३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘लोकतन्त्र जीवन्त बनाउन जनविश्वास जित्नुपर्छ’

काठमाडौँ — जर्मनीका संघीय कानुनमन्त्रीसमेत रहिसकेकी प्रा.डा. हार्ता डुब्लर जेम्लिनले लोकतन्त्रलाई जीवन्त बनाउन राजनीतिक नेतृत्वले जनताको विश्वास र आस्था जित्न सक्नुपर्ने बताएकी छन् ।

‘लोकतन्त्र जीवन्त बनाउन जनविश्वास जित्नुपर्छ’

राजनीति ठीक ट्रयाकमा अघि बढे जनताले कानुनी राज्यको अनुभूति गर्न सक्ने उनले बताइन् ।


नेपालजस्तो नयाँ ढाँचामा अघि बढ्न लागेको मुलुक लोकतन्त्र र कानुनी शासनमा बढी नै सचेत हुनुपर्ने उनको भनाइ छ । उनले लामो द्वन्द्वपछि शान्ति प्रक्रियालाई पूर्णता दिँदै दिगो शान्तिमा अघि बढेको नेपाल तीनै तहको निर्वाचन सम्पन्न गरेर विकास प्रक्रियामा सक्रिय रहेको देख्न पाउँदा खुसी लागेको बताइन् ।


संविधान राज्य सञ्चालनको लिखित दस्तावेज रहेकाले यसमा रहेका विवादास्पद विषय लोकतान्त्रिक विधिबाटै सम्बोधन गर्न उनले सुझाव दिइन् । ‘जनताको माझबाट नै यसको समस्या सल्टाउन सकिन्छ । कैयन् मुलुकमा संविधानका धाराहरू सुधार गरिएका छन्,’ उनले जर्मनीको उदाहरण दिँदै भनिन्, ‘सबै एकैपटक अब्बल बन्ने होइन, सिक्दै जाने हो ।’


जर्मनीमा २५ वर्ष सांसद भएकी ७४ वर्षीया जेम्लिनले संघीय ढाँचामा नेपाल अघि बढेकाले अब्बल व्यक्तिलाई अवसर दिनुपर्ने धारणा राखिन् । जर्मनीको थिंक ट्यांक फेड्रिक एवर्ट स्टिफटुंगले पूर्वमन्त्रीसँग बुधबार गराएको अन्तरक्रियामा उनले यस्तो धारणा व्यक्त गरेकी हुन् ।


एफिएसका आवासीय प्रतिनिधि एनेट सेच्लिटले पनि विश्व लोकतान्त्रिक समाजवादमा अघि बढेकाले यसबाट सबैमा उत्तिकै सबलता पुग्ने बताइन् । पत्रकार युवराज घिमिरेले पछिल्लो राजनीतिक अवस्था र लोकतन्त्रको अभ्यासबारे प्रस्तुति दिएका थिए ।

विभिन्न विश्वविद्यालयका प्राध्यापक, पूर्वराजदूत, अधिवक्ता, सञ्चारकर्मी तथा पेसाकर्मीले लोकतन्त्र र कानुनी शासनका बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित : असार १३, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?