कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एसईईमा लापरबाही कसको ?

मन्त्रालयद्वारा छानबिन समिति गठन
शिक्षामन्त्री भन्छन्– ‘कारबाही हुन्छ’
सुदीप कैनी

काठमाडौँ — शिक्षाविद् र सरोकारवालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार अधिकारीमाथि कडा कारबाही माग गरेका छन् । परीक्षाफलजस्तो संवेदनशील विषयमा खेलबाड गरेर कार्यालयले लाखौं विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक तनाव दिएको उनीहरूले बताएका छन् ।

एसईईमा लापरबाही कसको ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कार्यालयको लापरबाहीले २४ घण्टामै नतिजा फरक परेको उनीहरूको निष्कर्ष छ । पूर्वशिक्षा सचिव जनार्दन नेपालले उच्चस्तरीय छानबिन जरुरी रहेको बताए । ‘के कसरी त्रुटि हुन पुग्यो, पद्धतिमा त्रुटि हो कि, मानवीय त्रुटि हो, छानबिन गरेर दोषीमाथि कारबाही गर्न जरुरी छ,’ उनले भने । पद्धतिलाई मात्रै दोष दिएर उम्कन नमिल्ने उनले प्रस्ट पारे ।

परीक्षा नियन्त्रण कार्यालय भने वेबसाइटमा प्राविधिक समस्या आएका कारण नतिजा फरक पर्न गएको भनेर उम्कन खोजेको छ । पूर्वशिक्षा सचिव नेपालले नतिजामा त्रुटि हुनु छानबिनको विषयवस्तु भएको बताए । ‘आगामी दिनमा यस्तो गल्ती नहोस् भनेर पनि छानबिन गरिनुपर्छ,’ उनले थपे, ‘छानबिनबाट आएको परिणाम सबैले स्वीकार गरेर जानुपर्छ ।’ उनले छानबिनबाट कस्तो किसिमको गल्ती भएको हो, किटान गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

शनिबार प्रकाशित गरिएको एसईई नतिजामा त्रुटि भएको कार्यालयले स्वीकार गरिसकेको छ । शनिबार प्रिन्ट भएको ग्रेडसिट (मार्कसिट) र आइतबार प्रिन्ट गरेको ग्रेटसिटमा फरक परेको थियो । काठमाडौं परीक्षाकेन्द्र भएका सिम्बोल नम्बर ०३०६३४९ ‘क्यु’ का सौगात जोशी कक्षामा पहिलो, दोस्रो हुने विद्यार्थी हुन् । सुरुमा नतिजा हेर्दा ग्रेडसिटमा गणित विषयको ग्रेडप्वाइन्ट नै उल्लेख थिएन ।

पुन: हेर्दा उक्त विषयमा १.२ जीपीए देखिएको छ । ‘विद्यार्थी र परिवार साह्रै तनावमा छन्,’ जोशीका शिक्षकसमेत रहेका प्याब्सन महासचिव राजेन्द्र बानियाँले भने, ‘यो त हदै लापरबाही हो ।’ परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक त्रास दिएको उनले बताए । अधिकांश परीक्षार्थीको पछिल्लो पटक ग्रेडसिट प्रिन्ट गर्दा जीपीए बढेर आएको थियो ।

एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले एसईई परीक्षाकै विश्वसनीयता र वैधतामा गम्भीर प्रश्न उठेको बताए । ‘तीन महिना लगाएर नतिजा प्रकाशन गर्दा पनि यस्तो गल्ती हुनुमा चरम लापरबाही मुख्य कारण हो । यसले परीक्षा नियन्त्रण कार्यालयको विश्वास घटेको छ ।’ आगामी दिनमा परीक्षा हल र उत्तरपुस्तिका परीक्षण स्थलमा सीसीटीभीको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

अभिभावक र विद्यार्थीले यस्तो गम्भीर लापरबाहीको जिम्मेवारी लिएर शिक्षामन्त्रीले राजीनामा गर्नुपर्ने र परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका दोषी कर्मचारीलाई समेत कारबाही गरिनुपर्ने माग राखे ।

ओखलढुंगाका विद्यार्थी दीपक खतिवडा दुई दिनदेखि परीक्षा नियन्त्रण कार्यालयमा भौंतारिरहेका छन् । ‘कापी हराएर हो कि किन हो,’ उनले कान्तिपुरसँग भने, ‘मेरो त ग्रेडसिटमा तीनवटा विषयमा नम्बर नै दिइएको छैन ।’ ११ कक्षामा भर्ना हुन पाइने हो कि होइन भनेर उनी पिरोलिइरहेका थिए । एनप्याब्सन अध्यक्ष सापकोटाका अनुसार कतिपय विद्यालयको नतिजा प्रकाशन नै भएको छैन । ‘नतिजा प्रकाशन गर्न नसक्ने र प्रकाशित नतिजामा पनि त्रुटि गर्ने शिक्षामन्त्रीदेखि सबैले गल्ती स्वीकार गर्नुपर्छ,’ परीक्षा नियन्त्रण कार्यालयमै भेटिएकी अभिभावक गीता रानामगरले भनिन्, ‘दोषीलाई कारबाही गर्नुपर्छ ।’ एसईई रिजल्टपछि विद्यार्थी निराश भएको, घरझगडा भएको र मनोवैज्ञानिक रूपमा हीनताबोध बढेको उनको दाबी छ ।

