कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पढाइमा मग्न मुसहर बालक

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका २८, मेघौलीमा रहेको साझापुर माविमा पत्रुस मुसहर २ महिनाअघि भर्ना भएका हुन् । मुसहर समुदायका बालबालिका खासै विद्यालय जाँदैनन् ।

पढाइमा मग्न मुसहर बालक

बल्ल–बल्ल भर्ना भए पनि स्कुल आउन खोज्दैनन् । तर भर्ना भएको दिनदेखि पत्रुस भने सधैं विद्यालय पुग्छन् । स्कुलप्रति उनको आकर्षण देखेर शिक्षकहरू पनि छक्कै परेका छन् ।


राष्ट्रिय भर्ना अभियानअन्तर्गत वैशाख ५ मा उनी विद्यालय भर्ना भएका थिए । उनको अभिभावक पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बनेका थिए ।


दाहाल अभिभावक बनेर पत्रुससहित अरुण मुसहरलाई विद्यालय भर्ना गराएका थिए । अरुण कक्षा १ मा भर्ना भएका थिए । पत्रुस ५ वर्ष पनि पुगेका थिएनन् त्यसैले शिशु कक्षामा पढ्ने भए । भर्नापछि पत्रुस स्कुल नआउने भन्ने शंका विद्यालयलाई थियो ।


‘तर ऊ नियमित आएको छ,’ शिक्षिका गोमा विकले भनिन् । दाहालले यी दुई मुसहर बालकका लागि दिउँसोको खाजाको प्रबन्धसमेत गरेका छन् । उनीहरू प्रत्येकदिन ३० रुपैयाँबराबरको खाजा खान पाउँछन् ।


‘खाजाले गर्दा पनि पत्रुस विद्यालय आउन हुरुक्क हुन्छ । पढ्न पनि ध्यान दिएकै छ,’ गोमाले भनिन् । कक्षा १ मा भर्ना भएका अरुण पनि नियमित विद्यालय पुग्छन् । हजुरआमा बर्सातिया मुसहर अरुणलाई स्कुल पुर्‍याउन आउँछिन् । छुट्टी भएपछि लिन पनि आउँछिन् ।


‘अरुण स्कुल जाने भनेपछि खुसी हुन्छ । एक दिन पेट दुख्यो भनेर गएन नभए जान्न भन्दैन,’ विद्यालयमै भेटिएकी अरुणकी हजुरआमाले भनिन् । अरुणकी आमा छैनन् । त्यसैले हजुरआमाले ख्याल राख्ने गर्छिन् । प्रधानाध्यापक तेजेन्द्र भुसाल पूर्वप्रधानमन्त्री दाहालले अभिभावक बनेर मुसहर बालबालिका भर्ना गरेका कारण अरू पनि विद्यालय आउने गरेको बताए ।


‘उहाँले २ जनालाई भर्ना गरी जानुभयो । तर त्यो कार्यक्रमपछि यहाँ आफ्ना बालबालिका भर्ना गर्न धेरै अभिभावक इच्छुक भए,’ भुसालले भने । विद्यालयमा भर्ना हुने दर बर्सेनि घट्दो थियो । यो वर्ष भने प्राथामिक तहको कक्षामा अघिल्लो वर्षभन्दा धेरै विद्यार्थी भर्ना भएको उनले सुनाए । अघिल्लो वर्ष शिशुमा २७ विद्यार्थी थिए । यो वर्ष ३७ पुगेका छन् ।


२ जनाले मात्रै दिउँसो खाजा खान पाउँदा केही विद्यार्थीले हामीलाई पनि खाजा खोइ भनेर सोध्ने गरेका छन् । तर, आउँदो आर्थिक वर्षदेखि मुसहर र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाका लागि पत्रुस र अरुणलाई जस्तै खाजाको व्यवस्था हुने प्रधानअध्यापक भुसालले बताए । भर्ना अभियानले मुसहर समुदायमा शिक्षाको आवश्यकता बुझाएको उनको भनाइ छ ।

प्रकाशित : असार ६, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?