गिरफ्तार विद्यार्थी नेता नछुटेपछि विद्यालय बन्द

रमेशकुमार पौडेल

चितवन — नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेताहरु समातिएको विरोधमा चितवनका शैक्षिक संस्थाहरु आइबारदेखि बन्द छन् । गिरफ्तार भएका नेताहरु रिहा नभए अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने क्रान्तिकारीको चेतावनीपछि विद्यालय बन्द भएका हुन् । बन्द खोल्न आइतबार नै दर्जन संघ संस्थाले अनुरोध गरे पनि विद्यालय खुल्ने विषयमा अन्यौल छ ।

गिरफ्तार विद्यार्थी नेता नछुटेपछि विद्यालय बन्द

चितवनको शिक्षा विकास तथा समन्वय इकाई (साविकको शिक्षा कार्यालय)बाट प्राप्त जानकारी अनुसार जिल्लामा ३७७ सामुदायिक (सरकारी) विद्यालयसहित कुल ५४८ विद्यालय छन् । सामुदायिक विद्यालयमा ८८ हजार र संस्थागत (नीजि, बोर्डिङ) स्कुलमा ७८ हजार विद्यार्थीले अध्ययन गर्ने इकाइका प्रमुख दीपेन्द्र सुवेदीले बताए । क्रान्तिकारीको बन्द आह्वानपछि नीजि बोर्डिङ स्कुलहरु पूर्ण बन्द भएका छन् ।


सकरकारी स्कुलहरु पनि आंशिक बन्द भएको नेपाल शिक्षक महासंघ चितवनका सह-अध्यक्ष गुरुप्रसाद पौडेलले बताए । महासंघसहित नीजि विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन, शिक्षकहरुका अन्य संघ संगठनसहित ११ वटा संस्थाले आइतबार संयुक्त विज्ञप्ति निकालेर विद्यालय शान्ति क्षेत्र भएका कारण आन्दोलनका नाममा विद्यालय बन्द नगर्न अपिल गरेका थिए ।


‘आन्दोलन गर्नेको जायज मागहरु राज्यले सुन्नु पर्छ । तर आन्दोलनरत पक्षले पनि विद्यार्थीलाई मर्का पर्ने काम गर्नु भएन । त्यसैले हामीले हड्ताल फिर्ता लिन भनेका हौं,’ प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीले भने । सरकारका विरुद्ध आन्दोलन गरे पनि विद्यालय बन्दले विद्यार्थीलाई बढी असर गरेका कारण अनिश्चितकालीन शैक्षिक हड्ताल फिर्ता भएर मंगलबार पढाई सुरु हुनेमा आफू आशावादी भएको उनले बताए ।


चितवन प्रहरीले आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र माडी क्याम्पस इकाइ सदस्य सरोज भट्टराईलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारी चितवनले असार ५ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई ७२ घण्टाभित्र रिहा नगरे अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने असार ५ मा जारी विज्ञप्तिमा संगठनका जिल्ला सचिव दपर्णले चेतवानी दिएका थिए ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यका अनुसार माडीका सरोज भट्टराई जेठ २० गते गिरफ्तार भएका हुन् । उनी असार ५ गते नै छुटेको डिएसपी आचार्यले बताए । त्यसै गरी रमेश लामिछाने असार ५ गते पक्राउ भएका हुन् । अशान्ति सिर्जना गर्ने, धाकधम्की दिने गरेको आरोपमा उनीहरु समातिएको आचार्यले जानकारी दिए ।

प्रकाशित : असार ११, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?