कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दरबार क्षेत्रका विद्यालय पुनर्निर्माण अन्योल

लीला श्रेष्ठ

भक्तपुर — भूकम्पले क्षतिग्रस्त पद्म माविमा अध्ययनरत विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य छन् । भूकम्प गएको करिब ३८ महिनासम्म पनि क्षतिग्रस्त विद्यालय पुनर्निर्माणको टुंगो नलागेको पद्म माविका प्रधानाध्यापक राम हाडा बताउँछन् ।

दरबार क्षेत्रका विद्यालय पुनर्निर्माण अन्योल

सरकारले यसलाई नमुना विद्यालयमा समेत छनोट गरेको छ ।


१९८१ मा स्थापित विद्यालयको राणाकालीन भवन क्षतिग्रस्त छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसर (९९ चोक) भित्र पर्ने उक्त विद्यालयको स्वरूपकै कारण पुनर्निर्माणमा कठिनाइ भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा (डीएलपीआईयू) ले जनाएको छ । ‘ठेक्कामार्फत निर्माण हुनुपर्ने जिल्लाकै एक मात्र नमुना विद्यालय स्थानीय तहबाट नक्सा पास नहुनाले बन्न नसक्ने अवस्था उत्पन्न भएको छ,’ डीएलपीआईयू भक्तपुर प्रमुख देवकुमार बरालले भने ।


छनोट गरिएका नमुना विद्यालयलाई दातृ निकायले अत्याधुनिक प्रविधि जडित आवासीय नमुना विद्यालय बनाइदिने घोषणा गरेको छ । छनोट भएका विद्यालयको भौतिक संरचना र कक्षा/कोठा व्यवस्थापन शिक्षण सिकाइ गर्न तालिम हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र/छात्राको शौचालय, इन्डोर/आउटडोर खेलमैदान निर्माण गर्ने लक्ष्य छ । विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, ई–लाइब्रेरी, इन्टरनेटसहित कम्प्युटर, फोटोकपी मेसिन, विषयगत र अन्तरविषय पुस्तकहरू, जर्नल, पत्रपत्रिकाको व्यवस्था गर्ने जनाएको छ ।


दरबार क्षेत्रकै विद्यार्थी निकेतन माविको अवस्था पनि दयनीय छ । क्षतिग्रस्त रातो स्टिकर टाँसेको भवनमा विद्यालय प्रशासन, लेखा, कम्प्युटर ल्याबलगायत सञ्चालित छन् । विद्यार्थी अस्थायी टहरोमा पढ्न बाध्य छन् । ‘भवन अभावका कारण अतिरिक्त क्रियाकलाप गराउन कठिन छ,’ प्रधानाध्यापक सर्जनी जोशीले भनिन्, ‘विद्यालय पुनर्निर्माण अनिश्चितजस्तै भएको छ ।’ २००४ मा स्थापित विद्यालय पुनर्निर्माणका पेस गरेको नक्सा नगरपालिकाले अध्ययनका लागि राखेको उनले बताइन् ।


त्यस्तै, दरबार क्षेत्रकै शारदा माविको अवस्था पनि उस्तै छ । भूकम्पका कारण क्षतिग्रस्त तीनतले भवनको दुई तला भत्काएको रातो स्टिकर टाँसेको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्याब, लेखा, प्रशासन सञ्चालित छ । भवन अभावका कारण नर्सरी कक्षासमेत क्षतिग्रस्त रातो स्टिकर टाँसेकै भवनमा सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईले बताए । भूकम्पपछि दाताको सहयोगमा निर्मित अस्थायी टहरामा अध्यापन गराउँदै आएको उनले बताए । २००९ मा स्थापित विद्यालय पुनर्निर्माणका लागि नगरपालिकामा नक्सापास प्रक्रिया थालेको जनाएको छ ।


भूकम्पको धक्काले क्षतिग्रस्त भक्तपुर दरबार क्षेत्रका तीनवटै विद्यालय पुनर्निर्माण अन्योलमा परेको छ । नगरपालिकाले सम्पदा क्षेत्रमा पुनर्निर्माण गर्दा सम्पदा सुहाउँदो संरचना निर्माण हुनुपर्ने भन्दै नक्सापासमा ढिलाइ गरिरहेको विद्यालय प्रशासनले जनाएको छ । ‘नगरपालिकाकै मापदण्डअनुरूप डिजाइन गरी नक्सा पेस गरेका छौं,’ पद्म माविका प्रधानाध्यापक हाडाले भने, ‘दुईपल्ट नक्साको डिजाइन पेस गर्दा पनि नगरपालिकाले नक्सापासमा ढिलाइ गरेको छ ।’ नक्सापासमा ढिलाइ हुँदा पुनर्निर्माण थप अन्योल भएको उनले बताए । दरबार क्षेत्रभित्रका पद्म र विद्यार्थी निकेतन मावि पुनर्निर्माणका लागि सर्भे तथा डिजाइनको सम्पन्न भइसकेको तर, नक्सापासका कारण गत आर्थिक वर्षमै परियोजना सम्पन्न भएको डीएलपीआईयूले जनाएको छ । ‘नगरपालिकाले नक्सापासमा गरेको ढिलाइले दरबार क्षेत्रका ३ विद्यालयको पुनर्निर्माण अन्योल भएको हो,’ डीएलपीआईयू प्रमुख देवकुमार बरालले भने, ‘आगामी आवका लागि पुन: प्रस्ताव गरेका छौं ।’


नगरपालिकाले भने सम्पदा क्षेत्रभित्र पर्ने संरचना निर्माणमा ध्यान दिनुपर्ने जनाएको छ । ‘विश्व सम्पदा क्षेत्रभित्रका संरचना निर्माणमा अन्य क्षेत्रको जस्तो सहज हुँदैन,’ नगरप्रमुख सुनील प्रजापतिले भने, ‘९९ सय चोकभित्रका संरचना निर्माणमा अध्ययन, उत्खनन हुन आवश्यक छ ।’ भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि सम्पदालाई असर नपर्ने गरी नक्सा ल्याउन निर्देशन दिएको र पेस भएका नक्साको अध्ययन भइरहेको उनले बताए ।

प्रकाशित : असार ८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?