१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिक्षाविद् भन्छन्,‘ग्रेडिङ प्रणाली उल्टो गतिमा’

गणेश राई

काठमाडौँ — शिक्षाविद्ले कक्षा १० मा लागू गरिएको ‘लेटर ग्रेडिङ’ प्रणाली उल्टो गतिमा रहेको बताएका छन् । यसकै कारण तीन वर्षयता शैक्षिक गुणस्तरसमेत खस्किएको उनीहरूको दाबी छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएसँगै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शिक्षाविद् भन्छन्,‘ग्रेडिङ प्रणाली उल्टो गतिमा’

शिक्षाविद् विद्यानाथ कोइराला एसईई नतिजाको गुणस्तरप्रति सरकार, राजनीतिक दल, कर्मचारी, शिक्षक कोही जिम्मेवार नरहेको बताउँछन् । ‘एसईईको नतिजाले शैक्षिक गुणस्तर बढाउनेमा पत्यार छैन किनकि यसमा नतिजाको जिम्मेवारी कसले लिने भन्ने नै छैन । यो गम्भीर पक्ष हो,’ उनले भने, ‘ग्रेडिङअनुसार विद्यार्थीले पढेको र सीप सिकेको क्रेडिट आवर गन्ती हुनुपर्छ । तर व्यवहारमा त्यस्तो छैन । सबै पास भयौ, अब जता जान्छौ जाऊ भनेजस्तो स्थिति छ ।’ कोइरालाका अनुसार अमेरिकामा एसईई नतिजाप्रति स्थानीय शिक्षा निकाय जिम्मेवार रहन्छ भने चीनमा राजनीतिक दलको पनि सरोकारको विषय हुन्छ ।

लेटर ग्रेडिङ प्रणाली विद्यार्थीको खुबी, क्षमता, दक्षताको निरन्तर मूल्यांकन पद्धति हो । यसमा सम्बन्धित विषयमा प्राप्त नतिजा तथा लगावका आधारमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मूल्यांकन गरिन्छ । शिक्षाविद् मनप्रसाद वाग्ले दुई वर्षअघि ११ कक्षामा भर्ना हुन तय गरिएको गुणस्तरीय आधारलाई शिक्षा मन्त्रालयले १३ दिनभित्रै फेरेर फितलो निर्णय गरिदिएको बताउँछन् । ‘उक्त निर्णयले १ दशमलव ६ जीपीएसम्मकालाई कक्षा ११ को ढोका खोलिदियो,’ उनले भने, ‘यस्तो व्यवस्थाका कारण शैक्षिक गुणस्तरप्रतिको विश्वसनीयता गुम्न पुग्यो ।’

यसअघिको पूर्णाङ्क प्रणालीमा नतिजा विश्लेषण गर्ने आधार रहे पनि अहिले जसलाई पनि उत्तीर्ण मान्नुपर्ने अवस्था आएको वाग्लेले बताए । ‘लेटर ग्रेडिङ प्रणालीअनुसार पाठ्यक्रम र पाठ्यपुस्तकसमेत छैन । न त शिक्षण विधि र मूल्यांकन पद्धति छ । यी चारै पक्ष नसुधारी विद्यार्थीको शैक्षिकस्तर माथि उकास्न सकिँदैन,’ उनले भने । शिक्षाविद् वासुदेव काफ्ले मुलुक संघीय व्यवस्थामा गइसके पनि एसईई नतिजामा पुरानै ढर्रा र गैरजिम्मेवार परीक्षा प्रणाली हाबी हुँदा गुणस्तरमा आशंका बढेको बताउँछन् । ‘ग्रेडिङ सिस्टम सही मानेमा लागू भएकै छैन । तल्लो तहबाटै समन्वयात्मक रूपमा लागू हुनुपर्छ,’ उनले भने, ‘तर अहिलेको अभ्यासले यसमा बल दिँदैन ।’

अर्का शिक्षाविद् विनयकुमार कुसियत एसईईलाई शैक्षिक गुणस्तर बढाउने माध्यमका रूपमा अघि नबढाइँदा ग्रेडिङ प्रणाली उल्टो सावित भइरहेको उल्लेख गरे । ‘एसईई नतिजालाई प्रतिशतकै रूपमा व्याख्या गरिएको देखिन्छ, जुन गलत हो,’ उनी भन्छन्, ‘यसलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोडेर अघि बढाउन जरुरी छ ।’ परीक्षा नियन्त्रण कार्यालयले एसईईको उत्तरपुस्तिका पूर्णाङ्कका आधारमा जाँच्ने गरेको छ । विषयगत अंकलाई पूर्णाङ्कमा जोड्ने र त्यसलाई ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मा बदल्ने गरिएको छ ।

प्रकाशित : असार १०, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?