१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

तेह्रथुमका १५ वस्ती पहिरोको उच्च जोखिममा

चन्द्र कार्की

तेह्रथुम — जिल्लाका १५ वस्ती पहिरोको उच्च जोखिममा परेका छन् । जाखिमयुक्त वस्तीका वासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले सतर्क रहन सूचना गरेको छ ।

तेह्रथुमका १५ वस्ती पहिरोको उच्च जोखिममा

साविकका नौ गाविसका १५ बढी वस्ती बाढी पहिरोको उच्च जोखिममा परेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।


केही दिन देखि आएको निरन्तर वर्षासँगै जिल्ला दैवी प्रकोप उद्धार समिति, रेडक्रस, प्रहरी लगायतका संस्थाले विपद क्षेत्रको पहिचान गरी उच्च जोखिममा रहेका वस्तीका वासिन्दालाई सतर्कता अपनाउन सूचना गरेका हुन् ।

रेडक्रसको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी यी क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले वर्षात्‌को कुनै पनि समयमा पहिरो बग्‌न सक्ने र जनधनको क्षति हुने चेतावनी दिएको छ ।


रेडक्रसले जिल्लाभरका यस्ता वस्तीको स्थलगत अध्ययन गरी पहिरोलाई न्यून, मध्यम र उच्च गरी तीन भागमा वर्गीकरण गरेको जनाएको छ ।

वर्षात्‌को समयमा जमिन कमजोर हुने र पहिरोको जोखिम समेत बढ्ने भएकाले जोखिममा रहेका वस्तीसम्म पुगेर सचेतना र पूर्व तयारीका कार्यक्रम समेत सञ्चालन गरिरहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रजिअ खनालले बताए ।


गत वर्षको असार १६ गते म्याङलुङ नगरपालिका–५ आमदेनमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । पहिरोमा परी परिवारका अन्य तीन जना गम्भीर घाईते भएका थिए ।


जिल्लामा विगतका वर्षमा भएका प्राकृतिक विपदलाई आधार मानेर कुन स्थानीय तहको कुन वस्ती बढी जोखीममा छ ? भनेर पहिचान गरिएको रेडक्रसले जनाएको छ । स्थलगत अध्ययनपछि पहिचान भएका जोखिमयुक्त क्षेत्रका वस्ती सहितको नामावली जिल्ला दैवीप्रकोप उद्धार समितिमा बुझाइएको रेडक्रसले जनाएको छ ।


बाढी पहिरोको उच्च जोखिम पहिचान भएका वसन्तपुर, आङदीम, आम्वुङ, ईसिवु, जिरीखिम्ती, खाम्लालुङ, ओयाक्जुङ, फुलेक र सुङनाम क्षेत्रका वस्तीका वासिन्दालाई उच्च सतर्कता अपनाउन समेत भनिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।


जोखिम न्यूनिकरण प्रयास प्रभावकारी भएन

जोखिम न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाले निरन्तर प्रयास गरीरहेका भएपनि त्यति प्रभावकारी देखिएका छैनन् । प्रयाप्त वजेट र जनशक्तिको अभावमा गरिएका कामको प्रभावकारिता नदेखिएको स्वयंम कार्यालयहरु स्वीकार्छन् ।


सुख्खाग्रस्त क्षेत्रमा पानीको पाईपलाइन विस्तार गर्न र वस्ती तल रहेका नदीनालाको पानी माथि ल्याउन लिफ्ट प्रणालीको आयोजना सञ्चालन गर्न बजेट अभाव भएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले जनाएको छ ।


बाक्लो वस्ती, फुसका छानो भएका घरको संख्या बढी हुनु, सुख्खा क्षेत्र हुनु र चेतनाको कमीका कारण जिल्लामा वर्षेनी हुने आगलागीको घटना न्यूनिकरण गर्न कठिनाई भइरहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

प्रकाशित : असार ११, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?