५ हजार धरौटीमा आचार्य श्रीनिवास रिहा

देवनारायण साह

मोरङ — आफैलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाकाे आन्दोलन गराउन असफल प्रयास गरेका आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार धरौटीमा रिहा गरेको हो ।  

५ हजार धरौटीमा आचार्य श्रीनिवास रिहा

जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम जेठ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला प्रशासनको आदेशबिरुद्ध उनले मुलुकी ऐनको अदालती बन्दोवस्त महलको १७ नम्बर बमोजिम जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । उनलाई झुम्का कारागारमा राखिएको थियो ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराणबाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १:४५ बजे शौच गर्न कोठाबाट बाहिर निस्केका बेला गोली प्रहारबाट घाइते भएका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए । काठमाडौंबाट थप उपचारका लागि भारतको दिल्ली जान लागेको समयमा बैशाख २४ गते बिहान आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी, गोली र पेस्तोलको ब्यवस्थापन गर्ने नवलपरासीको गैडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा पूर्पक्षका लागि थुनामा छन् ।

बाराको सिमरा–३ पानीटंकी नजिक घर भएका दिपप्रसाद पण्डित र कान्तिमति पण्डितका एक्ला छोरा आचार्य श्रीनिवासको वास्तविक नाम दिनेशप्रसाद पण्डित हो । धार्मिक अभियानमा लागेपछि काठमाडौंस्थित बैंकटेशका मठाधीश पद्मधर श्वामीले दिनेशलाई आचार्य श्रीनिवास नाम दिएको उनकी आमा कान्तिमतिले बताइन् ।

बराह–६ चक्रघटीस्थित लक्ष्मी बैङकटेशमा बस्दै आएका उनी नभएको बेला आउने भक्तजन तथा अनुयायीहरुले आचार्यको खराउको पूजा गरेर जाने गरेका छन् ।

प्रकाशित : असार ८, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?