कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहिरोमुनि बास

अनिश तिवारी

सिन्धुपाल्चोक — बर्खा लागेसँगै बाह्रबीसे नगरपालिकास्थित माथिल्लो सिगार्चेका चलबहादुर तामाङ चिन्तामा डुबेका छन् । परिवार राम्ररी निदाउन छाडिसक्यो । बस्तीमाथि चिरा परेको कसेरी भीर झरिहाल्ला कि भन्ने पिरलो छ उनीहरूलाई ।

पहिरोमुनि बास

‘पहिरोमुनि दैवको मात्रै भर हुँदो रै’छ, आफ्नो जग्गा यही मात्रै हो, छोडेर कहाँ जाने ?’ तामाङले भीरतिर हेर्दै भने, ‘बिस्तारै पहिरो बढ्न थालेको छ, बर्खामा भाग्नुपर्ने हो कि ?’ भीर काटेर कच्ची सडक लगिएपछि गाउँ जोखिममा परेको हो । भीर फुटेर पहिरो झर्न थालेको छ । ‘०७४ साउनदेखि झर्न थालेको पहिरोले अहिलेसम्म सातो लिइरहेको छ, कुनै बेला ढुक्कले बस्न सकिएको छैन,’ तामाङले भने । २०७२ साउन २९ राति एकछेउको भाग खसेपछि बिस्तारै पहिरो फैलन थालेको थियो ।


भीरमुनिको सबै जग्गा पहिरोले छोपेपछि स्थानीयको दैनिकी बिथोलिएको छ । रातदिन डरैडरमा बित्ने गरेको वडा सदस्य रत्नकुमारी तामाङले बताइन् । ‘केही गर्दा पनि पहिरो रोक्न सकिएन, भागेर जान सुरक्षित ठाउँ पनि छैन,’ उनले भनिन् । अघिल्लो बर्खामा पहरो खस्न थालेपछि स्थानीयको भागाभाग मच्चिएको थियो । जोखिम बढेपछि सबै जना तल्लो भूभागमा सरेको तामाङले जानकारी दिइन् । महिला सिर्जनशील परिवारले अहिले पहिरो रोकथामका लागि १० लाख रुपैयाँ लगानीमा जालीसहितको गारो लगाएको छ । ‘यसले पहरो झर्न केही रोकेको छ तर ढुक्क हुने अवस्था छैन,’ उनले भनिन् ।


माथिल्लो सिगार्चेमै ३० परिवार पहिरोमुनि घर बनाइरहेका छन् । ‘पहिरोको छेउमै घर बनाए, मैले धेरैपटक त्यहाँ हुन्न भनेँ तर अन्यत्र जग्गा नभएको भन्दै बनाइछाडे,’ एक स्थानीयले भने । पहिरोका कारण खेतीयोग्य जमिन फाट्ने, उब्जनी घट्नेलगायत असर देखिएको छ । तल्लो सिगार्चेका झन्डै दुई सय परिवार पनि यस्तै समस्या भोगिरहेका छन् । भूर्गभविद्द्वारा निरीक्षण गराएर अयोग्य ठहरिए सरकारले बस्ती स्थानान्तरणको पहल गरिदिनुपर्ने उनीहरूको माग छ ।


स्थानीयको आग्रहपछि बजेट छुट्टयाएरै पहिरो रोकथामका लागि पहल भइरहेको बाह्रबीसे नगरपालिकाका मेयर निफुन्जो शेर्पाले बताए । ‘पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयमा सूचना दिइसकिएको छ,’ उनले भने, ‘थप मद्दत र पहलका लागि जाइकासँग कार्ययोजना बनाइरहेका छौं ।’ शेर्पाले नगरअन्तर्गतका ढुंगे, खानी, निगालेजस्ता अत्यधिक जोखिमयुक्त स्थान पहिचान गरिएको प्रस्ट्याए ।


‘माथिल्लो निकायमा कुरा उठाइसकेको छु, अब समस्या चाँडै समाधान हुनेछ,’ उनले भने ।


प्रकाशित : असार १३, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?