२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

यौन हिंसाको जोखिममा बालबालिका

शिल्पा कर्ण

काठमाडौँ — प्रहरीले बाल यौन दुराचार आरोपमा नेदरल्यान्डका एक बाल चिकित्सकलाई बिहीबार ठमेलस्थित होटलबाट पक्राउ गर्‍यो । ६६ वर्षीय पिट हेन भान तेरविस्गा नेपाली बालकसँगै ठमेल, सातघुम्तीको होटलबाट पक्राउ परेका हुन् ।

यौन हिंसाको जोखिममा बालबालिका

प्रहरीले उनलाई बाल यौन दुराचार (पेडोफिल) आरोपमा जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनले यौन दुराचार गर्ने गरेको एक बालकलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको छ । ती बालकले आफू ४ वर्षदेखि पीडित रहेको बताएका छन् ।


यसैगरी, हेनरिकस एड्रिनस जोसेफस क्रुजस्सन पनि यौन दुराचार आरोपमै गत वर्ष कात्तिक २४ गते कोटेश्वरबाट पक्राउ परे । उनी बसेको स्थानबाट दुई बालकलाई उद्धार गरियो भने थप दुई बालकमाथि उनले यौनशोषण गर्ने गरेको अनुसन्धानका क्रममा देखियो । नेदरल्यान्ड्स टिलबर्ग निवासी ७५ वर्षीय उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जगन्नाथ देवल थुनामा पठाएको छ ।


यी केही प्रतिनिधि घटनासँगै बाल यौन दुराचार आरोपमा पक्राउ पर्नेमा सबैजसो विदेशी देखिएका छन्, र पीडित सबै बालक । विदेशी नागरिकहरू समाज सेवा र सहयोगको आवरणमा नेपाली बालबालिकामाथि यौनशोषण गर्ने गरेको पछिल्लो केही घटनाले प्रमाणित गर्छ । उनीहरूले केही न केही लोभलालच देखाएर बालकको यौनशोषण गर्ने गरेको देखिन्छ ।


केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार यौनशोषणको सिकार भएका बालकको संख्या बालिकाको भन्दा निकै न्यून हो । यसलाई प्रतिनिधि घटना मान्दै गम्भीर हुनुपर्ने अवस्था रहेको प्रहरी अधिकारी बताउँछन् । यस विषयमा जागरूकताको निकै खाँचो रहेकोले प्रहरीसामु आउने घटनाको संख्या उल्लेख्य नभएको उनीहरूको भनाइ छ ।


ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म ७ वटा पेडोफिलका घटनामा ७ विदेशी र एक जना नेपाली सहयोगी पक्राउ परिसकेका छन् । यस अवधिमा पक्राउ परेकाबाट पीडित बालकको संख्या २३ छ । पीडकमा सबै नै ४५ वर्ष माथिका छन् भने पीडित किशोर र १६ वर्षसम्मका बालक रहेको प्रहरीले जनाएको छ । ब्युरोको तथ्यांक हेर्दा ४५ देखि ७५ वर्षका वृद्ध विदेशी पक्राउ परेको देखिन्छ, धेरैजसो ६० वर्ष नाघेका छन् । दर्ता भएका ७ वटै मुद्दामा विदेशी नागरिक मुख्य अभियुक्त हुनु प्रतिनिधि घटना मात्र रहेको र प्रहरीको आँखा छलेर यस्ता घटना थुप्रै भइरहेको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ बताउँछन् ।


‘हामीलाई बालक कोही विदेशी वा पुरुषसँग हिमचिम बढेको, बसेको देखे नयाँ लाग्दैन,’ गुरुङले भने, ‘त्यसकै फाइदा उठाउँदै बिस्तारै सम्बन्ध बढाएर बालकलाई यौन दुराचार गर्ने गरेको देखिएको छ ।’ उनीहरूले परिवारलाई विश्वासमा लिने, बच्चालाई पढाइदिने, आर्थिक सहयोग गर्ने, नयाँ कपडा र सामान किनिदिने, घुम्न लैजाने र त्यही निकटताको फाइदा उठाउँदै शोषण गर्ने गरेको गुरुङको भनाइ छ । प्राय: पीडित बालक विपन्न परिवार र आमाबुवाले समय दिन नसक्ने किसिमको हुने गरेको उनको अनुभव छ ।


