कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शोकमा डुब्यो देवकोटाको गाउँ

गोरखा — गत कात्तिक अन्तिम साता पालुङटार नगरपालिका ४ ठाँटीपोखरीकी १४ वर्षीया राधिका बस्नेतमा स्वास्थ्य–समस्या देखियो । टोलाइरहने र धेरै नबोल्ने उनी कात्तिक २७ मा बेहोस भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य संस्था लगियो ।

शोकमा डुब्यो देवकोटाको गाउँ

स्थानीय स्वास्थ्यकर्मीले ‘ब्रेन’ मा समस्या देखिएको भन्दै काठमाडौं लैजान बाबु ईश्वर बस्नेतलाई सुझाए । गाउँकै स्नायु चिकित्सक उपेन्द्र देवकोटालाई छोरीको स्वास्थ्य समस्या बताउने उनले निधो गरे ।


‘एकजना छिमेकीमार्फत उहाँको मोबाइल नम्बर पाएँ । उहाँले घरमै आउन भन्नुभयो,’ उनले भने, ‘घर पुगेपछि रोग नलाग्नु लागिसक्यो, ब्रेन ट्युमरको समस्या रहेछ, म आफ्नै हातले अप्रेसन गर्छु भनेर मिठो वचन दिनुभयो ।’ बाँसबारीस्थित न्युरो अस्पतालमा ईश्वरले छोरीलाई भर्ना गरे ।


‘मंसिर १ गते अप्रेसनको मिति तोकिएको थियो, पाँच घण्टा लगाएर अप्रेसन गर्नुभयो,’ उनले भने, ‘मेरै छोरीको अप्रेसन गर्दागर्दै उहाँलाई इरिटेड फिल भएछ । शौचालय जाँदा पहेंलो पिसाब आयो भन्नुहुन्थ्यो, त्यही बेलादेखि उहाँ आफैं बिरामी हुनुभएको हो ।’ राधिकाको शल्यक्रिया सफल भयो ।


पित्तनलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतको किंग्स अस्पतालबाट उपचार गराई स्वदेश फिर्ता भएपछि राधिकालाई भेटेर स्वास्थ्यअवस्था बारेमा जानकारी लिएका थिए । ‘विदेशबाट फर्किएपछि छोरीलाई लिएर म उहाँकै घर गएको थिएँ, सँगै फोटो खिच्यौं,’ ईश्वरले भने, ‘सी इज

माइ लास्ट केस भन्दै उहाँले छोरीको टाउकोमा हात राखेर पढाइ कस्तो छ, पढाइमा समस्या छ कि छैन सोध्नुभयो ।’


राधिकाले शल्यक्रियापछि पटकपटक डा. देवकोटालाई भेट्ने इच्छा जनाउने गरेको उनले बताए । ‘अस्ति घर आउँदा पनि नानीले भेट्छु भनेपछि लगेर भेटाएँ तर उहाँ बोल्न सक्ने अवस्था थिएन,’ ईश्वरले भने । आफूलाई उपचार गर्ने डक्टरको मृत्यु भएको खबर सुनेपछि राधिका सोमबार साँझबाट निराश छिन् । ‘हिजो बेलुकी नानीले खाना पनि खाइनन्, रोइराखेकी छन्,’ उनले भने ।


डा. देवकोटाले पालुङटार ४ लुइँटेलको अमरज्योति जनता माविमा पढेका थिए । शोकमा मंगलबार एक दिन उक्त विद्यालय बन्द गरिएको छ । ४ कक्षासम्म घर नजिकैको सुदर्शन प्राविमा पढेका देवकोटा ५ कक्षाबाट अमरज्योतिमा भर्ना भएका थिए ।


२०२६ सालमा एसएलसी दिएका उनी ‘बोर्ड टेन्थ’ भएका थिए । ‘एक मिनेट मौन धारण गर्‍यौं,’ विद्यालयका प्रधानाध्यापक गोविन्द खनालले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विद्यालयलाई चिनाएको र उहाँले देखाएको बाटोमा अघि बढ्न विद्यार्थीलाई आग्रह गरेर आजको पठनपाठन बन्द गर्‍यौं ।’ देवकोटा उक्त विद्यालयका पूर्वविद्यार्थी समूहको संस्थापक अध्यक्ष पनि हुन् ।


‘उहाँको भिजन विद्यालयले नयाँ केही गर्नुपर्छ भन्ने हुन्थ्यो,’ खनालले भने, ‘बिरामी हुनुभन्दा १५ दिनअघि घरबाट यहाँसम्म हिँडेरै आउनुभएको थियो । त्यतिखेर पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार्न हामीबीच धेरै कुराकानी भएको थियो । फेरि आउँछु भन्दै बिदा मागेर जानुभएको, यस्तो घटना सुन्यौं ।’


देवकोटाले स्वास्थ्यमन्त्री हुँदा विद्यालय र छात्रावास भवन मर्मतका लागि सहयोग गरेको खनाल स्मरण गर्छन् । ‘भूकम्पले भत्काएको विद्यालय पुनर्निर्माणमा पनि सहयोग गर्छु भन्नुभएको थियो,’ उनले भने । सहपाठी नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई कक्षामा प्रथम र देवकोटा सधैँ दोस्रो हुन्थे ।


६५ वर्षीय देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । शोकमा मंगलबार ठाँटीपोखरीको भवानी मावि पनि बन्द रह्यो । एसएलसी परीक्षा दिएपछि देवेकाटाले तीन महिना उक्त विद्यालयमा पढाएका थिए । ‘एसएलसी दिएपछिको ग्यापमा उहाँले यहाँ पढाउनुभएको हो,’ सहायक प्रधानाध्यापक प्रेमबहादुर गुरुङले भने ।


पालुङटारको बोहरागाउँस्थित पुख्र्यौली घर पुग्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा जनाएपछि देवकोटालाई गत जेठ २६ मा यहाँ ल्याइएको थियो । हेलिकप्टर चार्टर गरेर पुख्र्यौली घरमा ल्याइएका उनलाई भेट्नेको भीड लागेको थियो ।


उनका दौतरीहरू बाल्यकाल सम्झँदै थिए । ‘टालाको भकुन्डो एक्लै पनि खेलिरहने हो,’ स्थानीय बुद्घिविलास देवकोटाले भने, ‘एकदमै हक्की स्वभावको हुनुहुन्थ्यो ।’ डा. देवकोटाको निधनसँगै बोहरागाउँ शोकमा डुबेको छ । केही स्थानीय उनको अन्तिम संस्कारका लागि काठमाडौं गएका छन् ।

प्रकाशित : असार ६, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?