१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई अध्यादेश निष्क्रिय बनाउने खेल

काठमाडौँ — सरकारले दुई अध्यादेशलाई निष्क्रिय बनाउने चलखेल सुरु गरेको छ । मेडिकल कलेजको सम्बन्धन सहजै पाउने गरी प्रतिस्थापन विधेयक ल्याउन नेकपाकै नेता–कार्यकर्ताले लबिइङ गरेपछि राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश तुहाउन लागिएको हो ।

दुई अध्यादेश निष्क्रिय बनाउने खेल

यससँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) को प्रतिस्थापन विधेयक पनि अघि बढाइएको छैन ।

संघीय संसद्को बैठक प्रारम्भ भएको ६० दिनभित्र पारित नभए अध्यादेश स्वत: निष्क्रिय हुन्छ । संसदको दोस्रो अधिवेशन बसेको ६० दिन असार २२ मा पुग्दै छ । सरकारले वैशाख १३ मा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश जारी गरेको थियो । तीमध्ये दुई विधेयकलाई निष्क्रिय बनाउन सरकार लागिपरेको सरोकारवालाको आरोप छ ।

अघिल्लो सरकारले जारी गरेको अध्यादेशलाई यो सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १३ मा पुन: जारी गरेकी थिइन् । अब ९ दिनभित्र प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराइसक्नुपर्ने हुन्छ । जतिसुकै छिटो प्रक्रियाबाट संसद्मा विधेयक दर्ता भए पनि नौ दिनमा राष्ट्रपतिबाट प्रमाणीकरण नहुने भएकाले निष्क्रिय हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानअनुसार राष्ट्रपतिबाट जारी अध्यादेश स्वत: निष्क्रिय हुने तीन अवस्था हुन्छन् । संसदका दुवै सदनले स्वीकार नगरे, राष्ट्रपतिबाटै खारेज गरिए वा दुवै सदनको बैठक बसेको ६० दिनभित्र प्रतिस्थापित नगरे अध्यादेश निष्क्रिय भएको मानिन्छ ।

१३ आैं अनशनक्रममा डा. गोविन्द केसीसित भएको सहमतिअनुसार सरकारले चिकित्सा शिक्षा अध्यादेश ल्याएको थियो । अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ भने एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनसक्ने व्यवस्था गरिएको छ । सीटीईभीटीबाट समेत स्वास्थ्यसम्बन्धी विषयको सम्बन्धन दिन नमिल्ने भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि अध्यादेशको विरोधमा छन् । उनी नर्सिङ कलेज सम्बन्धन दिने चक्करमा छन् ।

‘विधेयक तोडमोड गरिए सत्याग्रह’


काठमाडौं (कास)– डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको मर्म नै तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याइए असार १५ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । पहिले जारी भएको अध्यादेश जस्ताको तस्तै जारी गर्न उनले आग्रह गरेका छन् । प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सूचना प्राप्त भएको उनले बताए ।

उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा समेत सबै पक्षहरूको ध्यानाकर्षण गर्नका लागि १५ औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुनेसमेत जनाएका छन् ।

प्रकाशित : असार १४, २०७५ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?