१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गौतम बुद्ध विमानस्थल परिसरमा गरिएको आन्दोलन स्थगित

माधव ढुंगाना

भैरहवा — निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना परिसरमा स्थानीयबासिन्दाले दुई दिन अघिदेखि गरेको आन्दोलन स्थगित भएको छ ।

गौतम बुद्ध विमानस्थल परिसरमा गरिएको आन्दोलन स्थगित

बिहीबारदेखि मुअब्जा वितरण प्रक्रिया सुचारु गर्ने गर्ने सहमतिमा आन्दोलन स्थगित भएको हो । आयोजनाको निर्माणाधीन धावनमार्गमा टेन्ट लगाएर स्थानीयले आन्दोलन गरेपछि धावनमार्गको निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो ।


मुअब्जा वितरणकालागि नेपाल नागरिक उड्ययन प्राधिकरणले तत्काल २ अर्ब रुपैयाँ आयोजनाको खातामा पठाइदिएको र उक्त रकम सम्बन्धित जग्गा धनीलाई वितरणकालागि तत्कालै प्रक्रिया थालिने सहमतिमा आन्दोलन स्थगित गरिएको जानकारी आन्दोलनमा सक्रिय रहेका रुपन्देही-३ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले दिए ।


पाण्डेका अनुसार, प्राधिकरणका महानिर्देशक र पर्यटन राज्यमन्त्रीले मुअब्जाकालागि आयोजनाको खातामा तत्काल २ अर्ब रुपैयाँ पठाईसकिएको जानकारी दिँदै दुई दिनभित्र बाँकी ३ अर्ब रुपैयाँपनि उपलब्ध गराइने प्रतिबद्धता जाहेर गरेका थिए ।


गत फागुन महिनासम्म करिव ८ सय परिवारलाई ६ अर्ब रुपैयाँ मुअब्जा वितरण गरेको आयोजनाले त्यसपछि मुअब्जाकालागि बजेट प्राप्त नभएकाले वितरण कार्य रोकिएको थियो ।


विमानस्थलकालागि पछिल्लोपटक गरिएको जग्गा अधिग्रहणबाट करिव २ हजार २ सय परिवारले मुअब्जा पाउँछन् । जसकालागि करिव २३ अर्ब रुपैयाँ आवश्यक पर्छ ।


आयोजना प्रमुख ओम शर्माले आन्दोलन स्थगित हुनासाथ रोकिएको धावनमार्गको काम सुचारु भइसकेको बताए ।


प्रकाशित : असार ६, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?