कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कांग्रेस 'प्रोगेसिभ एलायन्स' नजिक भएपछि पार्टीभित्र तीव्र असन्तुष्टि

संस्थापन इतर पक्षले कार्यक्रम बहिष्कार गर्ने  

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई ६ दशकदेखिको ‘सोसलिष्ट इन्टरनेशनल’ प्रतिको आबद्धता छाडेर ५ वर्ष अघि स्थापित ‘प्रोगेसिभ एलायन्स’ मा सरिक गराउन लागेको प्रति संस्थापन इतर पक्ष आक्रोशित भएको छ ।

कांग्रेस 'प्रोगेसिभ एलायन्स' नजिक भएपछि पार्टीभित्र तीव्र असन्तुष्टि

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायतका नेताहरु देउवाको एकल कार्यशैलीप्रति आक्रोशित भएका हुन् । यस विषयमा संस्थापन इतर पक्षको मंगलबार बेलुका अनौपचारिक बैठक बसेको थियो ।

प्रोगेसिफ एलालान्समा आबद्ध हुनेबारे पार्टीभित्र छलफल नै नभएको वरिष्ठ नेता पौडेलले बताए । ‘देउवाको यो कार्यशैलीले पार्टीलाई कहाँ पुर्‍याउन खोजिएको हो ? प्रश्न गर्दै पौडेलले कान्तिपुरसँग भने, ‘सोसलिष्ट इन्टरनेशनलमा रहेर बीपी कोइरालाले अन्तर्राष्ट्रिय रुपमा समाजवादी नेताको रुपमा आफू र पार्टीलाई चिनाउनु भएको हो, ६ दशकपछि अहिले सोही संस्था छाड्ने जस्तो गम्भीर कुरा के हुन सक्छ ?’

उनले राजधानीको हिमालयन होटलमा शुक्रबार र शनिबार हुन लागेको एलायन्सको कार्यक्रममा संस्थापन इतरका कुनै पनि नेता सहभागी नहुने बताए ।


संस्थापन इतर पक्षले शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले एलायन्सको कार्यक्रम राजधानीमा गर्न लागेकोप्रति आश्चर्य प्रकट गर्दै भर्त्सना गरेको हो । ‘२०१७ सालदेखि नेपाली कांग्रेस आबद्ध भएको सोशलिस्ट इन्टरनेशनलको समानान्तर विकल्पको रुपमा स्थापित प्रोग्रेसिभ एलायन्समा संलग्न हुनु र त्यसको संयोजन गर्नु दु:खद् विषय हो’ संस्थापन इतर पक्षबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबारे न त पार्टीमा कहिल्यै विचार विमर्श भयो न आधिकारिक रुपमा जानकारी नै दिइयो ।’


संस्थापन पक्षकै कतिपय नेताहरुले यस्तो निर्णयप्रति असन्तुष्ट प्रकट गरेका छन् । संस्थापन इतर पक्ष र आफ्नै समूहका नेताहरुको समेत चर्को असन्तुष्टि भएपछि सभापति देउवा समेत शुक्रबार एलायन्सको कार्यक्रममा सहभागी नहुने भएका छन् ।


उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेतालाई वक्ताको रुपमा आमन्त्रण गरिएपनि सहभागी नहुने भएका छन् । देउवाले पार्टीका तर्फबाट सहमहामन्त्री प्रकाशशरण महतलाई कार्यक्रममा पठाउने तयारी गरेका छन् ।


संस्थापन इतर पक्षले सभापति देउवा र उनका केही सहयोगीको निजी स्वार्थका कारण प्रोगेसिभ एलायन्समा पार्टीलाई सरिक गराउने कार्य भएको बताएका छन् । वि.सं. २०१४ मा नेपाली कांग्रेसको आयोजनामा एशियाली समाजवादी सम्मेलन काठमाडौंमा सुसम्पन्न भएको थियो ।

'वि.स. २०१० देखि नै बीपी कोइरालाको नेतृत्वमा बर्माको याङ्गुन, मुम्बै, टोकियो आदि एशियाली सहरमा र सोशलिस्ट इन्टरनेशनलका हरेक विश्व सम्मेलनमा प्रतिबद्धताका साथ सहभागिता राख्दै आएको छ' संस्थापन इतर पक्षको विज्ञप्तिमा भनिएको छ, 'तर आज अनायास सोशलिस्ट इन्टरनेशनलको समानान्तर संस्थासँग गाँसिनुको औचित्य के हो ? कांग्रेसको केन्द्रीय कार्यसमितिमा बिना कुनै निर्णय हठात यस्तो गम्भीर निर्णय लिनु औचित्यहीन मात्र होइन, घोर अलोकतान्त्रिक र स्वेच्छाचारी प्रवृत्ति पनि हो ।'


संस्थापन इतर पक्षले सभापति देउवाको स्वेच्छाचारी तरिकाले लिइएको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रोग्रेसिभ एलाइन्सका नामबाट हुन लागेको सभामा सहभागी नहुने घोषणा समेत गरेको छ । ‘सोशलिस्ट इन्टरनेशनलमा नेपाली कांग्रेसको सदस्यता र सक्रियता यथावत् राख्न पनि हामी आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : असार १३, २०७५ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?