२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

राजमार्गमा जोडिँदै चेपाङ बस्ती

जंगलमा खोरिया खन्दै हरेक २/४ वर्षमा अर्को जंगल चहार्ने चेपाङ समुदाय एउटै बस्तीमा स्थिर भएर बेमौसमी तरकारी खेती गर्न थालेका छन्

मकवानपुर/धादिङ — मकवानपुरको उत्तर–पश्चिमका २ गाउँपालिकाका जनप्रतिनिधि विकट चेपाङ बस्तीलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न कस्सिएका छन् । राक्सिराङ गाउँपालिकाले चालु आवमा करिब ८० किलोमिटर कच्ची सडक निर्माण गरेको छ ।

राजमार्गमा जोडिँदै चेपाङ बस्ती

झन्डै दुई दर्जन एक्साभेटर लगाएर जिल्लाको अत्यन्त विकट साबिकको खैराङ गाविसमा मोटरबाटो पुर्‍याएको हो ।

‘वर्षैभरि मोटर चल्ने गरी सडक निर्माण गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘विकट चेपाङ बस्तीलाई राजमार्गसँग जोड्ने काम भइरहेको छ ।’ गाउँपालिकाको केन्द्र रहेको चैनपुरलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्नका लागि चैनपुर र मनहरीतर्फबाट उपभोक्तामार्फत मोटरबाटो खन्ने काम भइरहेको छ ।

आव ०७५/७६ मा गाउँपालिकाको केन्द्र राजमार्गसँग जोडिएमा दुर्गम चेपाङ बस्तीहरूको पनि सडकसँगको पहुँच बढ्ने अध्यक्ष मल्लले बताए । राक्सिराङ गाउँपालिकाअन्तर्गत पर्ने साबिकको काँकडा गाविसको सिलिङे, धिराङ, डामराङ, सिलाधुनीलगायत बस्ती चेपाङ मार्गसँग जोड्नका लागि मोटरबाटोमा काम भइरहेको छ । ती बस्तीहरू चेपाङ मार्गसँग जोडिएपछि पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछन् ।

यस्तै मकवानपुरको कैलाश गाउँपालिकालाई राजमार्गसँग जोड्न जनप्रतिनिधिहरू गत वर्षदेखि नै सक्रिय छन् । चालु आवको अन्तिमसम्मका उक्त गाउँपालिकाले करिब ७० किलोमिटर सडकको ट्रयाक खोल्ने जनाएको छ । ‘गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका चेपाङ बस्तीलाई लक्षित गरेर मोटरबाटो बनाउने काम भइरहेको छ,’ गाउँपालिका अध्यक्ष टंंक मोक्तानले भने, ‘दुर्गम बस्तीमा मोटरबाटो पुगेपछि विकासको ढोका आफंै खुल्छ ।’

विकट गाउँमा मोटरबाटो पुगेपछि गाँजा खेती विस्थापित हुने र स्थानीयवासी तरकारीलगायत नगदे बालीमा आकर्षित हुने गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाले गाँजा खेतीलाई विस्थापित गर्ने योजना बनाएको छ । कैलाश गाउँपालिकालाई त्रिभुवन राजपथसँग जोड्न स्थानीय जनप्रतिनिधि जुटेका छन् ।

डाँडाखर्क, डाँडावास, थाहा नगरपालिका हुँदै त्रिभुवन राजपथसँग जोडिने र गाउँपालिकाको केन्द्र कालिकाटारलाई कच्ची सडकले त्रिभुवन राजपथको चुनियासँग जोडिएको छ । गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे गर्ने योजना छ । केन्द्रबाट चेपाङ बस्तीहरूमा मोटरबाटो पुर्‍याउन सडक खन्न थालिएको छ ।

‘बस्ती, बस्तीमा मोटरबाटो नपुगेसम्म गाउँका विकास सम्भव छैन,’ गाउँपालिका अध्यक्ष मोक्तानले भने, ‘राजमार्गसँग दुर्गम बस्तीलाई जोड्नैपर्छ ।’ राक्सिराङ र कैलाश गाउँपालिका चेपाङ बाहुल्य गाउँपालिका हुन् । दुवै गाउँपालिकाका बस्तीहरू निकै विकट छन् । अधिकांंश भूभागमा मोटरबाटोको अभाव छ ।