प्रहरी प्रवक्ता शैलेश थापाको भनाइमा सडक बालबालिका पनि यस्ता विदेशीको सिकार भइरहेका छन् । सडकमै बस्ने, लागूपदार्थ सेवन गर्ने, घरपरिवारबाट टाढा रहेका बालक झन् बढी जोखिममा रहेको उनको भनाइ छ । ‘कति अवस्थामा त उद्धार गरिएका बालकको अभिभावक भेट्नै कठिनाइ हुन्छ,’ थापाले अनुभव सुनाए ।


बालकलाई सुरुमा खानेकुरा, मोबाइल आदि उपहार देखाएर उनीहरूसँग निकटता बढाउने, नुहाइदिने, लुगा फेरिदिनेजस्ता कार्य गर्छन् । सम्बन्धको दायरा फराकिलो बनाउँदै उनीहरूलाई गुप्तांग खेलाउन लगाउने, मुखमैथुन गराउने, गुद्वार मैथुन गर्नेजस्ता कार्य गर्न/गराउन थाल्छन् । ‘सडक बालकहरूको हकमा एक किसिमको नेटवर्क हुने गरेको देखिएको छ । एउटा बालकलाई शोषण गरिसकेपछि त्यसैमार्फत अरूलाई पनि बोलाउन लगाउने र शोषण गर्ने गरेको देखिएको घटना पनि छन्,’ प्रवक्ता थापाले भने ।


धेरैजसो घटना विदेशीको बढीजसो बसाइ र चहलपहल हुने ठमेल क्षेत्रमा भएका छन् । कुल ८ घटनामा ५ घटना ठमेलको होटलमा छापा मार्दा खुलेको देखिन्छ । प्रहरीले सूचना पाएपछि छापा मार्दा कोही अर्धनग्न त कोही बालकलाई कोठाभित्रै लुकाएर राखेको अवस्थामा पक्राउ पर्छन् ।


उद्धार गरिएका बालकहरूमा मानसिक विचलन देखिने गरेको उपरीक्षक गुरुङको भनाइ छ । कलिलो उमेरमा भएको यस्ता घटनाले उनीहरूको व्यक्तित्व विकासमा बाधा पुर्‍याउने र समय क्रमसँगै दीर्घकालीन असर देखिने गरेको उनले बताए ।


मनोविज्ञ करुणा कुँवर त्यस्ता घटनाका पीडित बालकहरूमा शारीरिक र मानसिक समस्या देखिने बताउँछिन् । ‘यदि बच्चालाई डर, धम्की देखाई यौनजन्य दुव्र्यवहार गरिएको हो भने निद्रामा डराउने, तर्सिने हुनुका साथै आत्मविश्वासमा कमी हुने हुन्छ । पेडोफिल हुनुको वास्तविक कारण खुल्न सकेको छैन,’ कुँवरले भनिन्, ‘केही अध्ययनले जसलाई कम उमेरमा त्यस्तो दुव्र्यवहार भएको हुन्छ उसले नै पछि गएर अन्य बालबालिकाको यौन दुराचार गर्ने गरेको देखाएको छ ।’ यसलाई निको पार्ने उपचार पनि पत्ता लागेको छैन तर मानसिक उपचारका क्रममा कामेच्छा घटाउने औषधि प्रयोग गरेर रोगीलाई नियन्त्रण राखिने गरिएको छ ।

बेपर्वाह अभिभावक
नेपाली समाजमा बालिका किशोरावस्थामा प्रवेश गर्ने बित्तिकैदेखि उनी कोसँग डुलिरहेकी छन्, कहाँ जान्छिन्, के–के गर्छिन् अभिभावकले ती सबैको ख्याल राख्ने गर्छन् । छोरी वा बालिका यौनशोषणमा पर्ने हो कि भन्ने डर हुन्छ । अभिभावकसँगै उनीमाथि आफन्त, छरछिमेक सबैको ध्यान हुन्छ । तर बालकमाथि अभिभावकको खासै ध्यान जाँदैन, पुरुषसँग देखे भने सामान्य लिन्छन् । यसकै फाइदा विदेशी अपराधीहरूले उठाइरहेको देखिन्छ ।


