पानी परेपछिको सडक सास्ती हटाउन महानगरपालिकाका दुई विकल्प 

विद्या राई

काठमाडौँ — सामान्य पानी पर्ने बित्तिकै काठमाडौं महानगरपालिकाका सडकहरु हिलाम्मे हुन्छन् । पानी जमेर सडकमा पोखरी र दह बनेको हुन्छ ।

पानी परेपछिको सडक सास्ती हटाउन महानगरपालिकाका दुई विकल्प 

जलमग्न सडकमा सवारी साधनहरु पौडिएको देखिन्छन् । पैदलयात्रुहरुले जताततै खनिएका ढल, नाली र मेलम्ची खानेपानीका भ्वाङमा ज्यानको जोखिम मोलेर यात्रा गरेको दृश्यहरु देख्न सकिन्छ ।


गतवर्ष सामाखुसी चोकमा पानीले भरिएको नालीमा एक बालिका डुबिन । बालिका सत्या सापकोटा झुक्किएर नालीमा डुब्न पुगिन् । भाग्यवश उनको सकुशल उद्धार भयो । ती बालिका डुबेको केही समयमै नालीमा बग्दै केहि तल पुगेकी थिइन् ।


वर्षायाममा नालीमा डुब्ने,खाल्डाखुल्डीमा पर्ने जस्ता घटनाहरु राजधानीवासीले खेप्दै आएका छन् । यो वर्ष जुन ८ तारिखबाट मनसुन सुरु भएको छ । विगतका वर्षझै सडकमा सवारी चलाउन, पैदलयात्रीहरुलाई समस्या सुरु भइसकेको छ । बर्खामास वर्षेनी दोहोरिने यस्ता समस्यालाई कम गर्न महानगरपालिकाले यो वर्ष दुई विकल्प अघि सारेको छ ।


काठमाडौं महानगरपालिकाका भौतिक शाखाका इन्जिनियर रामबहादुर थापाका अनुसार पहिलो विकल्प अन्तर्गत सडकमा भएका खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने, भित्री सडकहरुको स्तरोन्नती तथा कालोपत्रे गर्ने योजना सञ्चालन भइरहेको बताए । सडकमा खाल्डाखुल्डी बढेकाले दुर्घटना बढेको गुनासा आएपछि यो वर्ष महानगरले मर्मत कार्यलाई जोड दिएको हो ।


महानगरभित्र पर्ने आठ मिटर चौडाइका एक हजार किमि सडकमध्ये धेरैजसो कालोपत्रे भएपनि स्तरीय छैनन् । ती सडकमा खाल्डाखुल्डी पर्न थालिसकेको छ । महानगरपालिकासँग कति सडकको मर्मत गर्नुपर्ने हो यसको आधिकारिक तथ्याङ समेत छैन ।


‘जहाँ जतिबेला आवश्यक पर्छ मर्मत गर्दै जाने, खाल्डाखुल्डी रहित त भन्न मिल्दैन, गत वर्षका तुलनामा समस्यालाई कम गर्ने लक्ष्य छ,’ इन्जिनियर थापाले बताए । यो वर्ष हिलो र पानीको कारण सडकमा यात्रा गर्न समस्या नहुने उनले दाबी गरे ।


सडक मर्मतका लागि २५ करोड बजेट विनियोजन गरिएको छ । काठमाडौंको ३२ वटै वडामा योजनाहरु सञ्चालन भइरहेका छन् । पाँच करोडका पाँचै प्याकेजमा फागुन महिनादेखि काम सुरु भएका छन् । पूर्वी प्याकेजमा ६ देखि १० सम्म तथा ३१ र ३२ वडा पर्छन् ।


यसको ठेक्का सुनकोसी कन्स्ट्रक्सनले लिएको छ । उत्तरी र पश्चिमी प्याकेजमा कडेल केएनजेभीले क्रमश: २, ३, ४ र २६ तथा १३ देखि १६ वडामा मर्मतको जिम्मा पाएको छ । मध्यमा ओटु–सफल जेभीले १, ५, ११, २८ देखि ३० र पाण्डे कन्स्ट्रक्सन सिटिकोर प्याकेजमा अन्य १४ वडाको मर्मत गर्ने ठेक्का पाएको छ ।


आइतबारसम्म ३० किमि सडक मर्मत भैसकेका छन् । हालसम्म १५ करोड खर्च भएको महानगरले जनाएको छ । सडक मर्मतबाहेक ढुगां छाप्ने, चोक मर्मत गर्ने, फुटपाथ निर्माणका काम भैइरहेका छन् । असार मसान्तसम्ममा १८ करोडको काम सम्पन्न गर्ने महानगरको लक्ष्य छ ।


बाँकी ७ करोडको काम मनसुन सकिए पश्चात् भदौ महिनादेखि मंसिरभित्रमा सम्पन्न गर्ने जानकारी गराएको छ । आगामी दुई महिना अवधिका लागि सडक स्तरोन्नती अन्तर्गत कालोपत्रे गर्न बन्द गरिएको कारण मंसिरसम्म लाग्ने जनाइएको छ ।


मनसुनका बेला कालोपत्रे बगाउने हुँदा कालोपत्रेको काम बन्द गरेपनि धुम्बाराही–महाराजगञ्ज, कलंकी–स्वयम्भु, नयाँबानेश्वरमा विरेन्द्र कलेजको पछाडि पट्टिदेखि शान्तिनगर खण्ड, चप्पलकारखाना लगायतका विभिन्न ठाँउमा कालोपत्रे गर्नका लागि तयारीका काम भैइरहेका छन् ।

प्रकाशित : असार ११, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?