कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

काठमाडौँ — भूकम्पबाट भत्किएका विद्यालयको पुनर्निर्माणका निम्ति २४ अर्ब रुपैयाँ बजेट अपुग देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयनका अनुसार विद्यालय निर्माणमा सरकारी बजेट कम भएकाले समस्या भएको छ ।

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले भने, ‘विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गरिएकाले कुल आवश्यक ५९ अर्ब रुपैयाँबाट घटेर २४ अर्ब अपुग देखिएको हो, सरकारले उक्त रकम जुटाउन नसक्दा समयमै विद्यालय बन्न सकेको छैन ।’


२०७२ सालको भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेको थियो । त्यसमध्ये अहिलेसम्म ३ हजार ७ सय ८५ विद्यालय निर्माण भएका छन् । भूकम्पपछि ३ सय ७० विद्यालय एकआपसमा गाभिएका छन् । साढे ४ सय विद्यालयको आफ्नो स्वामित्वमा जग्गा नहुनु, भएका अपुग तथा अयोग्य हुनुले पुनर्निर्माणमा समस्या आएको जनाइएको छ । त्यस्ता समस्या हिमाली जिल्लामा अधिक रहेको जनाइएको छ । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले आयोजना गरेको अन्तक्र्रियामा उक्त जानकारी दिइएको हो ।


विद्यालय पुनर्निर्माणमा दातृ निकायले सहयोग गर्दै आएका छन् । चीनले ५ जिल्लाका १३ विद्यालय पुनर्निर्माण प्रतिबद्धतासहित भवन निर्माण सुरु गरेको छ । भारतले ७ जिल्लाका ७० विद्यालय पुनर्निर्माण गरिदिने प्रतिबद्धता गरे पनि हालसम्म निर्माण थालिएको छैन । कार्यक्रममा प्राधिकरणका सहसचिव कृष्ण दवाडीले दुई वर्षभित्र सबै विद्यालय पुनर्निर्माण सक्ने बताए । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले विद्यालय पुनर्निर्माणका अधिक जिम्मेवारी प्राधिकरणले लिने र यसअघिदेखि पुनर्निर्माण भइरहेका कार्यलाई मन्त्रालयले स्थानीय सरकार मातहत सम्पन्न गर्ने बताए ।

प्रकाशित : असार ५, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?