चेपाङ मार्ग बन्ने कहिले?

रमेशकुमार पौडेल

चितवन — चेपाङ मार्गले पुर्वपश्चिम महेन्द्र राजमार्गको भण्डारा र पृथ्वीराजमार्गको मलेखु मात्रै जोडैन चितवन, धादिङ र मकवानपुरको विकट पहाडी क्षेत्रमा बस्ने अल्पसंख्यक आदिवासी समुदाय चेपाङको घर आँगनमा विकास पुर्‍याउन पनि मद्दत गर्छ ।

भण्डारा–मलेखु चेपाङ मार्गमा बसहरुसमेत चल्न थालेका छन् । तर सो सडक स्तरोन्नतिको काम भने निकै सुस्त गतिमा भइरहेको छ । तस्बिर : रमेशकुमार पौडेल 

तराईलाई राजधानी जोड्ने वैकल्पिक मार्गसमेत बन्न सक्ने उक्त मार्गको ट्रयाक खुलेको वर्षौ हुँदा पनि सडकको स्तरोन्नतिको काम अधुरै छ ।

Yamaha


भण्डारा–मलेखु चेपाङ मार्गको दुरी ६३ किलोमिटर छ । ट्रयाक खोल्ने काम ६ वर्षअघि नै पुरा भएको हो । ट्रयाक खोल्ने काम सकिएपछि भरतपुरको डिभिजन सडक कार्यालयका तत्कालिन इन्जिनियर गौतमकुमार श्रेष्ठले स्तरोन्नतिको काम चाडै पुरा हुने बताएका थिए ।

नारायणगढ मुग्लिन सडकलाई फराकिलो बनाउने बेलामा त्यो बाटो बन्द गरेर चेपाङ मार्गबाट गाडी चलाउने उनको भनाइ थियो ।

तर नारायणगढ मुग्लिन सडक पहिलाको भन्दा दोब्बर फराकिलो बनाउने काम लगभग सकिदा चेपाङ मार्गको स्तरोन्नतिको काम कछुवा गतिमा चलेको छ । चेपाङ मार्गमा भण्डारादेखि २२ किलो मिटरसम्म गत वर्षदेखि यात्रु ओसार्ने बस चल्न सुरु भएको छ । वर्षा लागेपछि त्यो पनि बन्द हुन्छ । कालोपत्रे गर्ने काम चार किलो मिटर जति पुरा भएको छ ।

भण्डारा मलेखु चेपाङ मार्ग चीन र भारतलाई जोड्ने छोटो दुरीको सडक मार्ग केरुङ रसुवागढी ठोरी मार्गको एउटा खण्ड भएको डिभिजन सडक कार्यालयका डिभिजनल इन्जिनियर धर्मेन्द्र झाले बताए । त्यसैले यो राष्ट्रिय महत्वको सडक मार्ग पनि हो । तर महत्व जे जस्तो भए पनि काममा सक्रियता बढ्न नसकेको देखिन्छ ।

भण्डारा बजारदेखि तल चितवन निकुञ्जको आडमा रहेको प्यारीढापसम्म चेपाङ मार्ग पुगेको छ । त्यहाँदेखि साढे चार किलो मिटर दुरी अर्थात भण्डारादेखि उत्तर चौकी डाँडाँसम्म कालोपत्रे पनि भएको छ । ६३ किलो मिटरमध्ये २३ किलो मिटरमा कालोपत्रे गर्ने काम सुरु भएको हो । तर आउँदो असोजसम्म ११ किलो मिटरसम्म कालोपत्रे सकिने अधिकारीहरुको आँकलन छ ।

चेपाङ मार्गको कुल दुरीमध्ये ४० किलो मिटर चितवन तर्फ र २३ किलो मिटर धादिङमा पर्छ । धादिङतर्फ १२ र चितवन तर्फ ११ किलो मिटर कालोपत्रे गर्ने काम सुरु भएको हो । चितवन तर्फको कालोपत्रे यो हिउँदमा सकिने अवस्था रहे पनि धादिङ तर्फ काम सुस्त भएको डिभिजन सडक कार्यालयका डिभिजनल इन्जिनियर धर्मेन्द्र झाले बताए ।

