कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वस्त मेसी

रोयटर्स

सेन्ट पिटर्सबर्ग — निकै राहत महसुस गरिरहेका लियोनल मेसीले मंगलबार नाइजेरियासँग त्यो स्थिति भोग्नुपर्ने आस नगरेको बताएका छन् । तर आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा सधैं विश्वस्त रहेका थिए ।  

विश्वस्त मेसी

समूह ‘डी’ बाट क्रोएसियाभन्दा मुनि उपविजेता बनेर नकआउट चरण पुग्नेक्रममा दक्षिण अमेरिकी टोलीले नाइजेरियामाथि २–१ को सनसनीपूर्ण जित हात पार्दा बार्सिलोनाका फरवार्ड मेसीले उत्कृष्ट गोल गर्दै यसपालिको विश्वकपमा खाता खोलेका थिए ।


‘हामीले थाहा थियो खेल हामीले नै जित्छौं भनेर । भगवान्ले हामीलाई नै सहयोग गर्छन् भन्नेमा हामी विश्वस्त थियौं, भयो पनि त्यस्तै । तर बराबरी पछि हुने कठिन परिस्थितिबारे अपेक्षा थिएन,’ मेसीले अर्जेन्टिनी सञ्चारमाध्यमसँग भने । भिक्टोर मोसेसको पेनाल्टी गोलमा अफ्रिकन टोलीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याएपछि आफ्नो टोली ‘नर्भस’ देखिएको मेसीले सुनाए ।


‘त्यो समयमा हामीले निकै तीव्रसाथ खेलमा आधिपत्य जमाएका थियौं । त्यही कारण हामीले आक्रामण गर्दै दबाब राख्दा गोल गर्न सफल भयौं,’ मेसीले पत्रकार सम्मेलनमा भने । खेलको निर्णायक क्षण त्यो बेला आयो, जब रक्षक मार्कोस रोहोले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।


‘हामीले अवसरहरू सिर्जना गर्नका लागि धेरै परिवर्तन गर्‍यौं । आजको दिनमा महत्त्वपूर्ण भनेको खेलाडीले बहादुरी देखाउनु हो, जसले नतिजा सम्भव बनायो,’ अर्जेन्टिनाका प्रशिक्षक जर्जे साम्पाओलीले भने । अर्जेन्टिनाले अन्तिम १६ मा एकरुपको प्रदर्शन देखाउनुपर्नेछ, किनभने टोलीले फ्रान्सको सामना गर्नेछ । ‘फ्रान्ससँगको खेल चुनौतीपूर्ण हुनेछ, जितका लागि हामीले अझ जुझारु भएर खेल्नुपर्नेछ,’ साम्पाओलीले अगाडि भने ।


मेसी आफ्ना प्रशिक्षकको भनाइमा सहमत थिए । उनले आफ्नो टोलीले फ्रान्सको सबै खेल हेरेको र उनीहरूको युरोपियन स्कीलबाट प्रभावित रहेको जनाएका छन् । ‘फ्रान्सेली टोलीका केही मेरा मिल्ने साथी हुन् । केही अगाडि र पछाडि खेल्नेलाई म राम्रोसँग चिन्छु । उनीहरू को हुन् भन्ने हामीलाई थाहा छ र हामीले उनीहरूलाई के गर्नुपर्छ भन्ने थाहा छ,’ मेसीले भने ।

प्रकाशित : असार १३, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?