हिसान अध्यक्ष रमेश सिलवालले शिक्षा मन्त्रालयको खेलाँचीले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय अन्योलमा परेको बताए । ‘भोलि विद्यार्थी ग्रेडसिट लिएर कक्षा ११ मा भर्ना हुन आउँछन्,’ उनले भने, ‘हामीले कुनलाई आधार मानेर भर्ना लिने ?’ शनिबार परीक्षाफल प्रकाशित गरिएकामा आइतबार साँझसम्म जीपीए बढेको ग्रेडसिट प्रिन्ट भइरहेको थियो । कार्यालयले भने पछिल्लो पटक प्रिन्ट भएको ग्रेडसिट आधिकारिक भएको जनाएको छ । प्रविधिलाई दोष दिएर मात्र उम्कन नमिल्ने उनको तर्क छ । ‘प्रविधिको सही तरिकाले प्रयोग गर्न सक्नुपर्छ । रिजल्ट प्रकाशनको हालत यस्तो छ, उत्तरपुस्तिका परीक्षणको अवस्था झन् कस्तो होला,’ उनले आशंका व्यक्त गरे । सिलवालले त्रुटि गर्नेलाई छानबिन गरी कारबाही दायरामा ल्याउन माग गरे ।

छानबिन समिति गठन
एसईईको नतिजा प्रकाशनमा भएको त्रुटिको सत्यतथ्य पत्ता लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र उपसचिव दिनेश खनाल सदस्य छन् ।

प्रदेश नम्बर २ बाट काठमाडौं फर्केलगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा आकस्मिक बैठक डाकेका थिए । सचिव र सहसचिव सम्मिलित बैठकले छानबिन समिति गठन गरेर अघि बढ्ने निर्णय गरेको हो । समितिले ५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले छानबिन समिति गठन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । ‘प्राविधिक कमजोरीले परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएको बैठकले ठहर गर्‍यो,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘छानबिन समिति बनिसकेको छ, सत्यतथ्य पत्ता लगाएर त्यहीअनुसार अघि बढ्छौं ।’

शिक्षामन्त्री पोखरेलले नतिजा प्रकाशनमा भएको त्रुटिप्रति आफू गम्भीर रहेको बताए । ‘म संवेदनशील भएरै तुरुन्त छानबिन समिति गठन गरेको हुँ,’ कान्तिपुरसँग उनले भने, ‘परीक्षाजस्तो कुरामा यस्तो त्रुटि हुनु राम्रो होइन, कुन प्रकृतिको त्रुटि हो पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढ्छ ।’

समितिले आगामी दिनमा परीक्षालाई राम्रो बनाउन सुझावसमेत दिने उनले बताए । आइतबार साँझदेखि मात्र त्रुटि भएको नतिजा सुधार गरिएको कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मीले स्वीकार गरिसकेका छन् । शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशन गर्ने कार्यालयको तयारी थियो । प्राविधिक कारण देखाएर ५ घण्टा ढिला गरी नतिजा सार्वजनिक गरिएको थियो । नतिजामा त्रुटि हुनुमा पनि ‘वेबसाइटमा भएको सामान्य गल्ती’ भनिएको छ । पर्याप्त जनशक्ति नभएका कारण गत वर्षभन्दा एक साता ढिला गरी नतिजा प्रकाशन गर्नुपरेको उनले दाबी गरेका थिए ।

बोर्डको बैठकमा कसरी त्रुटि हुन पुग्यो भनेर छलफल भएको थियो । ‘इन्जिनियरले वेबसाइटमा रिजल्ट प्रकाशन गर्दा नयाँ सफ्टवेयर प्रयोग गर्नुपर्नेमा पुरानो गरेछन्,’ बोर्डका एक सदस्यले भने, ‘पुरानो भर्सन प्रयोग गरेका कारण डाटा सपोर्ट नगरेर त्रुटि हुन पुग्यो ।’ कार्यालय प्रविधि प्रयोगमा चुकेको बोर्डका अध्यक्ष पौडेलले बताए । इन्जिनियर नसिब आचार्यले नतिजा प्रकाशन गर्ने जिम्मेवारी पाएका थिए ।

यसअघिका इन्जनियरको सरुवा भएपछि उनलाई जिम्मेवारी दिइएको थियो । ‘सम्बन्धित विषयमा विज्ञ नहुँदा त्रुटि हुन पुग्यो,’ ती सदस्यले भने, ‘ग्रेडसिटमा नम्बर चढाउने बेला फर्मुलासमेत गलत प्रयोग भएको देखिन्छ ।’ यद्यपि आचार्यले त्रुटि पत्ता लगाएर सच्याएको उनले कान्तिपुरसँग बताए । शैक्षिक जनशक्ति विकास केन्द्रका आचार्यले नतिजा प्रकाशन गर्ने र केन्द्रको पनि काम गर्ने दोहोरो जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित : असार १२, २०७५ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?