चेपाङ बस्तीबाट राजमार्गसम्म आइपुग्न ८ घण्टा हिंड्नुपर्छ । दुवै गाउँपालिकामा गाँजा खेती गरिन्छ । शैक्षिक, राजनीतिक, सामाजिक र आर्थिक रूपले अत्यन्त पछाडि परेका छन् । बालविवाहले गाँजेको छ, यी दुई गाउँपालिकालाई । यस्तै धादिङको बेनीघाट रोराङका जनप्रतिनिधिको एउटै लक्ष्य र उद्देश्य छ, दक्षिण महाभारत लेकमा रहेका विकट चेपाङबस्तीलाई पृथ्वीराजमार्गसँग जोड्ने । सडक सञ्जाल नभएकै कारण दैनिक उपभोग्य वस्तु र उत्पादन बेच्न उनीहरू राजमार्गका बजार पुग्न घण्टौं उकाली, ओराली गर्छन् ।

यी सबै बाध्यताबाट मुक्त गर्न गाउँपालिकाले सडक सञ्जाललाई नै प्रमुख प्राथमिकतामा राखेको हो । राष्ट्रिय राजमार्ग नजिकै भएर पनि सडक सञ्जालले नछोएकै कारण अधिकांश बस्तीहरूमा बिजुलीलगायतका आधारभूत आवश्यकताको कमी छ ।

जिल्लामा सबैभन्दा बढी चेपाङ बस्ती (४३ प्रतिशत) रहेको बेनीघाट रोराङमा सडक पुर्‍याउन नयाँ सडक निर्माण, पुरानाको स्तरोन्नति र अधुरा रहेका सडक योजनाहरू सम्पन्न गर्न गाउँपालिकाले प्रमुख प्राथमिकता दिएको छ । ‘एक दर्जन चेपाङ बस्तीहरू सडक सञ्जालसँग जोडिंदै छन्,’ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले भने ।

चालु आर्थिक वर्षमा बेनीघाट गाउँपालिकाले सबै बस्तीहरूमा सडक पुर्‍याउन १ सय २४ योजनालाई ६ करोड ३७ लाख २० हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाका रोवाङ, ऐवाङ, ताकथली, हेक्राङ, पिपिलडाँडा, गोठीभन्ज्याङ, डुम्वाङ, वुमराङ, वुम्पुङ, विदाङ, धुसागाउँ, भूमेडाँडा मिजारगाउँ, वरवाङ, आँपस्वारा, पागरजिप, चिम्वाङलगायतका दर्जनौं बस्तीहरूमा यसअघि नै सडक पुगिसकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर थापाका अनुसार चालु आवमा गाउँपालिकाका ३ वटा वडाका ४ वटा टोलबाहेक अन्य सबै बस्तीमा सडकले छोएको छ । वडा नं. २ को चोतेश र लवाङ तथा ६ नम्बरको वुमराङमा सडक पुग्न बाँकी छ ।

‘पर्यटकीय सम्भावना बोकेका स्थलहरूमा पनि आगामी आर्थिक वर्षसम्म सडक पुर्‍याउने लक्ष्यसहित प्रदेश सरकारको बजेट र स्थानीय तहको बजेटमा पनि समावेश गरेका छौं,’ गाउँपालिका अध्यक्ष देवीप्रसाद सिलवालले भने ।

सडक सञ्जालले छोएपछि राजमार्ग छेउछाउका चेपाङ कृषि कर्ममा लागेका छन् । जंगलमा खोरिया खन्दै हरेक २/४ वर्षमा अर्को जंगल चहार्ने चेपाङ एउटै बस्तीमा स्थिर भएर बेमौसमी तरकारी खेती गर्न थालेका हुन् । सडक पुगेकै कारण वरवाङका एक सय घरधुरी चेपाङ बर्सेनि लाखौं रकम आम्दानी गर्न थालेको वडा ४ का वडाध्यक्ष भुवन त्रिपाठीले बताए ।

प्रकाशित : असार ११, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?