१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वर्षासँगै बाढी र पहिरो

-बागलुङ र स्याङ्जामा चारको मृत्यु -अधिकांश सडक अवरुद्ध घरगोठ पुरिए -धानबालीमा क्षति

पोखरा — वर्षायाम सुरु भएसँगै प्रदेश ४ का विभिन्न जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाउन थालेको छ । बागलुङमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । बस्ती नै पहिरोको जोखिममा परेको छ भने झोलुंगेपुल र खेतीयोग्य जमिन बगाएको छ ।

वर्षासँगै बाढी र पहिरो

पहिरोले घरगोठ पुरिएका छन् । स्याङ्जामा खोलाले बगाएर युवतीको मृत्यु भएको छ । जिल्लाका अधिकांश सडक वर्षाले अवरुद्ध छन् ।


सोमबार राति ११ बजे खसेको पहिरोले बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट, लुरुङमा घर पुर्दा ४० वर्षीय विष्णुबहादुर घर्ती, श्रीमती ३५ वर्षीया विष्णु र ६ महिनाकी छोरी सोनियाको घटनास्थलमै मृत्यु भएको हो । घटना थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय बरेङका सहायक निरीक्षक मंगल नेपालीको नेतृत्वमा गएको उद्धार टोलीले मंगलबार बिहान मात्र शव निकालेको थियो । खत्रीका दुई छोरी कामविशेषले जिल्ला बाहिर गएका थिए ।


घरमा पालेका पशुचौपाया पनि पुरिएका छन् । प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । लुरुङमै अन्य २ घर र ३ गोठ पनि पुरिएका छन् । घटनास्थल पुगेर उद्धारको काम गर्न गाउँले र प्रहरीको टोली विभिन्न स्थानमा बाँडिएको वडा नम्बर २ का अध्यक्ष गुप्तप्रसाद कालाले बताए ।


बाढीपहिरोले गलकोट नगरपालिकाका विभिन्न स्थानमा घरगोठ, झोलुंगेपुल र खेत बगाएको छ । हरिचौरको राजाको पुल, नरेठाँटीस्थित दुइटा झोलुंगे पुल बगेका हुन् । पहिरोले लाखौंको भौतिक क्षति भएको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘नगरभित्रका धेरै बस्ती, खेत र सडक क्षतविक्षत बनाएको छ,’ उनले भने, ‘पीडितलाई सुरक्षित स्थानमा लैजान समेत अप्ठ्यारो भएको छ ।’


हरिचौरस्थित इलाका प्रहरी कार्यालयको प्रतीक्षालय र एउटा टहरो बगाएको छ । उद्धारमा निस्केको प्रहरीलाई आफ्नै कार्यालय जोगाउन हम्मे भएको जिल्ला प्रहरीका डीएसपी विश्वराजसिंह थापाले बताए । नरेठाँटी खोलाले बहाव परिवर्तन गरेकाले दर्जनौं घर पुरिएका छन् । पक्की घर हुनेहरूले छतमा गएर ज्यान जोगाए ।


पहिरोले मध्यपहाडी लोगमार्गको विभिन्न स्थानमा क्षति पुगेको छ । यात्री र स्थानीयले अवरुद्ध स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने प्रयास गरिरहेका छन् । ‘घरबस्ती जोगाउने कामलाई पहिलो प्राथमिकता दिएका छौं,’ गैह्रेले भने । नरेठाँटी, ठूलेपीपल, हटिया र हरिचौरका विभिन्न स्थानमा गरी सयौं रोपनी जमिनमा लगाइएको धानबाली बगर बनेको छ । दीपज्योति आधारभूत विद्यालयको मैदानमा क्षति पुग्नुका साथै केही सडक पनि बगेका छन् ।


बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोटमा ५ सय मिटर माथिदेखि खसेको पहिरोले खेत र केही गोठ पुरेको छ । गाईभैंसी र अन्य चौपायासमेत पुरिएका छन् । जिल्ला सुरक्षा समिति बैठकले तत्काल खोजी र उद्धारमा जुट्न प्रहरी र अन्य सुरक्षा निकायलाई निर्देशन दिएको प्रअिज वेदप्रसाद खरेलले बताए । ‘पीडितलाई उचित क्षतिपूर्तिका लागि सिफारिस गरिनेछ,’ उनले भने ।


त्यसै गरी स्याङ्जाको भीरकोट नगरपालिकास्थित बान्कीखोलाले बगाउँदा बिरुवा गाउँपालिका–८ कुसुन्डेकी १६ वर्षीया अनु थापाको मृत्यु भएको छ । भाउजू नाता पर्ने मनीषा खड्कासँगै खोला तरेकी अनुलाई बाढीले बगाएर एक किलोमिटर टाढा पुर्‍याएको थियो । प्रहरी र स्थानीयले उनको शव फेला पारेका थिए ।


