कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नायब सुब्बालाई कालोमोसो 

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई कालोमोसो दलिएको छ ।

नायब सुब्बालाई कालोमोसो 

गाउँसभा गर्नका लागि गाउँपालिकातर्फ जाँदै गर्दा तल्कोट गाउँपालिकाको कुवा भन्ने ठाउँमा उनी माथि कालोमोसो दल्ने काम भएको प्रहरीले जनाएको छ ।


जोशी यसअघि साइपाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । नेकपा (विप्लव) निकट व्यक्तीहरुले जोशीलाई आफूहरुले कालोमोसो दलेको भनेर सामाजिक सञ्जाल मार्फत जिम्मेवारी लिएका छन् ।


उनीहरुले जोशीले अनुदानको चामल महंगोमा विक्री गरेको आरोप लगाएका छन् । साइपाल गाउँपालिकाको लागि नेपाल सरकारले अनुदान कोटामा दिएको २ हजार क्विन्टल चामल मध्ये १ हजार ५ सय क्विन्टल चामल स्थानीयलाई नदिएर यार्सा संकलकहरुलाई बढी मूल्यमा विक्री गरेको आरोप विप्लवका कार्यकर्ताहरुले लगाएका छन् ।


यस्तै जोशीले कार्यालय व्यवस्थापनको लागि भएको खर्चमा पनि अनियमितता गरेको र सुधारका लागि सचेत गराउँदा पनि नमानेकोले कालोमोसो दलेर कारबाही गरिएको नेकपा (विप्लव) ले गठन गरेको जिल्ला जनपरिषद बझाङका प्रमुख संग्राम सिंहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।


यता नायब सुब्बा राधाकृण्ण जोशीले विप्लवका कार्यकर्ताहरुले आफूलाई चन्दाको रुपमा ५ लाख दिनुपर्छ भन्ने दबाब दिएको र चन्दा नदिएपछि कालोमोसो लगाएर दुब्र्यवहार गरेको बताएका छन् । ‘हाम्रो पार्टीलाई पाँचलाख सहयोग गर्नु पर्छ भनेर अस्तीदेखि नै भनिरहेका थिए’ उनले भने ‘मैले त्यत्रो रकम कहाँबाट दिने ? म सक्दिन भनेर भने । त्यही रिसले मलाई दुब्र्यवहार गरेका हुन् ।’


जोशीलाई कालोमोसो विप्लवका कार्यकर्ताहरुले लगाएको र उनीहरुको पहिचान समेत भइसकेको बताउदै सरकारी कर्मचारी माथि दुव्र्यवहार गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ‘कालोमोसो लगाउने काममा को–को संलग्न छन भन्ने हामीले पत्ता लगाइ सकेका छौँ’ डिएसपी ऋषिराम कँडेलले भने ‘सबैको खोजी कार्य भइरहेको छ । चाडै कारबाहीको दायरामा ल्याइन्छ ।’


केही दिन पहिले विप्लवकै कार्यकर्ताहरुले साइपाल गाउँपालिकाको कार्यालयमा रहेको साइनबोर्ड समेत तोडफोड गरेको प्रहरीले बताएको छ ।

प्रकाशित : असार १३, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?