‘१२ किलो मिटर कालोपत्रे हुनु पर्ने धादिङमा अहिलेसम्म आठ किलो मिटरसम्म मात्रै सडक फराकिलो बनाएको र त्यसमध्ये तीन किलो मिटरमा मात्रै ग्रभेल राखेको जानकारी छ । एक किलो मिटरमा कालोपत्रे गर्ने काम यो वर्ष सकिने अवस्था छ’ डिभिजनल इन्जिनियर झाले भने । सन्तोषी रौताहाले निर्माणको ठेक्का लिएको काममा ढिला भएको विषय प्रशासनमा जानकारी गराएको झाले बताए ।

गाडी भने चल्छन् :
लगभग १० वर्षअघि सडक खन्न सुरु भएसँगै स्थानीयहरु उत्साहित थिए । बाटो खन्दै जाँदा गाडी पनि चल्न थाले । छ वर्षयता नियमित रुपमा जीपहरु चल्न सुरु भएको भण्डारा मलेखु चेपाङ मार्गमा गत वर्षको जेठदेखि बससमेत चल्न सुरु भएको हो । तर साना ठुला जे जस्ता गाडीहरु हुन वर्षा सुरु हुनुभन्दा अघिसम्म चल्ने हुन् ।

भण्डारादेखि २२ किलो मिटर पर येउरेलीटारसम्म दुईवटा बस चल्छन् । जीपहरु भने येउरेलीटारदेखि अझै पर पुग्छन् । बसभन्दा जीपको संख्या पनि धेरै नै छ । गाडी नचल्दा चितवनको पहाडी क्षेत्र लोथर, कोराकका बासिन्दाहरु कम्तिमा पाँच घण्टा पैदल हिँडेर भण्डारा आउँथे ।

घरलाई चाहिने नुन तेल, मसला किन्न भण्डारा वा महेन्द्रराजगमार्गमा रहेको लोथर बजार नै पुग्नु पर्ने बाध्यता थियो । दुख बिमार परे भण्डारा नै पुग्नु पर्दथ्यो । गाडी नचल्दा ठुलो आपत थियो भन्छन लोथर हात्तीढापमा गाडी कुरेर बसेका तात्राङ गाउँका धर्मसिंह तमाङ । पैदल हिँडा लोथर खोलै खोला हिँडेर राजमार्गमा पुग्ने गरेको उनले बताए ।

‘खोला बढेका बेलामा चिप्लो उस्तै । सय ठाउँभन्दा बढी पटक एउटै खोला तरेर भण्डारा पुग्नु पर्दथ्यो । खोला बढेर तर्न नमिल्ने हुँदा पाखाबाट हिँडा झनै लामो बाटो हुन्थ्यो । बाध्यता परे मात्रै हिड्ने गर्दथ्यौं’ धर्मसिंहले भने । लोथर कालिटारका जमानसिंह चेपाङले सात घण्टा हिँडेर भण्डारा जानु पर्ने बाध्यता बस चलेपछि दुई घण्टामा झरेको बताए । कोराक आँपपानी नजिक भेटिए बिर्खबहादुर तमाङ । उनी गाउँबाट खसी बोका बटुलेर भण्डारामा बेच्ने काम गर्दै आएका छन् । जीप र बस चल्न थालेपछि आफ्नो व्यपारमा सुविस्ता भएको उनले बताए । ‘बाटो बनेर गाडी चल्न थालेपछि बाख्रा पालेर हुर्केपछि बेच्ने काम गर्न थाले । बाटोबाट हामीलाई फाइदा नै भएको छ’ तमाङले भने ।

भण्डाराबाट येउरेलीटारसम्म चल्ने ग १ ख ७१४४ नम्बरको बसका चालक आत्माराम तमाङ केही ठाउँमा बाटो निकै अफ्ठ्यारो भएको बताउँछन् । ‘सवै ठाउँमा पिच भए राम्रो । नभए केही ठाउँमा बटो अति साँघुरो छ त्यहाँ पनि चौडा बनाए हुने । गाडी चलेपछि यात्रुहरु राम्रै पाइराखेका छौं । बाटो पनि राम्रो बनाउनु पर्‍यो’ चालक आत्मरामले भने ।

भण्डारादेखि १५ किलो मिटर थाकलटारसम्म सडक ठिक ठिकै भए पनि त्यसपछि अप्ठ्यारो पहाडी खण्ड सुरु हुन्छ । जहाँको बाटो फाराकिलो बनाउने जिम्मा पाएको काष्टमण्डप निर्माण कम्पनीले बाटो नै फराकिलो बनाउन रोकेको डिभिजनल इन्जिनियर झाले जानकारी दिए । सवैको ध्यान पुग्ने ठाउँभन्दा निकै भित्र अल्पसंख्यक आदिवासी समुदायको बसोबास क्षेत्रको विकासको गति सुस्त छ ।

येउरेलीटारभन्दा अगाडी गएपछि बाटो निकै घुमाउरो पहाड हुँदै अगाडी बढ्छ । मिलेसम्म सुरुङ बनाएर दुरी छोट्याउने योजना बनाएको झाले बताए । चुनिया धाराबाट सुरुङ बनाए भण्डारा मलेखु राजमार्गको दुरी सात किलो मिटर घट्ने अवस्था रहेको उनको भनाइ छ । सो मार्गमा हात्तीधापमा सवैभन्दा ठुलो पुल बन्दै छ । ९० मिटर लामो पुलको झण्डै ७० प्रतिशत काम सकिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विशेष चासो दिएको योजना हो यो । उनी यो क्षेत्रका सांसद हुन् । यो सडकमा साढे पाँच मिटर फराकिलो कालोपत्रे हुने छ । विस्तारअघि नारायणगढ मुग्लिन सडकको चौडाइसमेत यही थियो । त्यसैले यो मार्ग दुई लेनको नभए पनि दुईवटा गाडी आरपार हुन खासै गाह्रो हुँदैन । तर काम सक्ने कहिले हो ? ठ्याक्कै जवाफ छैन ।
‘तीन वर्षयता त पुरै काम सक्न गाह्रै छ’ डिभिजन सडक कार्यालयका प्रमुख धर्मेन्द्र झाले भने । राप्ती नगरपालिकाका मेयर प्रभा बराल सडक राप्ती नगरपालिकाको पहाडी खण्ड हुँदै जाने भए पनि नगरपालिकाको तत्परताले मात्रै काम हुन गाह्रो हुने बताउँछिन् । प्रदेश वा संघीय सरकारले चासो दिए काम चाडै सकिनेमा मेयर बराल आशावादी छन् ।

प्रकाशित : असार ८, २०७५ २०:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

५ हजार धरौटीमा आचार्य श्रीनिवास रिहा

देवनारायण साह

मोरङ — आफैलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाकाे आन्दोलन गराउन असफल प्रयास गरेका आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार धरौटीमा रिहा गरेको हो ।  

जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम जेठ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।जिल्ला प्रशासनको आदेशबिरुद्ध उनले मुलुकी ऐनको अदालती बन्दोवस्त महलको १७ नम्बर बमोजिम जिल्ला अदालतमा पुनरावेदन गरेका थिए। उनलाई झुम्का कारागारमा राखिएको थियो।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराणबाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १:४५ बजे शौच गर्न कोठाबाट बाहिर निस्केका बेला गोली प्रहारबाट घाइते भएका थिए। उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए। काठमाडौंबाट थप उपचारका लागि भारतको दिल्ली जान लागेको समयमा बैशाख २४ गते बिहान आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो।

यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी, गोली र पेस्तोलको ब्यवस्थापन गर्ने नवलपरासीको गैडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा पूर्पक्षका लागि थुनामा छन्।

बाराको सिमरा–३ पानीटंकी नजिक घर भएका दिपप्रसाद पण्डित र कान्तिमति पण्डितका एक्ला छोरा आचार्य श्रीनिवासको वास्तविक नाम दिनेशप्रसाद पण्डित हो। धार्मिक अभियानमा लागेपछि काठमाडौंस्थित बैंकटेशका मठाधीश पद्मधर श्वामीले दिनेशलाई आचार्य श्रीनिवास नाम दिएको उनकी आमा कान्तिमतिले बताइन्।

बराह–६ चक्रघटीस्थित लक्ष्मी बैङकटेशमा बस्दै आएका उनी नभएको बेला आउने भक्तजन तथा अनुयायीहरुले आचार्यको खराउको पूजा गरेर जाने गरेका छन्।

प्रकाशित : असार ८, २०७५ २०:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT