कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्मचारीका भरमा तीन आयोग

पदाधिकारी नियुक्त नहुँदा दलित, मुस्लिम र महिला आयोगमा नीतिगत निर्णय हुन सकेको छैन
मधु शाही

काठमाडौँ — संवैधानिक व्यवस्थाअनुसार गठन भएका दलित, महिला र मुस्लिम आयोग निष्क्रियजस्तै बनेका छन् । तीनवटै आयोग कर्मचारीका भरमा चलिरहेका छन् । पदाधिकारी नियुक्त नहुँदा नीतिगत निर्णय हुन सकेको छैन । 

कर्मचारीका भरमा तीन आयोग

राष्ट्रिय दलित आयोग दुई वर्षदेखि पदाधिकारीविहीन छ । कार्यालय प्रमुखका रूपमा सरकारका उपसचिव तथा सूचना अधिकृत र केही कर्मचारीले आयोग धान्दै आएका छन् । दैनिक ४० भन्दा बढी सेवाग्राही आयोगमा आउँछन् । ‘अभिभावकविहीनजस्तै भएका छौं,’ आयोगका सूचना अधिकारी रामबहादुर विश्वकर्माले भने । आयोगमा उपाध्यक्ष नियुक्त नभएको दुई वर्ष पुगेको छ ।


गत भदौसम्म दुई जना सदस्य थिए । पदाधिकारी नहुँदा दलित जातीय अनुसूचीमा थरहरू अद्यावधिक गर्न तथा जातीय छुवाछूतका घटनाबारे आयोगले गर्नुपर्ने काम गर्न कठिनाइ भएको छ । चालु आर्थिक वर्षभित्र छुवाछूत र जातीय विभेदसम्बन्धी ४५ मुद्दा आयोगमा परेका छन् ।


जाउलाखेलस्थित राष्ट्रिय दलित आयोगकै भुइँतलामा रहेको मुस्लिम आयोगको अवस्था पनि उस्तै छ । उपसचिव, खरिदार र लेखापाल तथा कार्यालय सहयोगीसहित ६ कर्मचारीले आयोग चलाइरहेका छन् । उनीहरूको दैनिकी सुनसान कार्यालय कुर्नमै बितेको छ ।


दलित आयोगमा जस्तो मुस्लिम आयोगमा धेरै उजुरी आउने गरेको छैन । आयोगकी उपसचिव निर्मला मल्लका अनुसार आयोगले नीति नियममा आवश्यक सल्लाह–सुझाव दिने र जनचेतना जगाउने काम गर्दै आएको छ ।


‘मुस्लिम आयोग कहिलेसम्म नाम मात्रको रहने र हामीले कुन आधारमा क्रियाशील रहने भन्ने अन्योल छ,’ मल्लको गुनासो छ, ‘पदाधिकारीबिनाको आयोग प्रभावहीन छ । न पर्याप्त कर्मचारी न वार्षिक कार्ययोजना तथा कार्यक्रम ।’ आयोग सुचारु रहने हो भने पदाधिकारी चाँडो नियुक्ति गरिनुपर्ने नत्र अन्य निकायमा सरुवा गरेर काम गर्न दिइनुपर्ने उनले बताइन् ।

भद्रकालीस्थित राष्ट्रिय महिला आयोग धेरैभन्दा धेरै महिलाको पीडा र गुनासो सुनाउनेरसुन्ने निकाय हो । दैनिक कम्तीमा १० जना महिला समस्या लिएर आउँछन् । तर, निर्णय तहमा पदाधिकारी नहुँदा व्यवस्थित गर्न चुनौती थपिएको सचिव अनिलकुमार ठाकुरले बताए ।


संविधानमा संवैधानिक निकायका रूपमा परिभाषित गरिए पनि बजेट भने घटेर आएको सचिव ठाकुरले बताए । महिला आयोगको कार्यालय भाडाको साँघुरो भवनमा छ । यहाँ ३३ कर्मचारीको दरबन्दी छ । आफ्नै भवन नहुँदा कर्मचारी व्यवस्थापनमा चुनौती छ ।


‘भवन साँघुरो छ, कर्मचारी राख्न समस्या छ,’ उनी भन्छन्, ‘अझ त्यसैमा सरकारले बजेट घटाउँदा चुनौती थपिएको छ । सरकारले आयोगलाई छिट्टै पूर्णता दिनुपर्छ ।’ सचिव ठाकुरका अनुसार यसअघि महिला आयोगले ५ करोड बजेट पाउने गरेकोमा यसपालि तीन करोडमा झारिएको छ ।


संविधानमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, मुस्लिम आयोग, थारू आयोग, मधेसी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग गरी सातवटा आयोगलाई अन्य आयोग शीर्षकमा राखिएको छ । जसमा सबै आयोगको गठन गर्ने पद्धतिमा राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा आयोग अध्यक्ष र सदस्य नियुक्ति गर्ने उल्लेख छ ।


यी ७ आयोगहरूबारे संघीय संसद्ले संविधान प्रारम्भ भएको मितिले दस वर्षपछि पुनरावलोकन गर्ने संविधानमा उल्लेख छ । यस हिसाबले हेर्ने हो भने संविधान जारी भएको तीन वर्ष भएको छ । ‘तीन वर्ष यत्तिकै खेर गयो,’ एक दलित अभियन्ताले भने, ‘पदाधिकारी नियुक्त नगरेर आयोगहरूको उपेक्षा गरिएको छ ।’

प्रकाशित : असार ५, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?