उखु किसानलाई भुक्तानी दिलाउन गृहको पहल

सन्तोष सिंह

धनुषा — गृह मन्त्रालयले किसानलाई उखुको भुक्तानी दिलाउन पहल थालेको छ । उद्योग सञ्चालनमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी तत्काल कृषकलाई भुक्तानीको व्यवस्था मिलाउन पत्राचार गरेको हो । अटेर गरेमा कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्नसमेत भनेको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले गृहको पत्र प्राप्त भएको र भुक्तानी दिलाउन प्रयास थालिएको बताए । किसानले एक महिनादेखि तालाबन्दी गरेको एभरेस्ट सुगरका सञ्चालक र अगुवा उखु कृषकलाई बुधबार छलफलका लागि बोलाइएको थियो । तर उद्योगी भने बैठकमै सहभागी भएनन् ।


उखु कृषक र चिनी उद्योगीको समस्या समाधान गर्ने जिम्मेवारी पाएका प्रशासन कार्यालयका अधिकृत शम्भु यादवका अनुसार बुधबार ३ बजे उद्योग प्रतिनिधिलाई बैठकमा डाकिएको थियो । उद्योगका महाप्रबन्धक, उखु प्रबन्धक र फाइनान्स प्रमुखलाई बोलाइए पनि उनीहरूमध्ये कोही आएनन् ।

Yamaha


प्रजिअ श्रेष्ठले यसअघिका छलफलमा भुक्तानी दिन सहमत उद्योगीले अहिले आलटाल गरिरहेको बताए । ‘अब समयमा कृषकलाई भुक्तानी नगरे कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने । एभरेस्ट चिनी उद्योगले किसानसँग उखु किनेबापतको २ अर्ब २२ करोड १५ लाख ६७ हजार ४ सय रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अहिलेसम्म ४४ करोड १५ लाख मात्र दिएको छ ।


जेठ २६ देखि भुक्तानीको माग गर्दै धर्नामा बसेका किसानलाई भेटेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले साताभित्र भुक्तानी नदिए उद्योगीलाई हत्कडी लगाउने चेतावनी दिएका थिए । त्यसपछि किसानले धर्ना स्थगित गरेका थिए ।


उखु बिक्री गरेको ६ महिना बितिसक्दा समेत भुक्तानी पाउन नसकेको किसानको गुनासो छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका २५ हजारभन्दा बढी उखु किसानले भुक्तानी पाउन नसकेका हुन् ।


ऋण काढेर उखु काट्ने कामदार र ढुवानीकर्तालाई नगद रुपैयाँ दिएका किसान उद्योगबाट भुक्तानी नपाउँदा समस्यामा परेको गौशाला नगरपालिका–१२ का विद्यानन्द यादवले बताए । ‘चिनी मिलले समयमा भुक्तानी नगर्दा प्रत्येक वर्ष कृषक ऋणमा डुब्ने गरेका छन्,’ उनले भने ।


उद्योगमा उत्पादित ९० प्रतिशत चिनी बिक्री नभएको जनाउँदै उद्योगीले तत्कालका लागि भुक्तानी नगर्ने बताएपछि यहाँका उखु किसान आन्दोलित भएका थिए । स्वदेशी चिनी बिक्रीमा समस्या भएकाले हालसम्म किसानलाई भुक्तानी दिन नसकेको एभरेस्ट सुगर मिलका महाप्रबन्धक युगलकिशोर चौरसियाले बताए । राष्ट्रिय सहकारी बोर्डका सदस्य रामचन्द्र सिंह कुशवाहाले बर्सेनि उखुको भुक्तानीका लागि किसान तडपिनुपर्ने अवस्था आएकाले सहकारीमार्फत चिनी उद्योग स्थापनाको पहल गर्नुपर्ने सुझाव दिए ।

Esewa Pasal

प्रकाशित : असार ८, २०७५ ०७:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यूएईले दियो तीनमहिने आममाफी

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी दिएको छ ।

यो आममाफी अगस्ट १ गतेदेखि लागू हुनेछ । विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रस्हेन्दीका अनुसार अगस्ट १ देखि अवैधानिक ढंगले बसोवास गरी काम गर्दै आएका कामदारलाई विनासजाय स्वदेश फर्कन वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दिइएको छ ।

यूएईले आफ्नो देशमा सिरिया, लिबिया र यमनका नागरिक अवैधानिक रूपमा बस्न थालेपछि यो कार्यक्रम ल्याएको हो ।

प्रकाशित : असार ८, २०७५ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT