२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘म एउटा भगवान् खोजिरहेछु’

हाेम कार्की

काठमाडौँ — साउदीको राजधानी रियादबाट ३ सय १८ किमि टाढा पर्छ, अलहासा । साउदीको पूर्वी क्षेत्रमा पर्ने अलहासास्थित किङ फाहद अस्पतालमा धनुषाका धर्मनाथ पासवान मुुलुक फिर्ने दिन पर्खिरहेका छन् । जबसम्म धर्मनाथले उपचारमा लागेको एक लाख ८५ हजार रियाल (करिब ५१ लाख ८० हजार रुपैयाँ) अस्पताललाई बुझाउँदैनन्, तबसम्म मुलुक फिर्ने बाटो खुल्दैन ।

‘म एउटा भगवान् खोजिरहेछु’

गत मार्चमा अस्पतालले उपलब्ध गराएको बिल हो यो । तर उनले तिर्नुपर्ने रकम हरेक दिन बढिरहेको छ ।

‘म एउटा भगवान् खोजिरहेको छु,’ धर्मनाथले रुँदै भने, ‘यति ठूलो रकम तिर्न सक्ने मेरो क्षमता छैन ।’ अस्पतालमा बस्न–खान समस्या छैन । पैसा नतिरेको निहुँमा अस्पताल प्रशासनले उनलाई धेरै तनाव पनि दिएको छैन । तर, उनलाई सधैं भन्ने गरिएको छ, ‘तिमीले पैसा भुक्तानी नगरेसम्म यहाँबाट बाहिर जानचाहिँ मिल्दैन ।’ धर्मनाथका स्पोन्सर (रोजगारदाता) ‘अब्दुल्ला सइद अल गाम्दी’ हुन् । साउदीको श्रम कानुनअनुसार कामदारको स्वास्थ्य उपचारको जिम्मेवारी स्पोन्सरको दायित्वभित्र पर्छ । तर, धर्मनाथको स्पोन्सरले यसबाट उन्मुक्ति पाएका छन् । किनकि धर्मनाथ घटना हुनुअघि नै स्पोन्सरले ‘हुरुप’ (आफूसँग नरहेको जानकारी दिने) लगाइदिइसकेका थिए ।
***

धर्मनाथका ६५ वर्षीय बुबा धनुषामा रिक्सा चलाउँछन् । उनका चार छोरी र एक छोरा छन् । ११ मे २०१४ मा उनी साउदी पुगेका थिए । साउन्ड लाइन्स म्यानपावरका एजेन्ट चन्डेश्वर मण्डललाई बिना रसिद ९० हजार रुपैयाँ बुझाए । १३ सय रियाल र ८ घण्टा काम गर्नुपर्ने सर्त थियो । तर, रोजगारदाताले दैनिक १२ घण्टा काम गर्दा पनि एक हजार रियालभन्दा बढी दिएनन् । सर्तअनुसार सेवासुविधा नपाएको गुनासो धर्मनाथले चन्डेश्वरलाई सुनाउँथे । एजेन्टको सिधा पहुँच रोजगारदातासँग थिएन ।

साउदी गएदेखि नै उनको साथमा राहदानी थिएन । रोजगारदाताले इकमा (परिचय) पत्र पनि दिएन । उक्त कम्पनीमा ९ महिना काम गरेपछि उनी अलहासा सल्मानियास्थित एउटा वर्कशपमा काम गर्न गए । वर्कशप मालिकले दुई हजार रियाल दिने सर्तमा धर्मनाथले पहिलो रोजगारदाता छोडेका थिए । दोस्रो मालिकले दुई हजारको सट्टा १५ सय मात्रै दिए । दोस्रो मालिकले नै इकामा नवीकरण गरिदिने अश्वासन दिई राखे । इकामा नवीकरण हुने आशामा उनले आममाफीको पनि सदुपयोग गरेनन् ।

२६ फेबु्रअरी २०१७ को राति ३:१५ बजे सडक पार गर्नेक्रमा सल्मानियामा उनलाई गाडीले ठक्कर दिएर भाग्यो । धर्मनाथको टाउकोमा गम्भीर चोट लाग्यो । ढाड र हातखुट्टा भाँच्चिए । ठक्कर दिने गाडी पत्ता लागेन । उनलाई प्रहरीले सरकारी अस्पताल किङ फाहदको इमर्जेन्सीमा भर्ना गरिदियो । अस्पतालले उनको कानुनी हैसियत नहेरी उपचार गरिदियो । ‘अस्पतालले मलाई त बचायो । तर यत्रो उपचार खर्च कसरी जुटाउने ? कसले ब्यहोरिदिन्छ भन्ने एकदमै चिन्ता छ,’ उनले भने, ‘घरबाट पनि दिनहुँजसो फोन आइराख्छ । उनीहरू कहिले आउने भनेर सोध्छन् । मसँग जवाफ नै हुँदैन ।’ अहिले उनी विस्तारै हिँडडुल गर्न सक्ने भएका छन् ।
***

अस्पतालले एक वर्षअघि नै धर्मनाथलाई डिस्चार्ज गर्ने बताएको थियो । डिस्चार्ज हुने खबर पाएपछि गैरआवासीय नेपाली संघ साउदी अरबले २४ जुन २०१७ मा मुलुक पठाउने भनेर टिकटसमेत काटिदिएको थियो । तर, अस्पतालले उपचार खर्च दाबी गरेपछि त्यो टिकट पनि खेर गयो । उपचार खर्च मिनाहा गर्न रियादस्थित नेपाली दूतावासले अस्पताल प्रशासनलाई अनुरोध गरेको थियो ।

अस्पतालका प्रमुखलाई भेटेर उपनियाेग प्रमुख आनन्दराज शर्माले मिनाहा गर्न अनुरोध गरे । ‘निकै ठूलो रकम भएकाले मिनाहा गर्न नसक्ने बताए,’ शर्माले भने ।

दूतावासले परराष्ट्र मन्त्रालय हुँदै स्वास्थ्य मन्त्रालयसँग पनि कुराकानी गरेको थियो । स्वास्थ्य मन्त्रालयले पनि दूतावासको प्रस्ताव स्वीकार गरेन । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपूतले पूर्वी क्षेत्र हेर्ने गभर्नरलाई भेटेर उपचार खर्च मिनाहा गर्न आग्रह गरे । गभर्नर सकारात्मक भए पनि हालसम्म कुनै औपचारिक जवाफ आएको छैन । साउदी सरकारबाट मिनाहा हुने सम्भावना नदेखेपछि रकम पठाइदिन दूतावासले नेपाल सरकारलाई समेत आग्रह गरेको छ । एनआरएन साउदीका अध्यक्ष नारायण पासवानले कुनै उपाय नलागे एनआरएनले समुदायस्तरबाट पैसा उठाउने अभियान सञ्चालन गर्ने बताउँछन् ।

प्रकाशित : असार ९, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?