२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

ओइलाउँदो ओलानी

वर्षौंअघि भोकमरी छल्न पहाडबाट धमाधम ओलानी झरे ।सबैभन्दा ठूलो दु:ख पानीकै छ । हातमुख जोर्न भारत जानुपर्ने बाध्यता छ । फर्कंदा ‘बम्बैया रोग’ भिरेर आउँछन् ।
मोहन बुढाऐर

ओलानी (कैलाली) — भोकमरीले सताएपछि २०२३ सालमा डोटीको पोखरी गाउँबाट थुप्रै परिवार कैलालीको ओलानी झरे । तिनैमध्येका हुन् गोदावरी नगरपालिका–११ का ६० वर्षीय मजिरसिंह बडैला । ‘लामो खडेरीले सुदूरका पहाडमा भोकमरी भएपछि बसाइँ सरेका हौं,’ उनले सम्झिए, ‘उतिबेला कैलाली/ कञ्चनपुरमा बस्नका लागि सबैभन्दा उपयुक्त ठाउँ ओलानी लाग्यो ।’

ओइलाउँदो ओलानी

डोटी, डडेल्धुरा, बझाङलगायत विभिन्न क्षेत्रबाट झरेका परिवारले झाडी र वन फाँडेर ओलानीमा आवादी गरे । अहिले ओलानी क्षेत्रमा गोदावरी गाउँपालिकाका १०, ११ र १२ नम्बर वडा पर्छन् ।

‘भोकमरीबाट विस्थापित परिवारले आवाद गरी बसेपछि तत्कालीन सरकारका एक मन्त्री यहाँ पुगेका थिए,’ बडौला सम्झन्छन्, ‘उनले यहाँ किन बसेको भनेर प्रश्न गरेका थिए । मुखिया कालुसिँह बडैलाले उनलाई वनजंगल र पानीको सुविधा भएकाले बसाइँ आएको जवाफ दिएका थिए ।’ उतिबेला सुविधाजनक ठानिएको ठाउँमा अहिले पानीकै सबैभन्दा ठूलो दु:ख रहेको बडैलाले बताए ।

कुनै समय ओलानी गाउँको पश्चिमपट्टि मछली खोला र पूर्वमा धर्मगंगा कलकल बगेको बस्तीसम्मै सुनिन्थ्यो । गाउँबासी त्यही पानी पिउँथे । गाईबस्तु चराउन बस्तीको सिरानमा चुरेको चरन क्षेत्र थियो । उनले भने, ‘कालान्तरमा एउटा सुन्दर बस्ती यस्तो उजाड र दुर्गम बन्ला भनेर कसले सोच्ने ?’ बडैलाका अनुसार मछली खोलाको पानीले खेत सिञ्चित गर्न तत्कालीन सरकारले योजनासमेत पारेको थियो ।

ओलानी मात्रै हैन, कैलाली र कञ्चनपुरको करिब ३ हजार हेक्टर जमिन सिञ्चित हुने गरी अघि सारिएको मोहना सिंचाइ आयोजनाको निर्माण एक दशक ढिलो गरी ०४४ सालमा सम्पन्न भयो । तर, ०५१ को बाढीले इन्टेक बाँधसमेत भत्केपछि ओलानीका खेत फेरि सुक्खा रहे । ‘सिँचाइबिनाको खेतीले छ महिना खान नपुग्ने भयो,’ अर्का स्थानीय दलबहादुर वडले भने, ‘किनेर खानुपर्ने भएकाले मजदुरी र रोजगारीका लागि यहाँका बासिन्दा भारत पस्न थाले ।’ कामका लागि भारत जाने युवा ‘बम्बैया रोग’ लिएर फर्कंदा गाउँ एचआईभी संक्रमितले भरिएको उनी बताउँछन् । गोदावरी प्लसका अध्यक्षसमेत रहेका वडका अनुसार ओलानीमा खुलेका २ सयभन्दा बढी एचआईभी संक्रमित छन् । तीमध्ये २४ अनाथ बालबालिका छन् । घरमा खान नपुगेरै अहिले पनि यहाँका ८० प्रतिशत युवा काम खोज्दै भारत पसेको उनले जनाए ।

‘ओलानी रोग, भोक र शोकले ग्रस्त छ भन्दा हुन्छ,’ अर्का स्थानीय वीरबहादुर सुनारले भने, ‘एचआईभी संक्रमितको समस्या एकातिर छ, अर्कातिर हरेक घरमा खाद्यान्न अभाव छ ।’

गरिबीको रेखाबाट माथि उठ्न नसकेको ओलानीमा सामाजिक चेतनास्तर समेत न्यून छ । यहाँ अहिले पनि दलित र गैरदलितबीच विभेद देखिन्छ । भीमबहादुर कामी भन्छन्, ‘पछिल्लो समय दलित अधिकार आन्दोलनका कारण सार्वजनिक विभेद गर्न त छोडेका छन् तर विभेदकारी मन अझै सफा हुन सकेका छैनन् ।’ उनका अनुसार गैरदलित सार्वजनिक कुवाको पानी पिउँदैनन् । निजी कुवा बनाएका छन् ।

ओलानी गाउँ प्रदेश ७ को अस्थायी राजधानी धनगढीदेखि ३० किमिजति मात्र टाढा छ । दूरीका हिसाबले सुगम देखिए पनि सुविधामा दूरदराजको विकट बस्तीभन्दा कम थिएन । स्थानीयले वर्षौंको आसपछि बल्ल सडक, बिजुली र सञ्चारसुविधा पाउँदै छन् । शिक्षा र स्वास्थ्यमा अहिले पनि थुप्रैको पहुँच छैन । एक तथ्यांकअनुसार स्कुल नजानेको संख्या झन्डै २० प्रतिशत छ । कतिपयले बीचमै पढाइ छोड्ने गरेका छन् । जिल्लालाई खुला दिसामुक्त घोषणा गरिए पनि ओलानीमा गैरसरकारी संस्थाले बनाइदिएको चर्पी पानीकै अभावले प्रयोग हुन सकेको छैन ।

अभावैअभावले ग्रस्त ओलानीमा बर्खामा सर्पको बिगबिगी उस्तै हुन्छ । स्थानीय दुर्गा पन्तका अनुसार हरेक वर्ष सयभन्दा बढी सर्पदंशका घटना हुने गरेका छन् । ‘अहिले सडक सञ्जाल जोडिएपछि बिरामीलाई तत्कालै धनगढी अस्पताल पुर्‍याउन सकिएकाले मृत्युदर भने घटेको छ,’ उनले भने, ‘पहिला बर्सेनि २५/३० जनाको सर्पकै कारण मृत्यु हुन्थ्यो ।’ जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा औलोलगायत प्रकोप सबैभन्दा बढी फैलने स्थान पनि ओलानी नै हो ।

पन्त भन्छन्, ‘मोहना सिँचाइ आयोजनाको नहरमा पानी नबग्दा ओलानी पछाडि पर्‍यो ।’ उनका अनुसार सिँचाइ नहुँदा उत्पादन घटेर खाद्य अभाव सिर्जना भएको छ । हातमुख जोर्नकै लागि स्थानीय भारत पस्न बाध्य भए । गाउँको विकासमा जुट्ने समुदाय घटे । महिला र बालबालिका मात्रै घर कुरुवा भए । यसले गरिबी बढ्यो । ‘जिल्ला सदरमुकाम र स्थानीय निकायको आँखामा समेत ओलानी वर्षाैंदेखि उपेक्षित छ,’ उनले भने ।

प्रकाशित : असार ९, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?