धेरैजसो बालिकाहरू आफूमाथि हुन सक्ने यौनशोषणका विषयमा धेरथोर जान्ने भए पनि बालकको हकमा अभिभावक र स्वयं बालकसमेत सम्भावित हिंसाबारे बेखबर देखिन्छन् । बालकलाई यस्ता विषयमा परिवार वा विद्यालयमा सिकाइन्न । प्रहरी उपरीक्षक गुरुङको भनाइमा, ‘परिवारलाई सामान्यत: बालकमाथि भएको हिंसाको जानकारी भएको देखिन्न । उनीहरूका लागि बालकमाथि पनि यौनहिंसा हुन्छ भन्नु सोचभन्दा परको कुरा हो ।’


बालक उपलब्ध गराउन नेपालीको संलग्नता केवल एक घटनामा देखिए पनि यस्ता कार्यमा सहयोग गर्ने नेपाली धेरै हुन सक्ने प्रहरीको अनुमान छ ।


अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस २०७३ भदौमा ठमेलबाट पक्राउ परेपछि उनका सहयोगी स्वयम्भूका बुद्ध पुतवारलाई पनि सोही समय पक्राउ गरिएको थियो ।
४८ वर्षीय केनेथलाई विभिन्न जिल्लाबाट यौनशोषणका लागि पुतवारले नै बालक उपलब्ध गराउँथे । उनले अन्य विदेशीलाई पनि नेपाल बोलाएर यौनसम्बन्धका लागि बालक उपलब्ध गराउने गरेको खुलेको थियो । त्यस समय होटलबाट उद्धार गरिएका ४ सँगै केनेथबाट १० बालक पीडित भएको खुलेको थियो । अनुसन्धानका क्रममा अमेरिकामा समेत उनीविरुद्ध बाल यौन दुराचारको रेकर्ड भेटिएको थियो ।


केनेथ र पुतवार दुवैमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारका साथै बाल यौन दुराचारको मुद्दा चलाएको थियो । हाल २०७४ वैशाखमा काठमाडौं जिल्ला अदालतको फैसलाले केनेथलाई ९ वर्ष कैद र दुई बालकलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । पुतवारलाई चार वर्ष कैदसजाय सुनाइएको छ । टुरिस्ट भिसामा आएका जर्मन नागरिक ६३ वर्षीय अल्बर्ट फ्रेड क्लिनिकेलाई पनि २०७४ असारमा पक्राउ गरिएकोमा अदालतले ९ वर्ष कैद र उद्धार गरिएका बालकलाई १ लाख क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ ।


तर बालिकाको हकमा जस्तो समाजमा पुनस्र्थापनाका लागि जति संघर्ष बालकको हकमा गर्नु पर्दैन । बालिका करणी भए घरपरिवारले त्यागिदिने, विभिन्न संस्थाको शरणमा जानुपर्ने स्थिति भए पनि बालकको हकमा समाजमा स्थापना गर्न खासै जटिल हुन्न । अभिभावक दु:खी भए पनि परिवारमा पुनस्र्थापना गराउन गाह्रो नहुने उपरीक्षक गुरुङको अनुभव छ ।
मुलुकी ऐनको जबरजस्ती करणीको महलअन्तर्गत बालयौन दुराचार पुष्टि भएको खण्डमा अधिकतम ११ वर्षसम्मको जेलसजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने हुन सक्छ । मुलुकी ऐन ११ औं संशोधन (२०५८) ले बाल यौन दुराचारलाई कानुनी रूपमा स्थान दिएको पाइन्छ । यस ऐनको प्रयोग गर्दै तीन विदेशीलाई अदालतले सजाय सुनाइसकेको छ ।


