छलफल हुनेछ । प्रधानमन्त्री ओली नेतृत्व टोली र चिनियाँ प्रधानमन्त्री ली नेतृत्वको टोलीबीच औपचारिक वार्ता हुनेछ । दर्जनभन्दा बढी सहमति र सम्झौतामा पनि त्यहीं हस्ताक्षर हुनेछ । बिहान नेपाल–चीन फ्रेन्डसिप दौडमा सहभागी हुने ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलमा प्रवचन दिने कार्यक्रम छ । पार्टीका अन्य उच्च नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबारै उनको सम्मानमा चिनियाँ समकक्षीले रात्रिभोज दिने कार्यक्रम छ ।

प्रधानमन्त्री शुक्रबार बेइजिङबाट ल्हासा जाने कार्यक्रम छ ।

प्रकाशित : असार ५, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?