२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सफल होला त काठमाडौं महानगरको कर अभियान वर्ष ?

चालु आर्थिक बर्षको चैतसम्म महानगरपालिकाले २६ प्रतिशत मात्रै राजस्व असुली गरेको छ ।
विद्या राई

काठमाडौँ — महानगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ मा लक्ष्य राखेको भन्दा एकतिहाइ मात्रै कर असुल्न सफल भयो । ६ अर्ब ९२ करोड ५५ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा जेठ महिनासम्म २ अर्ब ३४ करोड ४९ लाख ११ हजार असुली भएको थियो ।  

सफल होला त काठमाडौं महानगरको कर अभियान वर्ष ?

आव ०७४/०७५ मा राजस्व उठाउने लक्ष्य दुई गुणा बढायो । चैतसम्ममा २६ प्रतिशत मात्रै असुली भएको छ । अनुमानित राजस्व १२ अर्ब ४ करोड ३९ लाख ४७ हजार छ ।


चैतसम्म ३ अर्ब १७ करोड ५१ लाख २२ हजार उठेको छ । जसबाट महानगरको राजस्व असुली न्युन रहेको प्रष्ट हुन्छ । यस्तो अवस्थामा आव ०७५/०७६ लाई महानगरले कर अभियान वर्ष मनाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।


असार २ मा महानगरले ल्याएको आव ०७५/०७६ को नीति तथा कार्यक्रम अन्र्तगत आर्थिक तथा वित्त नीतिमा उक्त अभियान उल्लेख छ ।


आन्तरिक स्रोतको प्रभावकारी परिचालन गर्न प्रगतिशिल कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले अभियान वर्ष मनाउन लागेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।


लक्ष्यभन्दा न्यून राजस्व असुली भइरहेका बेला अभियान सफल हुन्छ त ? भन्ने जिज्ञासामा उनले भने, ‘करको दर बढाउनेभन्दा पनि दायरालाई फराकिलो बनाउदैछौँ, आगामी वर्षदेखि बहालकर पनि महानगरले नै उठाउने भएकाले राजस्व वृद्धि हुन्छ ।’


लक्ष्यअनुरुप कर उठाउन वर्षेनी व्यवसाय कर टोली, घरजग्गा कर टोली, बहाल कर टोली सबै वडामा परिचालन गर्दै आएपनि सोचेजस्तो उठ्न नसकेको महानगरले स्वीकार्दै आएको छ ।


संविधानको अनुसूची ८ मा बहालकर स्थानीयले तहले उठाउने उल्लेख भएपनि कार्यान्वयन हुन सकेको थिएन । महानगरले दुई र सरकारले १० प्रतिशत बहालकर उठाउँदै आएका थिए । स्थानीय तहमा जनप्रतिनिधि आएपनि संविधानको अनुसुची ८ अनुसार कार्यान्वयन हुन सकेको थिएन ।


बहाल करबारे नीति बाँझिएपछि लक्ष्य अनुसार राजस्व उठाउनमा असर पारेको राजस्व शाखाले जानकारी दिएको छ । गएको चैत १२ मा बसेको मन्त्री परिषद्को बैठकले १२ प्रतिशत बहालकर महानगरले नै उठाउन पाउने पारित गरेपछि राजस्व बढ्ने प्रवक्ता कार्कीले बताए ।


आर्थिक समृद्धिका ढोका खोल्न लगानीमैत्री वातावरणका लागि आन्तरिक स्रोतलाई प्रभावकारी बनाउन कर अभियानलाई प्राथमिकतामा राखेको छ ।


अभियान अन्तर्गत सम्पुर्ण करदाताहरुको लगत संकलन र अध्यावधिक गर्ने, राजस्व परिचालन गर्ने, सबै प्रकारका कर असुलीलाई प्रभावकारी बनाउन आवश्यक ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड बनाइ लागू गर्ने कार्यक्रम छ । करदाताको विवरण डिजिटल प्रणालीमा राखिने छ ।


चालु आवको चैतसम्म मालपोत कर १ करोड ७६ लाख, घरजग्गा कर १ करोड ४० लाख, बहाल कर २ अर्ब २ करोड ४५ लाख, व्यवसाय कर ४ करोड ८२ लाख, नक्सापास २३ करोड ७६ लाख उठेको छ । आगामी आर्थिक वर्षमा करको दायरालाई फराकिलो बनाएर बढि भन्दा बढि राजस्व संकलन गर्नेगरी महानगरले अभियान वर्ष मनाउने कार्यक्रम पारित गरेको छ ।


आगामी १० गते महानगरको बजेट प्रस्तुत गर्ने क्रममा करको दर र दायरा पनि प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रकाशित : असार ५, २०७५ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?