कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कांग्रेसका युवा नेताले भने, ‘महाधिवेशन प्रक्रिया सुरु गर’

नयाँ युगका लागि नयाँ एजेन्डा बोक्न सक्ने नेतृत्व चाहिन्छ

हेटौंडा/काठमाडौं — कांग्रेसका आठ युवा नेताले पार्टीको नेतृत्व परिवर्तनमा जोड दिएका छन् । नयाँ युगका लागि नयाँ एजेन्डा बोक्न सक्ने व्यक्ति चाहिएको भन्दै उनीहरूले नेतृत्व परिवर्तनको मुद्दा उठाएका हुन् ।

कांग्रेसका युवा नेताले भने, ‘महाधिवेशन प्रक्रिया सुरु गर’

हेटौंडामा मंगलबारदेखि सुरु जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा संयुक्त सुझाव प्रस्तुत गर्दै उनीहरूले १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने उल्लेख गरेका छन् । त्यसका लागि शीघ्र महाधिवेशन हुनुपर्ने उनीहरूको माग छ । युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले संयुक्त सुझाव पत्रमार्फत नेतृत्व परिवर्तनको मुद्दा अघि सारेका हुन् ।

उनीहरूले यसअघि केन्द्रीय कार्यसमिति बैठकमा पनि ५१ पृष्ठको लिखित दस्ताबेजमार्फत यही मुद्दा उठाएका थिए । ‘अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिकासमेत सम्भव छैन । अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेन्डा बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न जरुरी छ, अनि त्यो एजेन्डा बोक्ने नेतृत्व पनि,’ उनीहरूले भनेका छन्, ‘महासमिति बैठकमार्फत पार्टीको संघीय विधान पारित गरी शीघ्र महाधिवेशन प्रक्रिया थाल्नु नै आजको आवश्यकता हो ।’

‘हामीलाई निष्ठा र समर्पणको जगमा जनतासँग जोडिएको र जनताले विश्वास गरेको कांग्रेस चाहिएको छ, जहाँ सत्तरी वर्षको स्वर्णिम इतिहासमाथि गर्व गर्दै प्रस्ट ध्येय, सिद्धान्त र कार्यक्रमसहित बलियो र प्रभावकारी संगठन, समयको गतिलाई बुझेर त्यो संगठन हाँक्न सक्ने नयाँ नेतृत्व होस्,’ उनीहरूले भनेका छन्, ‘यस्तो नेतृत्वले मात्रै अहिलेको कम्युनिस्टसँग लड्न र हिजोको भन्दा बलियो र जनमुखी आधुनिक संगठनका रूपमा कांग्रेसलाई डोर्‍याउन सक्छ ।’

उनीहरूले यसको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान रहेको बताएका छन् । सँगै युवा नेताहरूले पार्टीको वैचारिक पक्षको पुनव्र्याख्यामा समेत जोड दिएका छन् । ‘महासमितिमार्फत नयाँ परिवेशमा राष्ट्रियता, लोकतन्त्र, समाजवादका सन्दर्भमा सामयिक व्याख्या, हाम्रो आर्थिक सामाजिक नीति, छिमेकसँगको सम्बन्धलगायत विविध विषयमा सैद्धान्तिक र वैचारिक दस्ताबेज पारित गर्नुपर्छ,’ उनीहरूको जोड छ, ‘त्यसका लागि यो भेलाले ठोस बाटो देखाउनेछ भन्ने अपेक्षा लिएका छौं ।’

उनीहरूले तत्काल पुरानो अवस्थाको पार्टी संरचना बदल्नका लागि प्रदेश र स्थानीय अधिवेशनको माग गरेका छन् । १ सय ६५ निर्वाचन क्षेत्र ३ सय ३० प्रादेशिक क्षेत्र, ७ सय ५३ स्थानीय तह र ६ हजारभन्दा बढी वडा संरचना बनिसकेको अवस्थामा कांग्रेसको संरचना भने पुरानै छ । ‘पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छाया सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक छ,’ उनीहरूको जोड छ, ‘यो संघीयता र संविधान कार्यान्वयन गर्ने प्राथमिक जिम्मेवारीमा रहेको कांग्रेस आफ्नै संरचना संघीय मोडेलमा नलगीकनै कसरी त्यसको नेतृत्व गर्न सक्ला ?’

महासमितिबाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरी नेतृत्व चयन प्रक्रिया अघि बढाउनुका साथै अविलम्ब महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ । ‘हाम्रो विधानअनुसार नियमित रूपमा अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । केन्द्रीय महाधिवेशन नियमित समयमै गर्ने हो भने पनि त्यस अगाडि गर्नुपर्ने वडा, गाउँपालिका, क्षेत्र, प्रदेशको अधिवेशन गर्न झन्डै १ वर्ष लाग्छ,’ उनीहरूको माग छ, ‘यी तहको अधिवेशनका लागि केन्द्रीय महाधिवेशन नकुरौं । महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब सुरु गरौं ।’ ०७५ सालसम्म स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरी ०७६ मा केन्द्रीय महाधिवेशन गर्नुपर्ने उनीहरूको प्रस्ताव छ ।

प्रकाशित : असार ७, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?