कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

असुरक्षित बन्दै जिल्ला कारागार

अवधेशकुमार झा

राजविराज — पछिल्लो समय सप्तरी जिल्ला कारागार असुरक्षित बन्दै गएको छ । लामो समयदेखि जेलरको पदपूर्ति हुन नसक्नु, निमित्तमा रहेका जेलरले समय नदिनु तथा करारका कार्यालय सहयोगीका हातमा प्रशासनको कार्यभार रहनुले कारागार असुरक्षित बन्दै गएको हो ।

असुरक्षित बन्दै जिल्ला कारागार

लामो समयदेखि कारागारमा दरबन्दीअनुसारको शाखा अधिकृत जेलरका रूपमा आएका छैनन् । केही महिनायता कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्ने सीअहेब सत्यनारायण यादव नै निमित्त जेलर छन् । उनी कारागार सुरक्षाको विषयमा जानकार पनि छैनन् ।


त्यसैले त पछिल्लो समय कारागारभित्रै मदिरा र गाँजा सहजै पुग्न थालेको छ । यसले यहाँको सुरक्षामाथि प्रश्नसमेत उठेको छ । यहाँ चौकीदारको आतंकका कारण अन्य कैदीबन्दी त्रासमा छन् ।


करारका कार्यालय सहयोगी चन्दन भनिने चन्द्रनारायण यादव र ‘ए’ ब्लकका र जितेन्द्र यादव तथा ‘बी’ का चौकीदार श्यामनारायण यादवको मिलेमतोमा कारागारभित्र मदिरा र गाँजा पुग्ने गरेको एक कैदी बताउँछन् । सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सइ) को कमान्डमा २५ प्रहरी खटिए पनि चेकजाँच गरिँदैन ।


डेढ वर्षअघि कारागारमा दही लगिएको प्लास्टिकको कालो ड्रमभित्र १ केजी गाँजा फेला परेको थियो । ‘कारागारभित्र मदिरा त अहिले सहजै पाइन्छ,’ एक कैदीले कान्तिपुरसित भने, ‘भित्र दुई चौकीदारको आतंक छ, बाहिरी वातावरण र थर्काउने काम कार्यालय सहयोगी चन्दनले गर्छन् ।’


यस्तै कारागारभित्रै लागूऔषधको कारोबारसमेत हुने ती कैदीको दाबी छ । कारगारमा अहिले २ सय ७९ कैदीबन्दी छन् । कारागार प्रशासनको निरीहताका कारण सुरक्षाकर्मीले पनि आफ्नो रणनीतिअनुसार काम गर्न नसकेको अवस्था छ ।


मोबाइल सुविधा निर्बाध

प्रावधानविपरीत कारागारभित्र मोबाइल फोनका निर्बाध प्रयोग भइरहेको छ । कारागार प्रशासनले ‘ए’ ब्लक र ‘बी’ ब्लक गरी २ सेट मोबाइल फोन उपलब्ध गराएको छ । ‘ए’ ब्लकका चौकीदार जितेन्द्र यादवसित ९८२४७८५३१८ र ‘बी’ ब्लकका चौकीदार श्यामनारायण यादवसित ९८२४७८५३१० नम्बरको मोबाइल छ ।


दुवैले आकस्मिक समस्या आउँदा प्रयोगका लागि आफूहरूले पाएको बताउँछन् । तर, यो फोनबाट अन्यत्र पनि दैनिक कुरा हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कारागारभित्र मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था नरहेको बताए ।


‘कारागारभित्र मोबाइल फोन प्रयोग गर्न पाइँदैन, प्रतिबन्ध छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले टेलिफोनमा कान्तिपुरसित भने, ‘यदि प्रयोग भएको रहेछ भने स्थानीय प्रशासनसितको समन्वयमा नियन्त्रणमा लिन्छौं ।’


छैनन् जेलर

कारागारमा जेलरका रूपमा शाखा अधिकृतको दरबन्दी छ । तर, वर्षौंदेखि यहाँ दरबन्दीअनुसारको पदपूर्ति भएको छैन ।


कहिले नासु त कहिले स्वास्थ्य जाँचका लागि खटिएका सीअहेब निमित्त भएर कारागार प्रशासन चलाउँदै आएका छन् । भारतीय सीमाभन्दा १० किमि दूरीमा रहेको कारागार सुरक्षा दृष्टिले अति संवेदनशील मानिन्छ ।


अतिक्रमणको मार

कारागारको करिब २ बिघा अतिक्रमण भएको छ । अतिक्रमणकै कारण कारागार सुरक्षामा चुनौती पनि थपिएको छ । कारागारको पूरै क्षेत्रमा पर्खाल नहुँदा स्थानीयले अतिक्रमण गरिरहेको निमित्त जेलर सत्यनारायण बताउँछन् ।


निमित जेलर सत्यनारायणले कारागारभित्र विकृति हुन सक्ने बताए । उनले भने, ‘चौबीसै घण्टा म हुँदिनँ, म नभएका बेला विकृति भएको हुन सक्छ, पत्ता लगाएर कानुनी प्रक्रिया अघि बढाउँछु ।’ केही दिनअघि मात्र प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले राजविराज कारागारको निरीक्षण गरेका थिए ।

सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले कारागारजस्तो संवेदनशील स्थानको सुरक्षामा कुनै कमी नहुने बताए । उनले भने, ‘कारागार अत्यन्तै संवेदनशील स्थान हो, यसको सुरक्षामा कुनै कमी हुँदैन, त्यहाँभित्र कानुनविपरीतका कार्यहरू भइरहेका छन् भने हामी तत्कालै नियन्त्रण गर्छौं ।’


प्रजिअ पौडेलले केही दिनअघि मात्र आफू निरीक्षणका क्रममा जाँदा यसबारे केही सूचना नपाएको बताए । उनले भने, ‘कारागारमा कानुनविपरीत कार्य भइरहे त्यो दुर्भाग्यपूर्ण हो, म तत्काल त्यसको नियन्त्रण गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनेछु ।’

छानबिन सुरु

कारागारको विकृतिबारे कान्तिपुरले समाचार संकलन थालेपछि बुधबारबाट स्थानीय प्रशासनले छानबिन थालेको छ । सहायक प्रजिअ नरबहादुर खड्का र डीएसपी भावेश रिमालसहितको टोलीले कारागारको अवस्थाबारे छानबिन गरिरहेको हो ।


सहयोगीका हातमा साँचो

कारागारको साँचो करारका कार्यालय सहयोगी चन्दनकै हातमा छ । निमित्त जेलर सीअहेब सत्यनारायण नभएका बखत साँचो भने चन्दनको मातहतमा जाने गरेको छ ।


चन्दनले चाहेका बेला कारागार खोल्ने र सामान भित्र्याउने गरेका छन् । ‘कारागार जस्तो संवेदनशील स्थानको साँचो कार्यालय सहयोगीलाई दिइनु ठूलो चुनौती हो,’ एक सुरक्षाकर्मीले भने ।


निमित जेलर सत्यनारायण आफू चौबीसै घण्टा नबस्ने भएकाले साँचो कार्यालय सहयोगीहरूकै जिम्मा लगाउनुपर्ने बाध्यता रहेको बताउँछन् । ‘मेरो घर नजिकै छ, ५ मिनेटमा आउन सक्छु तर अपर्झट कुनै समस्या आउँछ कि भनेर साँचो दिएर गएको हुन्छु,’ उनले भने ।

प्रकाशित : असार ६, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?