राजमार्गमा उद्धार सामग्रीकै अभाव

हरिहरसिंह राठौर

जुंगेखोला (धादिङ) — २०७२ माघ १६ मा बेनीघाट चरौंदीको एक घरमा मध्यरातमा आगलागी भयो । पूर्वाधार अभावमा आगलागी नियन्त्रणमा लिनै सकिएन । दिउँसो छोरी अन्माएका घरधनी किशोर थपलियासहित अन्य पाहुना र आफन्त गरी ४ जनाले सुतिरहेकै अवस्थामा ज्यान गुमाए ।

राजमार्गमा उद्धार सामग्रीकै अभाव

गत वैशाख १९ मा थाक्रेको हुलाकीडाँडास्थित राजमार्गमा नेपाली सेनाको ट्रकमा मोटरसाइकलले ठक्कर खाएपछि दुवै सवारीमा आगलागी भयो । आगलागी नियन्त्रण गर्ने दक्ष जनशक्ति र भरपर्दो साधन अभावमा नजिकैका व्यापारीले २ वटा एस्काभेटर प्रयोग गरी माटो र बालुवा खन्याएर नियन्त्रणमा लिए पनि राजमार्गमा घन्टौं जाम लाग्यो ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले वैशाख २२ मा गरेको बन्दका क्रममा धार्केस्थित पेट्रोलपम्प र सिद्धार्थ ग्यास उद्योग नजिकैको चौरमा रोकेर राखेका भारतीय कन्टेनरमा आगजनी गरे । ३० किमि टाढाको काठमाडौंबाट जुद्ध वारुण यन्त्रबाट दमकल आउँदा आउँदै कन्टेनर जलेर ध्वस्त भए ।

प्रहरीले नजिकैका व्यापारीका २ एस्काभेटर प्रयोग गरी आगो नियन्त्रणमा लिए पनि कन्टेनर बचाउन सकेनन् । यस्तै गत २१ गते जुंगेखोलामा हेटौंडाबाट सिमेन्ट बोकेर काठमाडौंतर्फ जाँदै गरेको ट्रकको इन्धन भर्ने ट्यांकीमा सानो जिपले ठक्कर दिँदा आगलागी भयो । नियन्त्रणका उपाय केही भएनन् । सडक छेउमा घडेरी सम्याउँदै गरेको एस्काभेटरले माटो हालेर निभाए पनि ट्रक खरानी भयो ।

६० किमि टाढाको सदरमुकाम धादिङबेंसीबाट दमकल घटनास्थल पुगेर टायरमा लागेको आगो निभायो । तैपनि राजमार्गमा ५ घण्टा जाम पर्‍यो ।

पृथ्वीराजमार्ग र वरपर आगलागीका यस्ता घटना भइरहन्छन् । तर आगलागी र बाढीपहिरो जस्ता विपद् आइलागेमा नियन्त्रण गर्ने दक्ष जनशक्ति र आवश्यक उपकरणकै अभाव छ । पृथ्वीराजमार्गमा दुर्घटनालगायत दैनिकजसो विपद् आइलाग्ने गरेको छ ।

दुर्घटनाका घाइतेको तत्काल उद्धार र आगलागी नियन्त्रण समयमै हुन नसक्दा ठूलो जनधनको क्षति हुने गरेको छ । सवारी साधनहरूले च्यापिएका घाइतेलाई तत्काल उद्धार गर्न पल्टेको सवारीसाधन उठाउने उपयुक्त क्रेनसमेत छैन । गृह मन्त्रालयले गजुरीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराएको एस्काभेटर भाडामा लगाइएको छ । खानी खोलालाई दिएको लोडर पनि प्रयोगविहीन अवस्थामा छ ।

अत्यधिक दुर्घटना हुने पृथ्वीराजमार्गका प्रहरी चौकीलाई विपद् व्यवस्थापनका सामग्री पनि उपलब्ध गराइएको छैन । न त राजमार्गमा रहेका अस्पताल नै सुविधासम्पन्न छन् । ‘दुर्घटनापछि हाडजोर्नी तथा टाउकोको चोटपटक हेर्ने विशेषज्ञ चिकित्सक आवश्यक पर्छन् । राजमार्गका अस्पतालमा यस्ता चिकित्सक छैनन्, प्राथमिक उपचार गरेर घाइतेलाई काठमाडौं पठाउनुपर्नेबाहेक अर्को उपाय छैन,’ गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले भने ।

तिमिल्सिनाका अनुसार घाइते बोक्ने एम्बुलेन्सहरूले पनि बिरामीहरूलाई अस्पतालमा पुर्‍याएबापत कमिसन खाने गरेको गुनासो आएको छ । दुर्घटना भएका सवारीसाधनका फलामे झ्यालढोकाहरू काट्ने विद्युतीय उपकरण छैनन् । सडकमा पल्टिएका सवारीसाधनहरूले च्यापेका घाइतेहरूको समयमा उद्धार र उपचार हुन नसक्दा अकाल ज्यान जाने गरेको छ ।

विपद् व्यवस्थापनका नाममा भूकम्पपछि स्थानीय निकायहरूलाई विभिन्न अन्तर्राष्ट्रिय गैससहरूले बाल्टिन, स्ट्रेचर, माटो खन्ने सामग्री, डोरीलगायतका सामग्री हस्तातरण गरेका छन् । तर विपद् आइलाग्दा कुनै पनि सामग्री प्रयोग हुन सकेनन् । नेपाल रेडक्रसलगायतका संस्थाहरूले स्थानीयस्तरमा कैयौं पटक विपद् व्यवस्थापन र प्राथमिक उपचार तालिम प्रदान गरे पनि ती तालिम उपयोगमा आउन सकेका छैनन् । विपद् परेका बेला सुरक्षा निकाय र केही स्थानीय सामुदायिक क्लबबाहेक अरू सहयोग गर्न अगाडि बढ्दैनन् ।

कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् उद्धार तालिम केन्द्रबाट आउने गोताखोर, गजुरी र बैरेनीस्थित नेपाली सेना, आदमघाटमा रहेको सशस्त्र प्रहरी र राजमार्गका अन्य प्रहरीचौकी नै विपद् उद्धारमा खटिने गरेका छन् । नीलकण्ठ नपालाई उपलब्ध गराइएको दमकल घटनास्थल पुग्दा ठूलो क्षति भइसकेको हुन्छ । ‘राजमार्गका स्थानीय तहहरूको साझेदारीमा दमकल खरिद गर्ने सल्लाह गर्दैछौं,’ धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले भने ।

प्रकाशित : असार १२, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?