नतिजा त्रुटिमा मन्त्रीसँग जवाफ माग

अहिले पनि कक्षा ११ मा गणित अनिवार्य छैन । शिक्षा बोझिलो होइन, सरल हुनुपर्छ । – गिरिराजमणि पोखरेल, शिक्षामन्त्री
सुदीप कैनी

काठमाडौँ — एसईई नतिजा प्रकाशनमा भएको त्रुटिबारे प्रतिनिधिसभा बैठकमा सांसदले शिक्षामन्त्रीसँग जवाफ मागेका छन् । विनियोजन विधेयकमाथि छलफलमा बुधबार शिक्षामन्त्रीले जवाफ दिने क्रममा सांसद तेजुलाल चौधरीले त्रुटिबारे संसद्लाई जानकारी दिन माग गरेका हुन् ।

‘नतिजा प्रकाशनमा चरम लापरबाही भएको छ, विद्यार्थीको फरक–फरक ग्रेडिङ आएको छ,’ उनले भने, ‘यसबारे मन्त्रीले जानकारी दिनुपर्छ ।’ सामुदायिक विद्यालयको नतिजासमेत संसद्लाई जानकारी गराउनुपर्ने उनले बताए । सांसद सोमनाथ पाण्डेले कक्षा ११ र १२ मा विज्ञान र गणित विषय हटाइएको बारे पनि जवाफ मागेका थिए । ‘पाठ्यक्रम निर्माण कसरी गरियो ? गणित पढ्न नपर्ने कुरा कसरी आयो ?’ उनले भने ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसईई नतिजामा भएको त्रुटिबारे छानबिन समितिले काम गरिरहेको जानकारी दिए । ‘छानबिन समितिको प्रतिवेदन आएपछि संसद्मा जानकारी गराउँछौं,’ उनले भने, ‘५ दिनभित्रै छानबिन प्रक्रिया सकिन्छ ।’ विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमका विषयमा प्रारूप मात्रै तयार भएको र पाठ्यक्रम बन्न बाँकी रहेको प्रस्टीकरण उनले दिए । ‘विषयविज्ञको संलग्नतामा पाठ्यक्रम बन्ने क्रममै छ, परिमार्जन गर्न सकिन्छ,’ उनले भने । कक्षा ११ र १२ को पाठ्यक्रममा आवश्यकताअनुसार गणित विषय समेटिने उनको भनाइ थियो । ‘जीवनोपयोगी शिक्षाजस्तो विषयमा चर्चा हुँदैन,’ उनले भने, ‘गणितको विषयमा पनि नकारात्मक टिप्पणी भयो ।’ अनिवार्य गणित विषय आवश्यक नहुने उनको तर्क थियो । ‘हरेक वर्ष ३ लाख ५० हजार विद्यार्थीले उच्चशिक्षा अध्ययन गर्छन् ।

Yamaha

तीमध्ये ५० हजारले मात्र विज्ञान पढछन्,’ शिक्षामन्त्रीले भने, ‘अहिले पनि कक्षा ११ मा गणित अनिवार्य छैन । विज्ञान पढ्ने सीमित विद्यार्थीका लागि अनिवार्य गणित विषय राख्दा धेरैलाई समस्या पर्ने गरेको छ । शिक्षा बोझिलो होइन, सरल हुनुपर्छ ।’

नेविसंघको ज्ञापनपत्र
नेविसंघले एसईई नतिजा सार्वजनिक गर्दा त्रुटि गर्ने राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई निलम्बन गर्न माग गर्दै शिक्षामन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

‘नतिजाजस्तो संवेदनशील विषयमा लापरबाही गरेर विद्यार्थी, अभिभावक र शिक्षकलाई मनोवैज्ञानिक तनाव दिइएको छ,’ नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले भने । शिक्षा मन्त्रालयले हजारौं विद्यार्थीको भविष्यमा खेलवाड गरेको संघका उपसभापति रामप्रसाद अधिकारीले बताए ।

प्रकाशित : असार १४, २०७५ ०७:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकल र ट्याङ्कर जुध्दा दुई जनाको मृत्यु 

घनश्याम खड्का

म्याग्दी — पोखरा लेखनाथ महानगरपालिकाको मालेपाटनमा मोटरसाइकल र ट्याङ्कर ठोक्किदा म्याग्दीका दुई जनाको मृत्यु भएको छ ।

बुधवार साँझ भएको दुर्घटनामा अन्नपूर्ण गाउँपालिका–३ दानाकी २५ वर्षीया बृन्दा थापा र मंगला गाउँपालिका–३ बरंजाका धनबहादुर छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

शिक्षा सेवा आयोगको तयारीका लागि बुधबार पोखरा पुगेका थापा र छन्त्याल स्टेशनरी सामग्री खरिद गर्न बजार जाने क्रममा ग१ख २८९६ नम्बरको पानी बोक्ने ट्याङ्कर र ध१प ५०२१ नम्बरको मोटरसाइकल जुधेका थिए।

दुर्घटनामा घाइते थापाको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लैजादै गर्दा बाटोमा र छन्त्यालको उपचारक्रममा राति अस्पतालमा मृत्यु भएको हो। अन्नपूर्ण–७ स्थित घराम्दी प्राथमिक विद्यालयकी शिक्षिका थापा नृत्याङ्गना पनि हुन।

प्रकाशित : असार १४, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT