१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

डा. देवकोटाका गुरु पीएन टन्डन भन्छन्, ‘आत्मीय शिष्य गुमाएँ’

न्युरो सर्जरी युनिट स्थापना र सञ्चालन चानचुने काम थिएन । देवकोटाका सामु प्रशासनिक र आर्थिक चुनौतीको पहाड थियो तर उनको अठोट र दृढतासामु ती सबै पाखा लाग्दै गए । 

नयाँदिल्ली — घर नं. १, कडड्डुमा, नयाँदिल्ली । भारतका विख्यात न्युरो सर्जन प्रोफेसर डा. प्रकाशनारायण (पीएन) टन्डनको निवास । त्यहाँ पुग्दा उनी आत्मीय शिष्य गुमाउँदाको शोकमा टोलाइरहेका देखिन्थे ।

डा. देवकोटाका गुरु पीएन टन्डन भन्छन्, ‘आत्मीय शिष्य गुमाएँ’

टन्डन तिनै व्यक्ति हुन् जसलाई वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा आफ्ना प्रिय गुरु मान्थे र उच्च आदर गर्थे । उमेरले २५ वर्ष अन्तर भए पनि यी गुरुचेलाबीचको सम्बन्ध प्रगाढ मित्रबीचकै जस्तो थियो । त्यसको झलक देवकोटाको निधनले उनमा पारेको प्रभावबाटै महसुस गर्न सकिन्थ्यो ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको न्युरो सर्जरी युनिट सञ्चालनको अभियानसँग जोडिएको छ, देवकोटा–टन्डन मित्रताको सुरुवात । बेलायतबाट पढाइ सकेर फर्केलगत्तै डा. देवकोटामा नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न न्युरो सर्जरी युनिट खडा गर्ने ‘भूत’ सवार भयो । न्युरो सर्जरी युनिट स्थापना र सञ्चालन चानचुने काम भने थिएन ।

देवकोटाका सामु प्रशासनिक र आर्थिक चुनौतीको पहाड नै थियो तर उनीभित्रको अठोट र दृढतासामु ती सबै पाखा लाग्दै गए । वीर अस्पतालको तेस्रो तलामा मुलुककै पहिलो न्युरो सर्जरी युनिट स्थापना भयो ।

युनिट खोलेर मात्र भएन, जनशक्ति शून्यझैंं थियो । आफंैमा उच्च किसिमको विशेषज्ञ सेवा । एक जना डाक्टर भएर मात्र पनि नहुने । डाक्टरदेखि नर्ससम्मको दक्ष टिम नै तयार गर्नुपर्ने । यही चुनौतीको उपचार खोज्ने क्रममा देवकोटा टन्डनसँग जोडिए । र, टन्डन देवकोटाको अभियानमा निरन्तर सँगै उभिए ।

सल्लाह, सुझाव दिइरहे । कालान्तरमा यही मित्रता गुरु–चेलाको सम्बन्धमा रूपान्तरण भयो ।

‘न्युरो सर्जरीको जटिल र अत्याधुनिक संरचना खडा गर्न कति गाह्रो हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा थियो । किनकि एम्स सुरु गर्दा पनि नेपालकै जस्तो अवस्था थियो भारतको,’ टन्डनले तीन दशकअघिका दिनहरू सम्झिए । न्युरो सर्जरीका लागि एउटा छुट्टै संसार सिर्जना गर्नुपर्छ ।

सर्जन हुँ भन्दैमा भोलिपल्टदेखि अप्रेसन गर्छु भनेर पनि हुँदैन । ‘तर, देवकोटाले शून्यबाट सुरु गरे र सफल भए जुन चानचुने काम थिएन,’ शोकको सुर्तासँगै उनले दिवंगत चेलाको प्रशंसा गरे ।

वीरमा न्युरो सर्जरी युनिट सञ्चालनमा आएपछि डा. देवकोटाको दिल्ली आउजाउ बाक्लियो । न्युरो सर्जरी क्षेत्रमा दिनैपिच्छे विकास हुने नयाँ–नयाँ प्रविधि र सीपबारे जानकारी राख्न उनी टन्डनसामु पुग्थे । नयाँ अनुसन्धानबारे देवकोटामा देखिने बेग्लै हुटहुटीबाट टन्डन पनि उत्साहित थिए ।

‘त्यही हुटहुटीले उनलाई नयाँदिल्ली ल्याइरहन्थ्यो,’ उनले सुनाए, ‘न्युरो सर्जरीसम्बन्धी तालिम, सम्मेलन र बैठक जे हुन्थ्यो, त्यो मौका पाउनासाथ उनी दिल्ली पुग्थे ।’

न्युरोलोजी सोसाइटी अफ इन्डियाको सदस्यसमेत रहेकाले त्यसको बैठकमा भाग लिन पनि उनी दिल्ली नियमित आइरहन्थे । र, टन्डनलगायतका डाक्टरसँग घण्टौं छलफल गर्थे । उनी आफूले सामना गरेका चुनौती सुनाउँथे र समाधान खोज्थे ।

