२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दुर्घटनामा मर्नेमा एक तिहाइ पैदलयात्री

दीपेन्द्र विष्ट

काठमाडौँ — गत वर्ष जेब्रा क्रसिङबाट बाटो काट्न लाग्दा वसुन्धरामा बसको ठक्करबाट सुनसरीकी २३ वर्षीया रविना चौधरीको मृत्यु भयो । चालक विनय तामाङले चलाएको ना४ख ४२६२ नम्बर बसले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मर्नेमा एक तिहाइ पैदलयात्री

त्यस्तै, गत वर्ष वैशाखमा अनामनगरमा जेब्रा क्रसिङमै मोटरसाइकलको ठक्करले पूर्वगृह सचिव पद्मराज सुवेदीको मृत्यु भयो । ८० वर्षीय सुवेदी ‘मर्निङ वाक’ मा निस्केका थिए ।


सार्वजनिक यातायातमा लामो अध्ययन र अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सूर्यराज आचार्यले उपत्यकामा फुटपाथ र जेब्रा क्रसिङजस्ता यातायातका पूर्वाधार नै कमजोर भएकाले दुर्घटना बढी हुने गरेको बताए । ‘नियम त बनाउँछन् तर पूर्वाधार पैदलमैत्री नै छैनन्,’ उनले भने, ‘जेब्रा क्रसिङ पैदलयात्रीमात्र होइन, गाडीलाई खोइ ? ट्राफिक बत्ती खोइ ?’ अन्तर्राट्रिय प्रचलनअनुसार पैदलयात्रीले जेब्रा क्रसिङमा खुट्टा टेक्नेबित्तिकै गाडी रोकिनुपर्नेमा उपत्यकाका चालकले झन् कुदाउने गरेको उनले बताए ।


‘जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउनु राम्रो हो, तर पैदलयात्रीका लागि पूर्वाधार खोइ त ?’ आचार्य भन्छन् । यसले गर्दा पैदलयात्रीले फुटपाथ वा जेब्रा क्रसिङमा सुरक्षित महसुस गर्न नसकेको बुझाइ उनको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जेब्रा क्रसिङमा नरोक्ने चालकलाई सजाय निकै कम भएको बताए । सवारी तथा यातायात ऐनअनुसार जेब्रा क्रसिङमा नरोक्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान छ ।


‘जेब्रा क्रसिङमा अनुशासन उल्लंघन गर्ने चालकलाई दण्ड जरिवाना नै कम भयो,’ आचार्यले भने, ‘५ हजार रुपैयाँ भए कसले रोक्दैन ?’ ऐन कानुनमै सुधार भए चालकलाई कारबाही गर्न सजिलो हुने उनले बताए । उपत्यकामा भएको सवारी दुर्घटनाको अनुपात केलाउँदा जेब्रा क्रसिङ होस् वा फुटपाथमा, गाडीको ठक्करबाट मृत्यु हुने पैदलयात्रीको संख्या धेरै छ ।


प्रत्येक वर्ष पैदलयात्रीको दुर्घटनामा हुने मृत्युको अनुपात बढदै गएको भन्दै उनले फुटपाथमा व्यापार तथा पार्किङलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने बताए । ‘महानगरभित्र पार्किङको व्यवस्था गर्नैपर्छ, महानगरपालिकाले त्यसका लागि स्थान तोक्नैपर्छ,’ उनले भने, ‘अनिमात्र पैदलयात्रीले सजिलैसँग आवतजावत गर्न सक्छन् ।’


उपत्यका ट्राफिक महाशाखाले आर्थिक वर्ष २०६९/७० देखि ०७५ जेठसम्मको सवारी दुर्घटनाको तथ्यांक केलाउँदा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४३ प्रतिशत पैदलयात्री रहेको देखिएको छ । यो अवधिमा ७ सय २० जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । तीमध्ये ३ सय ४१ पैदलयात्री छन् । आव ०६९/७० मा गाडी दुर्घटनामा मृत्यु भएका १ सय ४८ मृतकमध्ये ६३ पैदलयात्री थिए । ०७०/७१ मा भएका दुर्घटनामा १ सय ४३ को मृत्यु भएकामा ५३ जना पैदलयात्री छन् ।


०७१/७२ मा १ सय ३३ जनाको मृत्यु भएकामध्ये ५७ पैदलयात्री छन् । ०७२/७३ मा १ सय ६६ जनाको मृत्यु भएको थियो । तीमध्ये ५७ पैदलयात्री थिए । ०७३/७४ मा १ सय ३० जनाको सवारी दुर्घटनामा मृत्यु भएकामा ५८ पैदलयात्री थिए । ०७४/७५ मा १ सय ६८ जनाको मृत्यु भएकामध्ये ५३ जना पैदलयात्री थिए । जेब्रा क्रसिङमा चालकले कसैको ज्यान लिए ज्यान मुद्दा चलाउने प्रावधान छ । ज्यान मुद्दाअनुसार ८ देखि १० वर्ष कैद सजाय हुन्छ ।


प्रकाशित : असार १३, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?