कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीरगन्ज महानगरको नगर सभा बहिष्कार

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाको दोस्रो नगर सभा बहुसंख्यक नगर सभा सदस्यले बहिष्कार गरेका छन् । नगर सभा गृहमा परिषद उद्घाटन समारोह चलिरहँदा एक सय १० नगर सभा सदस्य बाहिर धर्नामा बसेका थिए । बन्द सत्रमा सदस्य संख्याको सामान्य बहुमत पुग्न नसक्दा हालसम्म सुरु हुन सकेको छैन । 

वीरगन्ज महानगरको नगर सभा बहिष्कार

अगामी वर्षको बजेट, नीति तथा कार्यक्रम पारित हुन सकेको छैन । विकास निर्माण तथा सामाजिक मुद्दामा वडा अध्यक्षले कुनै किसिमको सुझाव नलिएको उनीहरुको गुनासो छ । हामीपनि जनप्रतिनिधि भएकाले हामीले पनि विकास गर्न पाउनु पर्‍यो भन्ने उनीहरुको माग रहेको छ । ‘न त वडा अध्यक्षले इज्जत गर्छन् न त मेयरले नै,’ २१ नम्बर वडा सदस्य जीतन कुर्मीले भने, ‘सरकारले निर्धारण गरेको सेवा सुविधा पनि दिएका छैनन् ।’ नीति तथा कार्यक्रममा समेत राय सुझाव नलिएको उनले सुनाए ।


गत आर्थिक वर्षको बजेट कुन कुन शीर्षकमा खर्च भयो, त्यो पनि जानकारी छैन । नियमित रुपले वडामा बत्ती समेत नबलेको उनले गुनासो गरे । वडा नम्बर १२ का सदस्य रमेश प्रसाद कानुका अनुसार ट्याक्टरको अभावमा वडाको फोहर संकलन हुन सकेको छैन । उनले भने, ‘तर, वडा अध्यक्षहरुले आफू चढ्नका लागि मोटरसाइकल खरिद गर्ने निर्णय गरेका छन् ।’ वडा ४ की सदस्य राधा कार्कीले अध्यक्ष र मेयर पैसा खर्च गरेर चुनाव जितेको भएपनि आफूहरु स्थानीयको सदाशयताले जितेको दाबी गरिन् ।


‘हामीलाई भोट दिएकाहरुले पनि हामीसँग केही अपेक्षा राखेका छन्,’ उनले भने, ‘तर, हामीले आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनौँ ।’ वाड नम्बर १० का अध्यक्ष नगिना साहले विवादका कारण बन्द सत्र स्थगित भएको बताए । ‘सोमबार बोर्ड बैठकमा छलफल गरी समस्या समाधान गर्छौ,’ उनले भने ।


उद्घाटन सत्रमा उपमेयर शान्ति कार्कीले अगामी आर्थिक वर्ष २०७५/७६ का लागि ४ अर्ब ९४ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको थिइन् । जसमध्ये २ अर्व ६१ करोड ८२ लाख रुपैयाँ एसियाली विकास बैंकद्वारा सञ्चालित परियोजनाको बजेट रहेको छ । अगामी आवको आयतर्फ नेपाल सरकारबाट सशर्त अनुदान ५५ करोड, प्रदेश सरकारबाट ३ करोड, केन्द्र सरकारका कार्यक्रमसँग आवद्ध रकम २५ करोड ४६ लाख, नगर विकास कोषको पूर्वस्वीकृत ऋणबाट २३ करोड ३५ लाख, नेपाल सरकारको समानीकरण अनुदानबाट ४३ करोड १७ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट ७७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।


आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरबाट ५९ करोड ५३ लाख ६० हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ । आन्तरिक आयमा महानगरपालिकाले महात्वकांक्षी लक्ष्य निर्धारण गरेको जानकारहरुले टिप्पणी गरेका छन् । चालू आवमा करिब १४ करोड रुपैयाँ आन्तरिक आय हुने देखिन्छ, नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने, झन्डै ४ गुणा बढी कर कसरी संकलन हुन्छ ?


विनियोजित बजेटमा पूर्वाधार विकास तर्फ ६७.६ प्रतिशत, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रमा ०.४ प्रतिशत, सामाजिक विकास क्षेत्र तर्फ १७.२ प्रतिशत, कृषि, पर्यटन तर्फ ०.४ प्रतिशत, सामाजिक विकास तर्फ ०.४४ प्रतिशत, सामाजिक सुरक्षा भत्तामा ४.०१ प्रतिशत र अन्यमा १०.३५ प्रतिशत रहेको छ । नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान र राजस्व बाँडफाँडको ठूलो हिस्सा महानगरको प्रशासनिक खर्च व्यवस्थापनमै जाने देखिएको छ । यसले गर्दा वडा र नगरस्तरीय विकास योजनाहरुको कार्यान्वयनका लागि आन्तरिक आयमा निर्भर रहनुको विकल्प देखिदैन् । आन्तरिक आयमा वृद्धि गर्नका लागि करका दरहरुमा परिवर्तन र दायरा विस्तारको नीति लिइएको छ ।


केही क्षेत्रमा नयाँ शुल्क प्रस्ताव गरिएको छ भने कर बक्यौता असुलीलाई उच्च प्राथमिकता दिइने उल्लेख छ । ‘वीरगन्जको समृद्धि आफ्नै बलबुतामा’ भन्ने नारालाई सार्थक पार्न निजी क्षेत्रसँग निरन्तर सम्वाद र सहकार्य गर्दै राजस्वको आधार बलियो बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


‘स्थानीय कर स्थानीय विकासको लागि नगरको सेवा तपाई करदाताको लागि’ भन्ने सोच राखी कर संकलन र करदाता वृद्धि कार्यक्रमलाई प्रभावकारी बनाइने छ । महानगरको भौतिक विस्तारको लागि विज्ञहरुको सहयोगमा सहरी यातायात सञ्जाल योजना तयारी गरी कार्यान्वयनमा ल्याइने छ ।


महानगरपालिकाका मेयर विजय सरावगीले सबै पक्षलाई मिलेर वीगन्जको विकासमा अग्रसर हुन आह्वान गरेका थिए । नगर परिषद बहिष्कार गर्ने सदस्यहरुलाई आफ्नो माग परिषदमै राख्न जोड दिएका थिए । आफूले राम्रो गर्दा गर्दै पनि केही कर्मचारी र वाहिरी समूहले नकारात्मक प्रचार गरेको उनले आरोप लगाएका थिए ।

प्रकाशित : असार ११, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?