१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रुलिङ मान्दैनन् सांसद

सभामुखले ड्रेसकोड पालना गर्न पटकपटक निर्देशन दिइसके पनि सत्तापक्षकै प्रदेशसभा सदस्यले अवज्ञा गरिरहेका छन्

विराटनगर — सभामुख प्रदीपकुमार भण्डारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूलाई ‘आचरणमा बस्न’ दुईपटकसम्म रुलिङ गरेका थिए । उनले भने, ‘सदस्यज्यूहरू प्रदेशसभा बैठकले खैरो रंगको कोट ‘ड्रेस कोड’ का रूपमा तोकिसकेको छ ।

रुलिङ मान्दैनन् सांसद

संसद् मर्यादाको ख्याल गर्दै बैठकमा आउँदा अनिवार्य लगाउनुहोला ।’ तर उक्त निर्देशन पालनामा अधिकांश सांसद उदासीन देखिएका छन् । बुधबारको बैठकमा मनोमानी पोसाकमा आएका उनीहरूले बिहीबार पनि ड्रेसकोड पालना गरेनन् । सत्तापक्षकै आधाभन्दा बढी सांसद तोकिएको पोसाकमा थिएनन् ।


सांसद मात्र होइन, मन्त्रीहरूसमेत ड्रेसकोड पालना गर्दैनन् । बिहीबारको सदनमा नेकपाका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारी पनि खैरो कोटबिनै उपस्थित भए । ‘सिलाउन दिएको १५ दिन भयो, तर आज पनि सिलाइसकेको रहेनछ,’ उनले भने, ‘मर्यादाको ख्याल छ तर सिलाइ नै ढिलो भयो ।’


बुधबारको बैठकमा सभामुखको रुलिङको पालना नगरेकी सत्तापक्षकै सांसद सौभाग्यवती देवी राईले छलफलमा भाग लिँदै भनिन्, ‘मैले अनुशासन उल्लंघन गरेकी छु, माफी चाहन्छु । कोट लगाउनुपर्ने हो । आज लगाएकी छैन ।’ राईले यतिसम्म भने पनि अन्य धेरै सदस्य बिनाकोट रोस्ट्रममा गएर भाषण गरे ।


बुधबारको बैठकमा अधिकांश महिला सदस्यले तोकिएको कोट लगाएका थिएनन् । कतिपयले कालो र अन्य रंगका कोट लगाएका थिए । पुरुष सांसदमध्ये कति स्टकोट त कति टिसर्टमा देखिन्थे ।


सभामुखको रुलिङ सबै सांसदले मान्नुपर्ने भए पनि प्रदेशसभा बैठकमा त्यस्तो देखिँदैन । बैठक चलिरहेकै बेला एकआपसमा गफ गर्नु, मोबाइल चलाएर बस्नु सामान्य बन्न पुगेको छ ।


सदनमा धेरैजसो सदस्यहरू विषयवस्तुभन्दा बाहिर बहकिएर बोल्ने गरेका छन् । सभामुखले तोकेको समयमा भनाइ पूरा गर्ने निकै कम छन् । सांसदलाई बोल्न तोकिएको समय सकिन लाग्दा पहेंलो बत्ती बल्छ । त्यसपछि सभामुखले भनाइ छोटयाउन आग्रह गर्छन् । सभामुखले माइकबाटै ‘समय सकियो’ भन्दा पनि बोलिरहने क्रम नरोकिएपछि उनी पछिल्लो समय माइक नै अफ गरिदिन बाध्य भएका छन् । सभामुखले बैठकमै सदस्यहरूले तोकिएभन्दा बढी समय लिएकाले माइक अफ गर्नुपरेको जानकारी नै गराएका थिए ।


प्रदेशसभाले प्राथमिक कार्यका रूपमा सांसदलाई अनिवार्य लागू हुने गरी कार्यविधि तथा अनुशासनको फेहरिस्त मानिने प्रदेशसभा सञ्चालन नियमावली पारित गरेको थियो । तर, सांसदहरू त्यसको मर्मलाई भुलेर आफ्नै शैलीमा प्रस्तुत हँुदा माहोल अमर्यादित देखिने गरेको छ । सदनमा प्रस्तुत हुने अधिकांश सांसद पार्टीलाई चिनाउने ‘जयनेपाल’, ‘लालसलाम’, ‘जय लिम्बुवान’ र ‘अभिवादन’ जस्ता शब्द पटकपटक उच्चारण गरिरहेका हुन्छन् । सदनमा प्रस्तुत हुँदा ‘सभामुख महोदय’ भन्दै सम्बोधन गर्नुपर्ने नियम छ । तर, धेरैले यस्तो शब्दावली यदाकदा मात्र प्रयोग गरेको सुनिन्छ ।


प्रकाशित : असार ८, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?