‘हामीबीच गुरु–चेलाको आत्मीयताको पृष्ठभूमि नेपाली जनतालाई सेवा दिनका लागि अत्यावश्यक र महत्त्वपूर्ण युनिट खडा गर्ने उनको दृढताले तयार पारेको हो,’ टन्डनले भने । वीरमा न्युरो वार्ड खुल्नासाथ नयाँदिल्ली आउने बिरामी हवात्तै घटेको उनको अनुभव छ ।

‘संख्या त अपत्यारिलो ढंगले घट्यो, यहाँ आउने केही बिरामीलाई मैले पनि उपेन्द्र हुँदाहुँदै किन यहाँ आएको भनेर फर्काएको छु,’ टन्डनले भने ।

सन् १९९९ मा सम्पन्न पहिलो साउथ एसियन न्युरो सर्जिकल सम्मेलनमा देवकोटाको प्रस्तुतिले उनी झनै प्रभावित भए । नेपालमा सम्मेलन तयारी सुरु हुँदा डा. टन्डनले अवकाश लिइसकेका थिए । तर, डा. देवकोटाको विशेष आग्रहलाई उनले टार्न सकेनन् । टन्डनले भने, ‘जसरी भए पनि आउनुपर्छ भनेका थिए । देवकोटाको अनुरोध टार्न सक्ने कुरै भएन । अनि म श्रीमतीसहित काठमाडौं गएँ ।’

सम्मेलनमा भारतलगायत सार्कका अन्य मुलुक र बेलायतबाट समेत नाम चलेका चिकित्सकको सहभागिता रह्यो । सम्मेलनमा सहभागी भएपछि त डा. टन्डन देवकोटाको फ्यान नै बनेछन् । ‘नेपालजस्तो मुलुकमा त्यस किसिमको व्यवस्थापन, सहभागिता र छलफल कल्पनाबाहिरको कुरा हो, त्यो डा. देवकोटाका कारण मात्र सम्भव भएको थियो,’ टन्डनले भने, ‘त्यो सम्मेलनमा देवकोटाले छोटो समयमा हासिल गरेको उचाइ थाहा पाउने अवसर पाएँ ।’

सम्मेलनले डा. देवकोटाको मात्र होइन, पूरै नेपालको मान राखेको उनी सुनाउँछन् । डा. टन्डनकै पहलमा सम्मेलनले डा. देवकोटालाई सार्क न्युरो सर्जिकल सोसाइटीको पहिलो अध्यक्ष चुनेको थियो । उनले भने, ‘सम्मेलन सफल बनाउन उनको भूमिकाको जति प्रशंसा गरे पनि पुग्दैन ।

त्यो हामीलाई थाहा थियो, त्यो स्तरको सम्मेलन आयोजना गर्न कति गाह्रो हुन्छ भन्ने । उनले कति जटिलता र कठिनाइ भोगे होलान् भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो ।’

डा. टन्डनको बुझाइमा पेसागत दक्षताका अलावा सरलता र शिष्टताका कारण पनि देवकोटा विशेष थिए । ‘म आफैं छक्क पर्थें, उनले मप्रति देखाएको सम्मान र आदरबाट । जहिल्यै तपाईं मेरो गुरु भन्थे । सायद त्यो उनमा रहेको सुशिक्षित संस्कारको प्रतिविम्ब थियो,’ टन्डनले भने ।

टन्डनका अनुसार उनले सेवा सुरु गर्दा भारतमा पनि ५/६ जना मात्रै न्युरो सर्जन थिए । जबकि अहिले दिल्लीमै २ सयभन्दा बढी होलान् । ‘त्यसले पनि हामीबीच बेग्लै किसिमको घनिष्ठता बनाएको थियो,’ उनले सम्झिए ।

देवकोटाको सेवाभावले आफू निकै प्रभावित रहेको उनले बताए । ‘मैले चिनेसम्म उनमा पैसाप्रति कुनै लालच थिएन । उनले चाहेको भए जति पनि कमाउन सक्थे । तर, उनमा जसरी पनि आफ्नो देशका जनताको सेवा गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘उनी निकै असल र सरल थिए, पूरै माटोसँग जोडिएका । हरेक हिसाबले प्रशंसनीय ।’

पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटाको ४ असारको साँझ निधन भयो । ‘नेपालले एउटा प्रतिभावान र असल छोरो अनि मैले आत्मीय शिष्य गुमाएँ,’ लामो सास फेर्दै ९० वर्षीय डा. टन्डनले भने ।

करिब तीन दशकसम्म नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को न्युरो सर्जरी विभाग निर्देशक रहिसकेका टन्डन भारत सरकारद्वारा दिइने पद्मश्री र पद्म विभूषणबाट सम्मानित छन् ।

प्रकाशित : असार ७, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?