कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कांग्रेस जिल्ला सभापति भेला: नेतृत्वप्रति तीव्र आक्रोश

हेटौंडा — कांग्रेस जिल्ला सभापतिहरूले पार्टी नेतृत्वले आफूहरूको अधिकार कटौती गरेको भन्दै आक्रोश पोखेका छन् ।

कांग्रेस जिल्ला सभापति भेला: नेतृत्वप्रति तीव्र आक्रोश

दुईदिने भेलामा बोल्ने अधिकांश सभापतिले निर्वाचन हार्नुमा पार्टी सञ्चालनको कार्यशैली र गलत प्रक्रियाबाट उम्मेदवार चयन मुख्य जिम्मेवार रहेको भन्दै नेतृत्वको आलोचना गरे । स्थानीय तहको उम्मेदवार चयनमा समेत हस्तक्षेप भएको आरोप उनीहरूले लगाए ।

‘स्थानीय तहको टिकट वितरणमा हामीलाई जिम्मेवारीविहीन बनाइयो, क्षेत्रीय सभापतिकहाँ हात जोड्दै जानुपर्ने स्थिति आयो,’ नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भने । पार्टी सभापतिले निर्वाचन हार्नुको नैतिक जिम्मेवारी नलिएकामा पनि सभापतिहरूले कटाक्ष गरे । उनीहरूले आआफ्नो जिल्लाको नैतिक जिम्मेवारी लिन आफूहरू तयार रहेको भन्दै देशभर चुनाव हारेको जिम्मेवारी कसले लिने भन्दै प्रश्न उठाएका थिए । संस्थापनइतर सभापतिहरूले पार्टी नेतृत्वप्रति कडा आक्रोश पोखे पनि संस्थापन पक्षकाले त्यसको प्रतिवाद भने गरेनन् ।

संस्थापनइतर पक्षका सञ्जय गौतम, लबश्री न्यौपाने, नन्दमणि राई, नरेशकुमार श्रेष्ठ, गोविन्द ढुंगाना, रमेश धमलालगायत बहुमत सभापतिले पार्टी नेतृत्वको कार्यशैली र जनभावनाविपरीतका निर्णयले पार्टी कमजोर बनाएको बताए । ‘प्रदेश १ का सबै सभापतिले तत्काल निर्वाचनमार्फत नेतृत्व चयन गर्न सुझाव दिएका छौं,’ भोजपुर सभापति राईले भने, ‘१३ औं महाधिवेशनकै प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिलाई मतदाता र उम्मेदवार बनाउन सकिने सुझाव हाम्रो छ ।’

संस्थापन पक्षका जिल्ला सभापतिहरूले भने अधिवेशन तत्काल सम्भव नभएको भन्दै छोटो समयका लागि जिम्मेवारी तोकेर जानुपर्ने सुझाव दिएका थिए । देउवा निकट दोलखा जिल्ला सभापति रुद्र खड्काले पहिलो सर्त चुनाव भए पनि तत्काल सम्भव नभए जिम्मेवारी तोक्नु उपयुक्त हुने बताए । भेलामा नेता कृष्णप्रसाद सिटौलालाई बोल्न नदिएकोबारे जिल्ला सभापतिहरूले प्रश्न उठाएका थिए । नुवाकोट सभापति केसीले भने, ‘पार्टीमा एकताको कुरा गर्ने तर सभापतिको उम्मेदवार भइसकेको नेतालाई बोल्न नदिने कुरा ठीक भएन ।’

उद्घाटन सत्रमा बोल्न नदिएको भन्दै सिटौला मञ्चमा जान मानेनन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले २ पटक आसनग्रहण गर्न अनुरोध गरे पनि उनी केन्द्रीय सदस्यकै दीर्घामा बसिरहे । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले मात्रै बोल्ने तय भए पनि अन्तिम समयमा उपसभापति विमलेन्द्र निधि, संसदीय दलका उपनेता विजयकुमार गच्छदार र महामन्त्री शशांक कोइराला थपिए ।

प्रकाशित : असार ७, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?