केही दिनयताको वर्षाका कारण खसेको पहिरोले जिल्लाका अधिकांश सडक अवरुद्ध छन् । फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाको संगमस्थलमा रहेको पर्यटकीय क्षेत्र नुवाकोट पुग्ने सडक, राङखोला–बिरुवा, हेलु–अर्जुनचौपारी, पर्यटकीय गाउँ सिरुबारी जाने सेतीदोभान–निबुवाबोट–सिरुबारी सडक थुनिएका हुन् । सडकको अवरोध हटाउने काम भइरहेको फेदीखोलाका अध्यक्ष घनश्याम सुवेदीले बताए । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले पहिरोले कतिपय सडक बगेको जानकारी दिए ।


यसरी नै सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डका विभिन्न स्थानमा गएको पहिरोले यात्रु मर्कामा छन् । ग्रामीण सडक खन्ने क्रममा जथाभावी डोजर लगाइएकाले समस्या आएको निमित्त प्रजिअ कोशहरि निरौलाले बताए । ‘सिद्धार्थ राजमार्ग निकै जोखिमपूर्ण बन्यो,’ उनले भने ।


‘पूर्वतयारीले जोखिम न्यून’
पोखरा– विपद्ले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि तत्काल तयारी थाल्न विज्ञहरूले सुझाएका छन् । अहिलेसम्म आपतकालीन अवस्थामा मात्रै ‘रेस्पोन्स’ हुने गरेको भन्दै उनीहरूले विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा जोड दिए । स्थानीय तह अझ बढी जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ छ ।


विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा प्रदेश ४ स्तरीय छलफलका सहभागीले मंगलबार विपदका बेलामात्र ध्यान दिने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् । तयारी अभाव र जोखिमपूर्व देखापर्ने संकेतलाई समेत बेवास्ता गर्दा जनधन क्षति बढी हुने गरेको उनीहरूको बुझाइ छ ।


सहभागीका अनुसार चार नम्बर प्रदेश पहिरो, हिमताल विस्फोट र हिमपहिरोको जोखिमयुक्त क्षेत्र हो । सडक दुर्घटनालगायत मानवसिर्जित विपद् र बिनाइन्जिनियर डोजरले बाटो खन्दा जोखिम बढिरहेको भन्दै उनीहरूले चिन्ता जनाए । सबै गाउँ र नगरपालिकामा विपद् व्यवस्थापन समिति, कोष र स्वयंसेवक परिचालन गर्नर्ुपर्नेमा सहभागीले जोड दिए । ‘जोखिमको पहिचान गरी नक्सा बनाउनुपर्छ,’ कास्की रेडक्रसका खेमराज सापकोटाले भने, ‘समुदाय नै पहिलो उद्धारकर्ता भएकाले स्थानीय सरकारले स्वयंसेवा दस्ता तयार पार्दै विशेष चासो दिनुपर्छ ।’


माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जोखिमपछि जथाभावी हुने राहत संकलनलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने बताए । आयोजक गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा सुनामी र ज्वालामुखी विस्फोटबाहेक सबै प्रकारका विपद् हुने गरेको बताए । विपद् व्यवस्थापन वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले सरकारका निकाय र सरोकारवालाबीच समन्वयको खाँचो औंल्याए ।


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्धार र राहतका लागि सरकारी संयन्त्र चुस्त राख्नुपर्नेमा अहिलेसम्म त्यस्तो नभएको बताए । जोखिम स्थानमा बस्ती नबसाउने, मापदण्ड–आचारसंहिता बनाउने र सचेतना अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिए । ‘विपद् व्यवस्थापनमा जनशक्ति, बजेट, अन्य उद्धार सामग्रीलगायत स्रोतसाधन अभाव छ,’ उनले भने, ‘अब केन्द्रको मात्रै मुख ताक्न हुँदैन । स्थानीय तहले सकेको बजेट छुट्याएर जोखिम न्यूनीकरण र तत्कालको राहतमा लाग्नुपर्छ ।’ आपत्का बेला छोटो प्रक्रियाबाट काम गर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।


आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेश सरकार संरचना बनाएर विपद् व्यवस्थापनको काममा अघि बढेको बताए । सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्धार र राहत प्रक्रिया झन्झटिलो भएकाले सहज बनाउनुपर्ने जनाइन् । प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले विपद् आउनुअघि केही संकेत हुने भएकाले सोहीअनुसार सतर्कता अपनाउनुपर्ने बताए ।


प्रकाशित : असार १३, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?