तर विदेशी मात्र नभई यस्ता घटना नेपालमा पनि हुने गरेको भन्छिन्, मनोविद् कुँवर । पेडोफिलिया एक मानसिक रोग हो, जसमा व्यक्तिलाई आफूभन्दा कम उमेरका व्यक्तिसँग यौनसम्बन्ध राख्न मन लाग्छ । अहिलेसम्मका घटनामा बालक मात्र प्रताडित देखिए पनि बालिका पनि पेडोफिलको सिकार हुने गरेका छन् । बालिका करणी हुनु पनि बाल यौन दुराचारकै स्वरूप हो ।


पक्राउ पर्नेमा धेरैजसो अधवैंसे र वृद्ध देखिए पनि पेडोफिल युवामा हुन्न भन्नु सही नहुने मनोविद्को भनाइ छ । पक्राउ परेको उमेरका आधारमा वृद्धमा मात्र हुने भन्नु उचित हुन्न । उनीहरू लामो समयदेखि त्यस्ता गतिविधि गरिरहेको हुने तर पछि पक्राउ परेको भरमा पेडोफाइल केवल अधवैंसे वा वृद्धमा हुन्छ भन्नु गलत हुन्छ । यसैगरी विदेशी मात्र पेडोफिल हुन्छन् भन्नु पनि भ्रम मात्र हुने उनी बताउँछिन् । नेपालमा बालिकामाथि भइरहेको यौन हिंसा पनि पेडोफिलियाकै उदाहरण हुन् ।


पेडोफिलको न्यूनतम उमेर १६ वर्ष हुन्छ र उसले सिकार बनाउने बच्चा ऊभन्दा कम्तीमा पनि ५ वर्ष कान्छो हुन्छ । अर्थात् आफूभन्दा कम्तीमा पनि ५ वर्ष कान्छोसँग यौनसम्बन्धको इच्छा हुनु पेडोफिलिया हो । तर यसो भन्दैमा ५ वर्ष फरकको सबै शारीरिक सम्बन्ध पेडोफिलिया होइनन् । यसो हुन सिकार बालक वा बालिका किशोरावस्थाको हुनुपर्छ ।


नेपालमा पछिल्लो वर्षमा बालिका करणीका घटनामा पनि निकै वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा कुल ९ सय ८१ महिलामाथि बलात्कार भएको देखिन्छ जसमा ५८ प्रतिशतभन्दा बढी १६ वर्षमुनिका बालिका छन् । आर्थिक वर्ष २०७२/७३ मा जबरजस्ती करणीको संख्या बढेर १ हजार ८९ भएको छ जसमा बालिका झन्डै ५२ प्रतिशत रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । त्यपछिको वर्षमा यो संख्या १ हजार १ सय ३१ भएको छ । जसमा पीडित बालिका झन्डै ५८ प्रतिशत देखिन्छन् । यस आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक हेर्दा ९ सय ७० जना १६ महिलामाथि बलात्कार भएको छ, ४ सय ८५ माथि बलात्कार प्रयास भएको छ ।


प्रहरी प्रवक्ता थापा भन्छन्, ‘७०–८० प्रतिशत बालिका करणीका घटनामा उनीहरूले चिनेजानेको मान्छे नै संलग्न छन् । यस्तोमा उनीहरूले परिवारको इज्जत जोगाउने नाममा प्रतिकूल बकपत्र गरिदिने डर रहन्छ ।’ धेरैजसो घटनामा बालिकाका बुवा, दाइ, उनका साथी, पारिवारिक मित्र, ब्वाइफ्रेन्ड र उनका साथीजस्ता चिनेजानेकैको नाममा उजुरी परेको हुन्छ । थापाका अनुसार आफन्तलाई नै सजाय दिलाउनेमा परिवारमा एकमत हुन सक्दैन र बालिकालाई बयान फेर्न लगाइन्छ । यसले अभियुक्त सजिलै उम्किन्छ । सामाजिक र पारिवारिक दबाबले बालिकाले बयान फेर्ने गरेका घटना थुप्रै रहेको उनको अनुभव छ ।

प्रकाशित : असार ६, २०७५ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?