कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपाल आएनन् जापानी विदेशमन्त्री

काठमाडौँ — एसिया भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोको भ्रमण सूचीमा नेपाल भए पनि उनी भुटानबाटै थाइल्यान्डतिर लागेका छन् । भ्रमणको तयारी गर्दैगर्दा उनी नेपाल नआउने जानकारी परराष्ट्र मन्त्रालयले पाएको हो ।

नेपाल आएनन् जापानी विदेशमन्त्री

यसअघि विदेशमन्त्री कोनोले नेपालको औपचारिक भ्रमण गर्ने भनिएको थियो । उनी किन नेपाल आएनन् भन्ने स्पष्ट जानकारी दिइएको छैन । उनको भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराएको थियो । अब उनी दुई महिनापछि नेपाल आउने जानकारी आएको परराष्ट्र अधिकारीले बताए । भुटानको तीनदिने भ्रमण गरेका उनी नेपाल नआई थाइल्यान्ड पुगेका हुन् । त्यहाँबाट उनी इन्डोनेसियाको समेत भ्रमण गरेर स्वदेश फर्कनेछन् ।

नेपालका लागि नवनियुक्त जापानी राजदूतले ओहोदाको प्रमाणपत्र बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्दैछन् । छिमेकी र शक्ति मुलुकका राजदूतले आएलगत्तै ओहोदाको प्रमाणपत्र बुझाउने प्रचलन यसअघि भए पनि दातृ मुलुक जापानका राजदूतले एक महिना पर्खनुपरेको हो ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा परराष्ट्र मन्त्रालय व्यस्त हुनुपर्दा र ओहोदाको प्रमाणपत्र बुझाउने काममा ध्यान पुर्‍याउन नसक्दा पनि भ्रमण पछि सरेको हुन सक्ने परराष्ट्र अधिकारीहरू बताउँछन् ।

परराष्ट्र सचिव शंकरदास बैरागीले कान्तिपुरसँग कुरा गर्दै भने, ‘भ्रमण अहिलेभन्दा पछि नै ठीक हुने कुरा जापानकै प्रस्ताव हो । हाम्रो दूतावास र महाशाखाले यसमा काम गरिरहेको छ । कुनै असहजता आएको छैन ।’ उनले जापानलाई नेपालले प्राथमिकतामा राखेको पनि बताए ।

परराष्ट्र सचिव बेल्जियममा
परराष्ट्र सचिव शंकरदास बैरागी नेपाल र युरोपेली महासंघ (ईयू) को संयुक्त बैठकका लागि सोमबार बेल्जियम प्रस्थान गरेका छन् । सचिव बैरागी ब्रसेल्स र त्यसपछि जर्मनीमा हुने दुईपक्षीय संयन्त्रको बैठक सकेर स्वदेश फर्कनेछन् । उनी पछिका सहसचिव साना र हलुका हतियारसम्बन्धी कार्यक्रमका लागि अहिले अमेरिकामा छन् । सचिव र त्यसपछिका सहसचिव एकैसाथ विदेश भ्रमणमा जान नहुने प्रचलनलाई बेवास्ता गर्दा पछिल्लो सहसचिवले मन्त्रालय सम्हालेका छन् ।

प्रकाशित : असार १२, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?